लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको आठौं अधिवेशनको छैटौँ बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रविन्दुमा राखेर नयाँ योजनाहरू अघि सारेको छ।
मन्त्रालयको संख्या १२ बाट घटाएर ८ बनाइने
नीति तथा कार्यक्रमको सबैभन्दा ठूलो प्रशासनिक सुधारअन्तर्गत लुम्बिनी प्रदेश सरकारले हाल कायम रहेका १२ वटा मन्त्रालयहरूलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ। आगामी २०८३ साउन १ गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित जम्मा ८ वटा मन्त्रालय मात्र कायम गरिने नीति लिइएको छ। सरकारको काम कारबाहीलाई चुस्त, मितव्ययी र प्रभावकारी बनाउन यो कदम चालिएको हो।
एक पालिका एक अर्गानिक बाली
यसै गरी कृषि उत्पादनमा आत्मनिर्भरता बढाउन प्रदेशका विभिन्न जिल्लामा विशिष्टीकृत स्रोत केन्द्रहरू स्थापना गरिने छ। नीति तथा कार्यत्रलममा कपिलवस्तुमा प्रादेशिक वागवानी स्रोत केन्द्र, अर्घाखाँचीमा बाख्रा स्रोत केन्द्र, गुल्मीमा पहाडी फलफूल स्रोत केन्द्र, प्यूठानमा तरकारी बीउ स्रोत केन्द्र र रुकुम पूर्वमा आलु बीउ स्रोत केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाइने उल्लेख छ।
सीमान्तकृत, विपन्न, मुक्तकमैया, मुक्तकम्लहरी, भूमिहीन, दलित लगायतका समुदायको जीवनस्तर सुधार गर्न रोजगारी तथा आय आर्जन अभिवृद्धि हुने गरी बगर खेती, सामूहिक खेती तथा पशुपन्छीपालन लगायतका लक्षित समुदाय विशेष कृषि कार्यक्रमलाई निरन्तरता दिइएको छ।
‘आजको सहुलियत, भोलिको समृद्धि’ भन्ने मूल मर्मका साथ सुलभ कर्जा तथा ब्याजमा अनुदान कार्यक्रमलाई थप सरलीकृत गरी जिल्लास्थित कार्यालयबाटै कृषि बाली वस्तु क्षेत्रमा ब्याज अनुदान उपलब्ध गराइने, प्रदेशस्थित हुलाकी मार्ग आसपासका क्षेत्रमा मासु र दुग्धजन्य उत्पादन वृद्धिका लागि भैँसी प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइएको छ।
कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक, गोरुसिङ्गे–सन्धिखर्क सडक, दाङ–प्युठान सडक, चकचके–रोल्पा सडक, शहीद मार्ग र पूर्व–पश्चिम राजमार्गहरूको आसपासका लुम्बिनी प्रदेशभित्रका सम्भाव्य क्षेत्रमा अलैँची लगायत उच्च मूल्यका बाली वस्तुको पहिचान गरी उत्पादन तथा बजारीकरणका कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख छ।
डिजिटल लुम्बिनी र उद्यमशील लुम्बिनी अभियान
प्रदेश सरकारले उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियानलाई रूपान्तरणकारी कार्यक्रमको रूपमा सञ्चालन गर्ने भएको छ।
वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई कृषि र अन्य उद्यममा आकर्षित गर्न प्रविधि र स्टार्टअप सहयोग सहितका कार्यक्रम ल्याइनेछ। महिलाहरूलाई आर्थिकरूपमा सक्षम बनाउन लुम्बिनीका महिलाः उद्यमशीलतामा पहिला कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
एकीकृत पर्यटन डिजिटल प्रचार
नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०८५ बाट लाभ लिन एकीकृत पर्यटन डिजिटल प्लेटफर्म मार्फत प्रचारप्रसार गरिनेछ। प्रदेशको पर्यटन विकासका लागि लुम्बिनी, स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोडेर सिल्भर ट्रिंगलका रूपमा विकास गरिने नवीन योजना अघि सारिएको छ। साथै साहसिक पर्यटनका लागि रोल्पा र रुकुम पूर्वको पुथा हिमालमा बेसक्याम्प र पदमार्ग निर्माण गरिनेछ। कोइलावासदेखि गोरक्षरत्ननाथ मन्दिर हुँदै स्वर्गद्वारीसम्म धार्मिक तथा सांस्कृतिक पथको रूपमा विकास गरिने, लुम्बिनीदेखि मुक्तिनाथसम्म धार्मिक परिपथको रूपमा प्रवर्द्धन गरिने उल्लेख छ।
पूर्वाधार र सामाजिक सुरक्षा
पूर्वाधारतर्फ अधुरा आयोजनाहरूलाई छिटो सम्पन्न गर्न ‘अधुराः गर पूरा’ को नीति लिइने छ। प्रदेश सरकारले सुरु गरेका सघन खानेपानी विकास कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै ‘एक घरः एक धारा’ को संकल्प कार्यान्वयन गरिने, खानेपानीको क्षेत्रमा बजेट विनियोजन गर्दा ‘अधुराः गर पूरा’ को नीति अवलम्बन गरी ८० प्रतिशत कार्य सम्पन्न भइसकेका आयोजनालाई उच्च प्राथमिकतामा राखी पूरा गर्ने कार्य अघि बढाइने नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेको छ।
लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूका प्रमुख आर्थिक केन्द्रहरूलाई समेटी गण्डकी र कर्णाली प्रदेशलाई समेत जोड्ने प्रदेश गौरवको आयोजनाको रूपमा रहेको रामपुर-कपुरकोट सडकलाई उच्च प्राथमिकता दिई निर्माण कार्यलाई निरन्तरता दिइने उल्लेख छ। झोलुंगे पुल निर्माण कार्यलाई प्राथमिकतामा राखने, एक सय बीस मिटरभन्दा छोटा झोलुंगे पुल निर्माण गर्न स्थानीय तहलाई प्राविधिक सहायता उपलब्ध गराइने छ।
बर्खे पानी संकलनका लागि स्थानीय तहसँगको समन्वयमा कृत्रिम पोखरी, पुराना ताल तथा पोखरीको निर्माण र संरक्षण गर्न ‘एक वडा एक पोखरी’ कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गरिने, पहाडका जिल्लामा छरिएर रहेका वस्तीलाई एकीकृत गर्न र बसाइँसराइलाई निरुत्साहित गर्न घनावस्ती र सहरोन्मुख क्षेत्रहरूमा वस्ती विकास तथा सहरी पूर्वाधार निर्माण कार्य विस्तार गर्दै लगिने, एक जिल्ला, एक नमुना बस्ती कार्यक्रम अन्तर्गत प्रदेशका प्रत्येक जिल्लामा कम्तिमा एउटा नमुना वस्ती विकासका लागि स्थानीय तहसँगको सहकार्य तथा साझेदारीमा सम्भाव्यता अध्ययन गरी क्रमशः कार्यान्वयन गरिने उल्लेख छ।
वन्यजन्तुबाट हुने सबै प्रकारका क्षतिको लागि राहत वितरण र बिमा कार्यक्रमलाई निरन्तरता दिइने, घाइते र बिरामी वन्यजन्तुको संरक्षण गर्न उद्धार केन्द्र सञ्चालनमा ल्याई उद्धार एम्बुलेन्स सेवा सुरु गरिने उल्लेख छ।
दलित, जनजाति, अपांगता भएका, विपन्न तथा सीमान्तकृत समुदायको शिक्षामा पहुँच सुनिश्चित गर्दै सामुदायिक विद्यालय सुदृढीकरणका लागि ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान विस्तार गरिने, प्राविधिक तथा उच्च शिक्षाको विकाससँगै लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट केन्द्रका रूपमा विकास गरिने नीति लिइने, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिको संरक्षण र सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिइने छ। साथै, सीपमूलक रोजगारी प्रवद्र्धनका लागि प्रदेशभर स्किल्स म्यापिङ सुरु गरिने र सामाजिक रूपले पछाडि परेका समुदायका लागि लक्षित कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
स्वास्थ्यमा प्राथमिकता
सुरक्षित मातृत्व अभियानलाई निरन्तरता दिँदै दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स र हवाई उद्धार सेवा सञ्चालन गर्ने भएको छ। सुरक्षित प्रसूति सेवा विस्तार, ग्रामीण अल्ट्रासाउन्ड सेवा तथा जनसंख्या नीति कार्यान्वयनलाई प्राथमिकता दिइनेछ।
‘नेपाल आरोग्य वर्ष २०२७’ अन्तर्गत योग, ध्यान र मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अघि बढाइनेछ। प्रदेशका प्रमुख अस्पतालहरूको स्तरोन्नति, जलन, डायलाइसिस, क्यान्सर र मुटु रोग उपचार सेवाको विस्तार गरिने, डिजिटल स्वास्थ्य सूचना प्रणाली, मोबाइल एप र सामुदायिक स्वास्थ्य अभिलेख प्रणाली सुदृढ गरिने, आयुर्वेद र वैकल्पिक चिकित्साको प्रवर्द्धनसँगै स्वास्थ्यकर्मीको क्षमता विकास र दुर्गम क्षेत्रमा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ। स्वास्थ्य क्षेत्रमा राप्ती प्रादेशिक अस्पताललाई दुई सय शय्याको अस्पतालमा स्तरोन्नति गरिनेछ भने लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा जलन उपचार सेवा विस्तार गरिनेछ।
सेवा प्रवाहलाई सरलीकृत बनाइने
लुम्बिनी प्रदेश सरकारले सेवा प्रवाहलाई छिटो, सरलीकृत र प्रविधिमैत्री बनाउन डिजिटल टोकन, फाइल ट्र्याकिङ र एकल विन्दु सेवा प्रणाली लागू गर्ने भएको छ। सुशासन प्रवर्द्धनका लागि प्रदेश सदाचार नीति तर्जुमा, तथ्यमा आधारित नीति निर्माण र तथ्यांक प्रणाली सुदृढीकरण गरिनेछ।
कर्मचारी प्रशासनलाई पारदर्शी बनाउन सरुवा-बढुवा प्रणाली सुधार, प्रदेश किताबखाना स्थापना र डिजिटल अभिलेखीकरण गरिनेछ। आयोजना बैंकमार्फत योजना छनोट र बजेट व्यवस्थापनलाई व्यवस्थित गरिनेछ। प्रदेश लोक सेवा आयोग सुदृढीकरण र अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाइने सरकारको नीति रहेको छ।
कर्मचारी तथा शिक्षकहरूको वैयक्तिक विवरण विद्युतीय माध्यमबाट राख्न प्रदेश किताबखाना र सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका कर्मचारीहरूको अवकाश भुक्तानीका लागि प्रदेश निवृत्तिभरण कोषको स्थापना गरिने नीति कार्यक्रममा समेटिएको छ।
Shares

प्रतिक्रिया