जब चाडबाड नजिकिँदै जान थाल्छन् तब टाउकामा नाम्लो र पिठ्युमा डोकोभरि बेलाउती (अम्बा) बोकेर सहर पस्ने गर्छन् गुल्मीका विपन्न परिवारका महिला। घरको आर्थिक अवस्था कमजोर भएका जिल्लाको पश्चिमी क्षेत्रका विपन्न परिवारका महिला घरको चुलोचौको गर्ने समयमा पनि तिहारमा खर्चको जोहोका लागि डोकोमा अम्बाको भारी बोकेर बिहानै सदरमुकाम तम्घास धाउन बाध्य छन्।
उनीहरू दसैँतिहारजस्ता चाडबाडको समयमा बर्सेनि कहिले पैदलयात्रा त कहिलो सवारीसाधनमार्फत अम्बा बिक्री गर्न सदरमुकाम तम्घास आउँछन्। घरदेखि सदरमुकाम तम्घाससम्म आउन यातायातको सहज पहुँच भए पनि गाडीभाडा बचाउन पैदलै हिँडेर सदरमुकाम आउने गर्छन्। एकाबिहानै पिँठ्युमा डोकाभरि अम्बाको भारी बोकेर झिसमिसेमा आँखा मिच्दै घरबाट हिँडेका ती महिला सदरमुकामसम्म आइपुग्दा पसिनाले निथ्रुक्कै भिज्छन्।
गाउँमा यतिबेला प्रायः धेरैका खर्यान तथा बारीमा अम्बा प्रशस्त मात्रमा पाइन्छन्। गाउँमा अम्बाको खासै महत्त्व नहुने भएका कारण उनीहरू पाकेको अम्बा टिपेर बिक्रीका लागि ल्याउने गर्छन्। यसो गर्दा अम्बा पनि खेर नजाने र अलिकति भए पनि आम्दानी गर्न सकिने भएका कारण अम्बा बोकेर बिक्रीका लागि सदरमुकामसम्म आउने जाँगर बढेको इस्मा गाउँपालिका-५ बुल्मकी भीमकला कुमालले बताइन्।
धुर्कोट गाउँपालिकाका लक्ष्मी मुखिया र राधिका मुखिया पनि तिहारमा अम्बा बिक्री गरेर नुनतेल र चिनी किन्न खर्च जुटाउन सदरमुकाम तम्घाससम्म आइपुगेको बताउँछन्। सिजनअनुसारको फल भएका कारण सबैले मन पराउने र खान पनि निकै स्वादिलो हुने उनीहरूले बताए।
‘भनेको समयमा कसैले पैसा सापटी दिँदैन घरको अवस्था पनि त्यस्तै छ, अर्काको घरमा मेलापात गरेर जीवन गुजारा गर्नुपर्छ, त्यही भएर फुर्सदको खाली समयमा अम्बा बिक्री गर्न आइपुगेका हौंँ’, राधिका मुखियाले भनिन्।
राधिका मुखिया आफूले डोकोमा बोकेर ल्याएको अम्बा बिक्री गरेर दैनिक रु पाँच सयदेखि आठ सयसम्म आम्दानी हुने गरेको बताउँछिन्। एक दाना अम्बा रु दुईदेखि तीनमा बिक्री हुने गर्छ।
‘बिक्री गरेको पैसाले तिहारमा रोटी पकाउन तेल र चिनी किनेर जाने हो’, मुखियाले भनिन्।
सहरदेखि गाउँसम्म यतिबेला दसैँ सकिएसँगै तिहारको चहलपहल बढ्दै जान थालेको छ। तर जिल्लाका विपन्न परिवारका नागरिक भने तिहारखर्च जुटाउन सडकमा बसेर अम्बा बिक्रीका लागि ग्राहकको प्रतीक्षामा बसिरहेका देखिन्छन्।
Shares

प्रतिक्रिया