ad ad

लुम्बिनी


लुम्बिनी प्रदेश : न मन्त्रिपरिषद बिस्तार, न मन्त्रीलाई जिम्मेवारी

लुम्बिनी प्रदेश : न मन्त्रिपरिषद बिस्तार, न मन्त्रीलाई जिम्मेवारी

सुदीप भण्डारी
बैशाख ३१, २०८० आइतबार १६:२, देउखुरी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले १५ गते शपथ ग्रहण गरेसँगै तीन जना मन्त्रीको पनि शपथ ग्रहण गराए।

चौधरीले त्यसयताको आधा महिनामा न मन्त्रिमण्डल विस्तार गरेका छन् न त मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी नै तोकेका छन्।

मुख्यमन्त्री बन्दा विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार हुने भनिएको थियो। वैशाख १९ गते चौधरीले विश्वासको मत लिएको पनि १२ दिन भइसकेको छ।

असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने हुन्छ। बजेटको तयारी गर्नुपर्ने बेलामा आर्थिक मामिला मन्त्रालय सहित सबै मन्त्रालयहरु यतीबेला मन्त्रीविहीन छन्।

नेपाली कांग्रेस लुम्बिनीका उपसभापति तथा प्रदेश सांसद राजु खनालले यो हप्ताभित्र सरकार विस्तार हुनसक्ने बताए।

‘बजेटको बेला पनि आयो। छिट्टै टुंग्याउनुपर्छ भन्ने सबैलाई लागेको छ’ उनले भने, ‘यो हप्तामा टुंग्याउनुपर्ने हो। मुख्यमन्त्रीज्यूले तयारी गरिरहनुभएको होला।’

आउँदा मंगलबार कांग्रेस लुम्बिनीको संसदीय दलको बैठक बस्दै छ। बैठकमा मन्त्रिपरिषद विस्तारबारे छलफल हुने खनालले बताए।

लुम्बिनी सरकारका प्रवक्ता तथा बिनाविभागीय मन्त्री सन्तोषकुमार पाण्डेले ठूलो दलमा मन्त्री बन्ने आकांक्षी धेरै हुँदा ढिलाई भएको सुनाए।

‘साना पार्टीमा दलका नेता आफैँ मन्त्री बन्न तयार छन्, त्यसैले उनीहरुलाई समस्या भएन। समस्या ठूलो दलमा हो’ उनले भने,  ‘कांग्रेस ठूलो पार्टी हो। उहाँहरुले पाउनुपर्ने मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय मात्र हो। अब तीन वटा पाउन २६ जना मध्येबाट छान्नुपर्ने छ। आकांक्षी धेरै छन्।’  

लोसपाका नेता समेत रहेका मन्त्री पाण्डेले बुधबार मन्त्रिपरिषद विस्तार हुने दाबी गरे। त्यसअघि भोली सोमबार बिनाविभागीय ३ मन्त्रीहरुको कार्यविभाजन हुने उनले बताए।

नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै मन्त्रीको शपथ ग्रहण गरेका थिए। तर अहिलेसम्म जिम्मेवारी पाउन सकेका छैनन्।

मन्त्रिपरिषद विस्तारको लागि छलफल गर्न मुख्यमन्त्री चौधरी केही दिनअघि काठमाडौँ गएका थिए। त्यहाँ कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेतासँग भेटेर फर्केका थिए।

पछिल्लो समय नक्कली शरणार्थी प्रकरणका कारण पनि मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको चर्चा गर्ने गरिएको छ। उक्त प्रकरणमा सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यमले मुख्यमन्त्री चौधरी पनि जोडिन सक्ने भन्दै चर्चा गरेका थिए।

तर, शनिवार दाङमा आयोजित एक कार्यक्रममा उनले शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका थिए। प्रेस युनियन दाङ जिल्ला अधिवेसनको उद्घाटन गर्दै चौधरीले शरणार्थी प्रकरणमा आफू कहीँ कतै पनि नजोडिएको स्पष्ट पार्दै सञ्चार माध्यमलाई सत्यतथ्य बुझेर समाचार प्रकाशन गर्न आग्रह गरे।

लुम्बिनी सरकार विस्तार गर्दा मन्त्रालय बढाउने तयारी पनि गरिएको छ। लुम्बिनी प्रदेशमा एक या दुई मन्त्रालय बढ्न सक्ने सत्तारुढ दलका नेताहरुले बताएका छन्।

मन्त्रालय विस्तारको छलफलका लागि आइतबार साँझ प्रदेश सरकारमा सहभागी दलहरुको बैठकसमेत बस्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .