लुम्बिनी


अर्घाखाँची आगलागी : तीन घाइतेको मृत्यु

अर्घाखाँची आगलागी : तीन घाइतेको मृत्यु

नेपालखबर
बैशाख २७, २०८० बुधबार ८:३२, अर्घाखाँची

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीनजनाको मृत्यु भएको छ। 

आगलागीमा परी घाइते भएका भूमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो।

पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको  रामपुरमा मृत्यु भएको हो भने पदमको अस्पताल लैजाँदै गर्दा चितवनको नारायणघाट नजिक पुग्दा मृत्यु भएको हो। यस्तै घनश्यामको उपचारका क्रममा काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। 

मङ्गलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा आगो निभाउने क्रममा पाँचजना घाइते भएका थिए। आगलागीबाट २६ वर्षीया अस्मिता बेल्वासे र ३६ वर्षीय माधव बेल्वासेसमेत घाइते भएका छन्। माधवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लैजान सिफारिस गरिएको थियो। त्यहाँ पनि उपचार हुन नसकेपछि काठमाडौँ लैजान सिफारिस  गरिएको थियो। 

यसैबीच सन्धिखर्क नगरपालिका–४ वाङलास्थित मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन्। आगलागीबाट चार भैँसीसमेत जलेर मरेका छन्। कुखुरा फार्ममा आगलागी हुँदा आठ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगलागीबाट मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालद्दिन मियाँ, सफी मियाँ र समसेर मियाँका घरगोठ  जलेका हुन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad