ad ad

लुम्बिनी


लुम्बिनी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

लुम्बिनी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

नेपालखबर
माघ २०, २०७९ शुक्रबार १९:५१, देउखुरी

कार्यव्यवस्था परामर्श समिति बनाएर शुक्रबारको लुम्बिनी प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ। प्रदेश सभाको आजको दोस्रो बैठकले १३ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको हो।

सभामुख तुलाराम घर्तीले सम्बन्धित दलको सिफारिसमा तुल्सी चौधरी, रत्नबहादुर खत्री, बसिउद्धिन खाँ, जन्मजय तिमिल्सिना, इन्द्रजित थारु, मिनाकुमारी श्रेष्ठ, राजकुमार चौधरी, अम्बिका काफ्ले, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेलाई कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनयन गरेको जानकारी प्रदेश सभामा गराएका थिए।

प्रदेश सभाले त्यसलाई अनुमोदन गरेको थियो।

कार्यव्यवस्था परामर्श समितिमा सभामुख पदेन अध्यक्ष रहने छन्। त्यस्तै उपसभामुख र प्रदेश सभा मामिला मन्त्री पदेन सदस्य हुने छन्।  
प्रदेश सभा बैठकमा पेश हुने विषयहरुको प्राथमिकता तथा समयावधी निर्धारण गर्न र सभामुखले आवश्यक ठानेको बेला परामर्श दिन कार्यव्यवस्था परामर्श समिति गठन गरिएको हो।

कार्यव्यवस्था समिति सदस्यहरुको अनुमोदनपछि सभामुख घर्तीले मिति नतोकी पाँचौ बैठक समापन गरेका थिए।

‘पहिलो अधिवेशनको छैटौं बैठक सूचनापत्रद्वारा जानकारी गराउने गरि आजको बैठक सम्पन्न हुन्छ’ समापन गर्दै उनले भने।

माघ ५ गते मुख्यमन्त्री लिला गिरिले विश्वासको मत लिएको १५ दिनपछि शुक्रबार पाँँचौ बैठक बसेको हो। अघिल्लो पटक पनि समय नतोकी बैठक समापन गरिएकोमा सूचना टाँसेर पाँचौ बैठक बोलाइएको थियो।

आजको बैठकमा मुख्यमन्त्री लिला गिरिले महालेखा परिक्षक कार्यालयको प्रतिवेदन प्रदेश सभामा प्रस्तुत गरेका थिए।  

बैठकमा विशेष समय अन्तर्गत प्रदेश सभा सदस्यहरुले बोल्ने क्रम डेढ घण्टासम्म चलेको थियो। विशेष समयमा सांसदहरुले विभिन्न विषयमा आ आफ्ना धारणा र गुनासो राख्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

यसअघि आजको पहिलो बैठक नागरिक उन्मुक्ति पार्टीका सांसदको विरोधका कारण स्थगित भएको थियो। प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्तीले विरोध जनाएका थिए। 

बैठक सुरु हुने बित्तिकै नागरिक उन्मुक्तिका सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए। त्यसपछि सभामुखले दलका नेता धर्म चौधरीलाई बोल्न समय दिए।

चौधरीले प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिहाइको माग गर्दै सरकार कसले चलाइरहेको छ भन्दै प्रश्न गरे। उनले थारुहरुलाई फेरि जेलमा कोच्ने काम भएको उल्लेख गरे।

बैठक अवरुद्ध गर्ने बताएपछि सभामुख घर्तीले विशेष छलफलको लागि भन्दै १५ मिनेटको लागि बैठक स्थगित गरेका थिए। स्थगित भएको केही बेरपछि दोस्रो बैठक सुरु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .