लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने भएका छन्।
विश्वासको मत लिनको लागि मुख्यमन्त्री कार्यालयले मंगलबार प्रदेश सभा सचिवालयमा जानकारी पत्र बुझाएको छ।
माओवादी केन्द्र, राप्रपा, जसपा लगायत ७ दलको समर्थनमा गत पुस २७ गते एमाले संसदीय दलका नेता गिरि मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
संविधानको धारा १६८ को उपधारा ४ अनुसार प्रदेशको मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
आफ्नै पार्टी एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा,लोसपा र जनमतका ३–३ र २ स्वतन्त्र सासदहरुको सहित ५८ जनाको समर्थनमा गिरि मुख्यमन्त्री बनेका हुन्। प्रदेश सभामा ८७ सांसद रहेका छन्।
विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने योजनामा गिरि रहेका छन्। हाल एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी मात्र मन्त्री भएका छन्। उनीहरुले मन्त्रालयको जिम्मेवारी पाएका छैनन्।
Shares
प्रतिक्रिया