ad ad

लुम्बिनी


नयाँ राजधानीमा नयाँ सांसदको पहिलो दिन

नयाँ राजधानीमा नयाँ सांसदको पहिलो दिन

सुदीप भण्डारी
पुस १७, २०७९ आइतबार २२:११, देउखुरी

५ वर्षअघि २०७४ माघमा बुटवलमा प्रदेश सरकार कार्यान्वयन कार्यान्वयनमा आउँदा दाङको राप्ती गाउँपालिकाबसीले आफ्नो क्षेत्रमा राजधानी बन्छ भन्ने कल्पनासम्म पनि गरेका थिएनन्। 

२ वर्षअघि २०७७ असोज २० गते प्रदेश सभाले दाङको राप्ती उपत्यका देउखुरीलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने प्रस्ताव पारित गर्यो। अहिले आएर मात्र राजधानीको कार्यान्वयन भएको हो। मुख्यमन्त्री कार्यालय खुलेपछि केही दिन अघिबाट शासकीय चहलपहल सुरू भएको देउखुरीमा आइतबारदेखि संसदीय चहलपहल पनि सुरु भएको छ। 

आज प्रदेश प्रमुख अमिक शेरचनले सबै प्रदेश सांसदहरूलाई शपथ गराएका छन्। कुल ८७ प्रदेश सभा सदस्य मध्ये राप्रपाकि मिनाकुमारी श्रेष्ठ बाहेक ८६ सांसदहरूले शपथ लिए। ९ जनाले मातृभाषामा शपथ लिएका थिए। 

प्रतिनिधि सभा र अन्य प्रदेशमा सांसदहरूलाई जेष्ठ सदस्यले शपथ गराउने गरेपनि लुम्बिनीमा सबै सांसदलाई प्रदेश प्रमुख शेरचनले शपथ गराएका हुन्।

शपथग्रहणपछि प्रदेश प्रमुख अमिक शेरचनले गुल्मीका प्रदेश सांसद डिल्लीराज भुसाललाई ज्येष्ठ सदस्यको पत्र दिएका थिए। भुसालले आज जेष्ठ सदस्यको कार्यभार समेत सम्हाले। अब सभामुखको चयन नहुँदासम्म भुसालले प्रदेश सभा बैठकको अध्यक्षता गर्छन्। 

शपथग्रहण समारेहमा एमाले महासचिव तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा, कांग्रेस नेता तथा संघीय सांसद चन्द्र भण्डारी, प्रदेश सभापति अमरसिंह पुन लगायत सहभागी थिए। 

शपथसँगै आजै मुख्य दल नेकपा एमालेले दलको नेता चयन गरेको छ। महासचिव पोखरेल र सचिव विश्वकर्मा सहित बसेको संसदीय दलको बैठकले रूपन्देही २ क का सांसद लिला गिरीलाई दलको नेता चयन गरेको छ। उपनेतामा अर्घाखाँची ख का चेतनारायण आचार्य चयन भएका छन्। 

दलको नेता चयन भएपछि गिरिले अब प्रदेश सरकार गठनको लागि छलफल गर्ने बताए। लुम्बिनीमा माओवादी केन्द्र मध्ये कसले गर्ने टुंगो लागेको छैन। यद्यपी प्रदेश सभा परिसरमा एमालेका गिरि मुख्यमन्त्री र माओवादी केन्द्रका तुलाराम घर्ती सभामुख बन्ने चर्चा थियो।

घर्तीले मुख्यमन्त्री र सभामुख अलग अलग दलबाट रहने भन्दै माओवादी केन्द्रको पनि लुम्बिनीको मुख्यमन्त्रीमा दाबी भएको बताए। माओवादीले नेतृत्व गर्न पाएमा जोग बहादुर महरा मुख्यमन्त्री बन्नेछन्। 

नेपाली कांग्रेसले दलको नेता चयनको प्रक्रिया सुरू गरेको छ। आजै दलको नेता चयनको लागि उमेदवार मनोनयन गर्ने भनिए पनि भोलि विहानलाई सारिएको छ। दलको नेताको लागि अबदुल रज्जाक, डिल्ली चौधरी, वीर बहादुर राना र राजु खनालले दाबी गरेका छन्।

दाबेदार चौधरीले अघिल्लो पटक जस्तै यो पटक पनि सर्वसम्मतमै दलको नेता चयन हुने सम्भावना बढी भएको बताए।

दलको नेता चयनको लागि कांग्रेस नेता चन्द्र भण्डारी, प्रदेश सभापति अमरसिंह पुन सहित प्रदेश समितिका पदाधिकारी अहिले देउखुरिमै रहेर लगातार छलफल गरिरहेका छन्। सोमवार प्रदेश सभाको पहिलो बैठक बस्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .