लुम्बिनी


कोरोनाकालमा थुपारिएका स्वास्थ्य उपकरण अहिले अलपत्र

बेड र अक्सिजन सिलिन्डर पालिकाकै स्टोरमा
कोरोनाकालमा थुपारिएका स्वास्थ्य उपकरण अहिले अलपत्र

कोभिड महामारीका समयमाा प्रयोगमा ल्याइएका बेडसहितका सामान अहिले अलपत्र अवस्थामा। तस्बिर : नेपालखबर


सुदीप भण्डारी
मंसिर १८ , बुटवल

२०७७ वैशाख १९ गते रुपन्देहीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भयो। कोटइमाई गाउँपालिकामा भारतबाट आएका कृष्णकुमार पासवानमा संक्रमण देखिएको थियो। त्यसपछि रुपन्देहीमा एकपछि अर्को संक्रमित थपिन थाले। पहिलो लहरमा ठूलो मानवीय क्षति भएन।

तर महामारीको दोस्रो लहरमा २०७८ वैशाख–जेठमा रुपन्देहीमा संक्रमितको संख्या निकै बढ्यो। धेरै जनाको ज्यान गयो। पछिल्लो तथ्यांकअनुसार रुपन्देहीमा कोरोना संक्रमितको संख्या ३८ हजार ८ सय १५ पुगेको छ। जसमध्ये संक्रमणबाट ९ सय ८६ जनाले ज्यान गुमाए। 
कोरोना संक्रमणका कारण रुपन्देहीको शुद्धोधन र सियारी गाउँपालिकामा पनि ठूलो संख्यामा मानिस बिरामी परेका थिए। शुद्धोधन गाउँपालिकामा संक्रमितको संख्या ३ हजार ६६ पुगेको छ। तीमध्ये १८ जनाको मृत्यु भएको छ। 

त्यस्तै सियारी गाउँपालिकामा कूल संक्रमितको संख्या ६ सय ८३ थियो। जसमध्ये ८४ जना अस्पताल भर्ना भएका थिए। कोरोना संक्रमणबाट सियारीमा २४ जनाको मृत्यु भएको थियो। 

कोरोना संक्रमण भएकाहरूलाई शुद्धोधन र सियारी दुवै पालिकाले अस्थायी अस्पताल अर्थात् आइसोलेसन तयार गरी उपचारको व्यवस्था गरेका थिए। अस्पतालका लागि पालिका आफैँले किनेर तथा विभिन्न दातृ संस्थाको सहयोगमा बेड, अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री पनि जम्मा गरिएको थियो। कोरोना संक्रमणको प्रभाव कम भएसँगै ती सामग्री अहिले प्रयोगविहीन भएका छन्। 

........................
रुपन्देहीको शुद्धोधन गाउँपालिका फर्साटिकरमा रहेको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रको हलमा बिरामीका लागि प्रयोग हुने शय्या लस्करै राखिएका छन्। तर ती शय्यामा लामो समयदेखि बिरामी भने छैनन्। 

कोरोनाकालमा फर्साटिकरको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन बनाइएको थियो। त्यसबेला प्राथमिक स्वास्थ्य केन्द्रको हलमा बेड राखेर कोरोना संक्रमितहरूको उपचार गरिएको थियो। 

कोरोनाको प्रभाव कम भएपछि यहाँका हल र बेड पनि प्रयोगविहीन भएका छन्। लामो समयदेखि हलमा राखिएका १० वटा बेड अलपत्र अवस्थामा छन्। साथै बेडका लागि ओछ्यान तथा तन्ना पनि अर्को कोठामा स्टोर गरेर राखिएका छन्। 

कोरोना संक्रमितका लागि भनेर त्यसबेलाको कोरोना अस्थायी अस्पतालमा १२ वटा अक्सिजनका सिलिन्डर ल्याइएको थियो। अहिले ती सिलिन्डर प्राथमिक स्वास्थ्य केन्द्रको मूल ढोकाको कुनामा थन्क्याइएका छन्। केही स्टोरतिर राखिएको छ। 

शुद्धोधन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले कोरोनाकालमा प्रयोगमा आएका केही सामग्री मात्र अहिले प्रयोग भइरहेको बताए। ‘त्यसबेलाका तीनवटा ईसीजी मेसिनमध्ये एउटा अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोग भइरहेको छ। अक्सिजन कन्सटेटर २ वटा दमका बिरामी र इमरजेन्सीमा प्रयोग भएको छ’, उनले भने, ‘कोभिडको बेलाका बेडहरू खाली छन्, केही परेमा तयारी अवस्थामा छन्। सिलिन्डरहरू पनि स्टोरमा छन्।’

भण्डारीका अनुसार ७ वटा अक्सिजन कन्सटेटरमध्ये ५ वटा प्रयोगविहीन छन्। 

त्यसबेला किनेर राखिएका र प्रयोगमा नआएका पीपीई, मास्क, स्यानिटाइजर लगायतका सामान एउटा कोठामा थुपारिएको छ।

गाउँपालिकाले कोरोना अस्थायी अस्पतालका लागि बेडहरू २ लाख रुपैयाँमा किनेको थियो। 

शुद्धोधनसँग सीमा जोडिएको सियारी गाउँपालिकामा पनि बेड र अक्सिजन सिलिन्डर स्टोर गरेर राखिएका छन्। गाउँपालिकाको कार्यालय परिसरकै अर्को भवनमा सभाहल छ। सभाहल रहेको भवनको एउटा कोठामा उतिबेला कोभिडका बिरामीका लागि प्रयोग भएका बेड फोल्डिङ गरेर राखिएका छन्। बिस्तारा कार्यालय भवनको माथिल्लो तलामा थन्क्याइएको छ। कोरोना महामारीका बेला विभिन्न संस्थाबाट सियारी गाउँपालिकाका लागि बेड, अक्सिजन सिलिन्डर लगायतका सामग्री अनुदानमा आएका थिए। ती बेड र अक्सिजन सिलिन्डर पनि सभाहलको भवनको कोठामा थन्क्याइएको छ। 

कोभिडको समयमा सियारी गाउँपालिकालाई अर्घाखाँची सिमेन्टले १० वटा बेड र १० वटा अक्सिजन सिलिन्डर दिएको थियो।  त्यस्तै बतास फाउन्डेसनबाट १५ वटा बेड र साना–ठूला गरेर २० वटा अक्सिजन सिलिन्डर आएको थियो। अर्घाखाँची सिमेन्टले दिएको १० वटा अक्सिजन सिलिन्डर कोरोनाको प्रभाव घटेपछि उसले फिर्ता लगेको छ।  

अर्घाखाँची सिमेन्टले दिएका बेड र बतासले दिएका बेड तथा सिलिन्डर स्टोरमा थन्क्याइएका हुन्। सियारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर जीसीले २५ वटा बेडमध्ये पाँचवटा अहिले प्रयोगमा आएको बताए। 

‘पाँचवटा बेड अमुवा हेल्थपोस्टमा छ। अरू हाम्रो स्टोरमा छन्’, उनले भने, ‘अक्सिजन सिलिन्डरहरू कतै प्रयोग भएका छैनन्।’ 

त्यस्तै एक–एकवटा अक्सिजन कन्सन्टेटर छपिया र हर्नैया हेल्थपोस्टमा छ भने २ वटा अमुवा हेल्थपोस्टमा रहेको जीसीले जानकारी दिए। 

शुद्धोधन गाउँपालिका बुटवल उपमहानगरपालिकाको छिमेकी पालिका हो। त्यस्तै सियारी गाउँपालिका बुटवलबाट केही दूरीमा पर्छ। यी पालिकामा बाटोघाटो र अन्य विकासका संरचना दिनप्रतिदिन बढिरहेका छन्। स्वास्थ्य सेवामा विकास भए पनि पर्याप्त भने छैन। 

सानातिना स्वास्थ्य समस्या भए पनि गाउँपालिकाबासी उपचारका लागि बुटवल–भैरहवा नै जाने गरेको सियारी ५ छपियाका कुशल शर्मा भुसालले बताए।

‘यहाँ स्वास्थ्य चौकी र मेडिकलहरू पनि छन्। ज्वरो आउने, टाउको दुख्ने भयो भने यहीँबाट औषधि खाइन्छ। त्यो बाहेकको अरू उपचार गर्न बुटवल–भैरहवा नै जानुपर्छ’, उनले भने, ‘ठूला उपचार नभए पनि एउटा मध्यम खालको अस्पताल भए पनि हामीलाई अन्यत्र जान पर्दैन थियो। यसमा सरकारमा पुगेकाले केही गर्नुपर्ने हो।’ 

सानातिना स्वास्थ्य समस्यामा हुँदा पनि मानिसहरू बुटवल आउँदा यहाँको लुम्बिनी प्रादेशिक अस्पतालमा निकै भिडभाड हुने गरेको छ। इमरजेन्सीलगायत अन्य वार्डमा बेडसमेत अभाव हुन्छ। एउटा बेडमा दुई/तीन जना बिरामी राख्नुपर्ने अवस्थासमेत आइलाग्छ।

लुम्बिनी प्रादेशिक अस्पतालका पूर्वअध्यक्ष तथा शुद्धोधन निवासी रमेश खनालले भर्ना गर्नपर्ने तर जटिल समस्या नभएका बिरामीको उपचार पालिकास्तरमै हुनुपर्ने धारणा राखे। पालिकाहरूमा सेवा र जनशक्ति थपेर अहिले अलपत्र परेका कोभिडसँग सम्बन्धित सामग्री प्रयोगमा ल्याउन उनको सुझाव छ।

‘कोरोनाकालमा प्रयोग भएका जति सामान छन्, ती सामान धेरै समयसम्म यसरी अलपत्र हुनु हुँदैन’, उनले भने, ‘पालिकाका स्वास्थ्य संस्थामा सेवा, सुविधा र जनशक्ति थप गरेर ती सामान उपयोगमा ल्याउनपर्छ।’ 

त्यसो गरेमा सामान्य र मध्यम खालका स्वास्थ्य समस्या भए पनि उपचार गर्न बुटवल धाउनपर्ने अवस्था नहुने र बुटवलका सरकारी अस्पतालमा पनि भिड कम हुने खनालको भनाइ छ। उनले पालिकाहरूमा स्वास्थ्य सुविधा थप्ने सरकारबाट योजना सुनिएको भन्दै त्यसलाई कार्यान्वयन गर्नुपर्ने धारणा राखे। 

पालिकाको नेतृत्व गरेका जनप्रतिनिधिहरूले अहिले थन्क्याइएका सामान ढिलोचाँडो प्रयोगमा आउने दाबी गरे। शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु बस्यालले गाउँपालिकामा १५ शय्याको अस्पताल बनाउने तयारी भइरहेको र त्यसका लागि ठेक्कासमेत लागिसकेको बताए।

अस्पतालको नयाँ भवन बन्नभन्दा अघि नै अहिलेको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा स्वास्थ्य सुविधा विस्तार गर्न लागिएको जानकारी पनि बस्यालले दिए।

‘अस्पताल निर्माणका लागि टेन्डर प्रक्रियामा गइसकेको छ। नयाँ भवन बन्न त समय लाग्ला,’ उनले भने, ‘अहिले भइरहेको भवनमा हामीले अस्पतालको सेवा विस्तार गर्छौं। कोठा र बेडहरू छँदै छ। केही डाक्टरको कमी हो, हामीले मन्त्रालयसँग माग गरिरहेका छौं। सायद चुनावपछि उपलब्ध हुन्छ कि?’ 

सरकारले जनशक्ति उपलब्ध गराएमा अहिले स्टोरमा थन्क्याइएका बेड, अक्सिजन सिलिन्डर लगायतका सामग्री प्रयोगमा आउने गाउँपालिकाका अध्यक्ष बस्यालको भनाइ छ। 

सियारी गाउँपालिकामा पनि १५ शय्याको अस्पताल बनाउन शिलान्यास भइसकेको छ। गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले अस्पतालको भवन नबन्दै विभिन्न स्वास्थ्य चौकीमा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए।

‘अस्पताल तयार भएपछि अहिले स्टोरमा भएका बेड, सिलिन्डर लगायतका सामान प्रयोग भइहाल्छ’, उनले भने, ‘त्यो भन्दा अघि पनि हामीले छपियामा रहेको स्वास्थ्य केन्द्रमा बिरामीलाई भर्ना लिएर उपचार थाल्ने सोच बनाएका छौं। सायद यसै आर्थिक वर्षबाट हुन सक्छ।’

घिमिरेले अमुवा र हर्नैयाका स्वास्थ्य चौकीमा पनि बेड थप्ने जानकारी दिए। कोभिडजस्तै माहामारी फैलिएमा बिरामीलाई राख्ने छुट्टै भवन बनाउने योजना पनि रहेको उनले सुनाए। 

यी दुई गाउँपालिकाबाहेक अन्य गाउँपालिका र नगरपालिकामा पनि कोरोना महामारीका बेला प्रयोग भएका सामग्री स्टोरमा थन्क्याइएका छन्। कतिपय ठाउँमा आईसीयू बेड र भेन्टिलेटर मेसिनसमेत थन्क्याएर राखिएको छ। 

लुम्बिनी सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले पालिकाहरूले आफूसँग भएका सामानको लेखाजोखा गरेर छिटो प्रयोग हुनसक्ने सामान राख्ने र प्रयोगमा आउन समय लाग्ने भए समन्वय गरेर अरू ठाउँमा हस्तान्तरण गर्नुपर्ने बताए।

‘प्रयोगमा आउन ढिला हुनेजस्तो भयो भने त्यहाँको नेतृत्वले राखिरहेर खिया लगाउन भन्दा अन्यत्र पनि प्रयोग हुन्छ भन्ने सोच्नुपर्छ’, उनले भने, ‘अलिकति लेखाजोखा गरेर ती सामग्रीको हस्तान्तरण गर्दा ठीक हुन्छ। पालिकाका स्वास्थ्य संस्थाको पूर्वाधार जनशक्ति सबै कुरा मिल्यो भने त्यही प्रयोग गर्दा राम्रो भयो।’ 

नेपाल सरकारले पालिकास्तरका स्वास्थ्य संस्थामा कस्ता प्रकारका जनशक्ति रहने भनेर एक खालको निर्णय पनि गरेको छ। त्यसअनुसार पालिकाहरूले चिकित्सक लगायतका जनशक्ति राख्ने बाटो पनि खुलेको स्वास्थ्य सचिव डा. देवकोटाले बताए।

‘संघीय मन्त्रालयले पूर्वाधारसँगै जनशक्तिको कुरा गरिदियो। आफ्नो क्षमताले भ्याएसम्म पालिकाहरू ती जनशक्ति राख्नुपर्यो’, उनले भने, ‘प्रदेश सरकारले पनि छात्रवृत्तिका डाक्टरहरू वा करारबाट राख्नलाई केही गरिरहेका छौं। ल्याब, अल्ट्रासाउन्ड, एक्सरे, ईसीजीजस्ता उपकरण दिएर स्थानीय तहसँग सहकार्य गरेका छौं।’ 

संघ सरकारले पालिकाका स्वास्थ्य संस्थामा यो–यो खालका जनशक्ति रहने भने पनि मन्त्रालयले उपलब्ध गराउने वा नगराउने भनेर अझै निर्णय गरिसकेको छैन।

‘संघले पनि जनशक्तिको थप कुरा गरिदिनपर्यो। हामीले टपअप गरिदिने र पालिकाहरूले पनि स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट बढाए भने राम्रो हुन्छ’, स्वास्थ्य सचिव डा. देवकोटाले भने। 

मंसिर १८, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.