लुम्बिनी


भूकम्पीय हिसाबले उच्च जोखिममा नेपालगञ्ज, सर्वेक्षण सुरू

भूकम्पीय हिसाबले उच्च जोखिममा नेपालगञ्ज, सर्वेक्षण सुरू

नेपालखबर
भदौ ६, २०७९ सोमबार १०:१६, काठमाडौँ

नेपालगञ्जमा संभावित भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणको लागि उपमहानगरपालिकाले बस्ती तथा भूबनोटको सर्वेक्षण सुरु गरेको छ ।

क्षति न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको बस्ती तथा भूबनोटलगायत सम्बन्धमा विस्तृत सर्वेक्षण गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए।

उनका अनुसार, घना बस्ती, पुरानो बस्ती र पुराना घर बढिरहेको नगरको ३ र ७ नं वडालाई आधार मानेर भूकम्पीय जोखिम न्यूनीकरणका लागि सर्वेक्षण भइरहेको छ। बस्तीमा रहेका साँघुरो घर, गल्ली, जीर्ण घर, अस्तव्यस्त तार, घरको नक्सा तथा भूकम्प जोखिमबारे घरमा पुगेर अध्ययन भइरहेको अध्ययनमा संलग्न युनिसेफका प्राविधिक अधिकृत नरेश निदालले बताए।

यो अध्ययनबाट नगर क्षेत्रमा आवश्यक खुला क्षेत्रको अवस्था, आश्रयस्थल, स्वास्थ्यचौकी लगायतको विषयमा प्रष्ट जानकारी हुने र विपद् प्रतिकार्यमा सहयोगी हुने उनको भनाइ छ। 

भूगर्भविद्का अनुसार, नेपालगञ्ज क्षेत्रको भूबनोट कमजोर रहेका कारण भूकम्पीय हिसाबले उच्च जोखिममा  छ। बाँकेमा केन्द्रबिन्दु भएर भूकम्प नआएको भए पनि  भूकम्पीय जोखिममा रहेको प्राध्यापक भूगर्भविद् डा दीपक चौलागाईंले बताए।

बाँकेको कोहलपुर नगरपालिकाभन्दा उत्तरतर्फको भावर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गत शनिबार मात्रै ४.८ म्याग्निच्यूटको भूकम्प गएको थियो। भूकम्पको धक्का बाँके, बर्दियालगायत भारतको उत्तरप्रदेश राज्यसम्म परेको उनले जानकारी दिए।

उपमहानगरपालिकासँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी बाँकेले सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना सञ्चालन गरेको छ। परियोजनाअन्तर्गत जोखिमयुक्त घरको पहिचान गरी नगरभित्र विपद् पूर्वतयारी गरी संरचना निर्माण गर्न पहल गर्ने उद्देश्यका साथ फिल्डमा प्रविधिक परिचालन गरिएको सो उपमहानगरपालिकाका विपद् स्रोत व्यक्ति प्रकाश डिसीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad