लुम्बिनी


पशुआहारका लागि पोषिलो ‘साइलेज’

पशुआहारका लागि पोषिलो ‘साइलेज’

सुशीला रेग्मी
भदौ २, २०७९ बिहिबार १२:३४, पाल्पा

सीताराम गौतमले पहिलोपटक गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ बाख्रालाई खुवाउन सुरु गरे। साइलेज (मकै र घाँसलाई मेसिनबाट गुन्द्रुक बनाइएको पशुआहार) खुवाउन सुरु गरेपछि बाख्रा हृष्टपुष्ट हुँदै गए। 

रामपुर नगरपालिका–७ का गौतमले सुरुमा करिब तीन क्विन्टल साइलेज खरिद गरे। बाख्रालाई पोषिलो आहार अति उत्तम ठानेपछि पुनः दोस्रोपटक दोब्बर खरिद गरे। अहिले उनले नियमित रूपमा आफ्ना फार्ममा रहेका ७० बाख्रालाई साइलेज खुवाउँछन्। 

‘गत वर्षदेखि नियमित रूपमा बाख्रालाई साइलेज खुवाउने गरेको छु, बाख्राको तौल बढ्दै गएको छ, पोषिलो साइलेज पशुआहारका लागि अत्यन्तै राम्रो छ, यसको सेवनले पशुपालन गरेका कृषकले राम्रो फाइदा लिँदैछन्, उनले भने। 

रामपुरमा नै साइलेज उत्पादन हुन थालेपछि पशुआहार आपूर्तिका लागि सहज भएको र यसप्रति सथानीयले उद्योगमा पुगेर जानकारी लिने गरेको अगुवा भैँसीपालक कृषक कृष्णकुमार अर्याल बताउँछन्। 

अर्यालले यसअघि प्रतिकिलो रु १५ का दरले भारतको पञ्जाबबाट साइलेज खरिद गरेर पशुुलाई खुवाउने गर्थे। अहिले गाउँमै गुणस्तरीय साइलेज खरिद गर्न पाउँदा आर्थिक भार कम परेको उनको भनाइ छ।      

यहाँ उद्योग सञ्चालन भएपछि स्थानीयले काम गर्ने अवसर पाएका छन्। उद्योग चलेको अवस्थामा दैनिक १५ देखि २० कामदारले काम गर्ने गरेका छन्। विष्णुमाया पौडेल गाउँमै रहेको उद्योगमा काम गर्ने अवसर पाउँदा खुसी छिन्। उनका श्रीमान् वैदेशिक रोजगारीमा छन्।

उद्योगमा काम गरेपछि छोराछोरी र घरखर्च चलाउन समस्या नभएको उनी बताउँछिन्। उनले यहाँको उद्योगमा बिहानदेखि साँझसम्म काम गर्छिन्। 

पौडेलले मकै, नेपिएर घाँस काट्ने, बोक्नेलगायतका काम गरेबापत एक घण्टाको रु ७५ ज्याला बुझ्छिन्। उनी उद्योगमा काम चलेका बखत दैनिक १२ देखि १५ घण्टा काम गर्छिन्। ‘उद्योगले रोजगार दिएको छ, दुई चार पैसा कमाउने माध्यम बनेको छ, यहाँ काम गर्न थालेपछि अरुसँग आश्रित हुनुपरेको छैन, आफूले जति धेरै समय काम गर्न सकियो त्यति नै धेरै पैसा कमाइन्छ’, उनले भने। 

फूलमाया कुमाल पनि घरायसी काम सकाएर श्रीमान्सँगै यस उद्योगमा खटिन्छिन्। उनले साइलेज उत्पादन नभएका समय भने भवन निर्माणसम्बन्धी काम गर्छिन्। समयको सदुपयोगका साथै आयआर्जन गर्न सकिएको कुमाल बताउँछिन्। 

उद्योग सञ्चालन भएपछि मकै काट्ने, बोक्ने, मेसिनमा राख्ने, उत्पादित साइलेज भण्डारण गर्नेलगायत काम पाएपछि स्थानीय उत्साहित छन्। स्थानीयलाई रोजगारी दिन सदरमुकामदेखि टाढाको रामपुरमा जिल्लामै ठूलो साइलेज उद्योग सञ्चालन गरेको सञ्चालक रामप्रसाद पोखरेल बताउँछन्। 

‘पशुआहारका लागि साइलेज अति राम्रो छ,  बजारका ठूला फार्मबाट माग आउने गरेको छ, ढुवानी गर्न भने समस्या छ, पेट्रोलियम पदार्थको महँगीले अघिल्ला वर्षमा जस्तो बजार पाउन सकेको छैन’, उनले भने। उद्योग चलाउन रामपुरका विभिन्न स्थानमा गरी करिब चार सय ८० रोपनी जग्गा भाडामा लिएर मकै र नेपिएर घाँस लगाइएको छ। सदरमुकाम तानसेन, रुपन्देही, पोखरा, स्याङ्जा, तनहुँ, काठमाडौँ, चितवन, पर्सा, नवलपरासी, वीरगन्जलगायत सहरमा साइलेज खपत हुने गरेको छ। मकैको प्रतिकिलो रु १४ र नेपिएर घाँसको रु ११ मा साइलेज उद्योगबाटै बिक्री हुन्छ।

चार वर्षअघि लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख र कामधेनु गाईफार्मको  रु २५ लाखको लागतमा साइलेज उत्पादन थालिएको हो। उद्योगमा हालसम्म करिब रु एक करोड ५० लाखभन्दा बढी लगानी भएको सञ्चालकको भनाइ छ।

साइलेज उत्पादन थालेपछि अब यस क्षेत्रमा बाँझिएका जग्गाको सदुपयोग हुन थालेको छ। यहाँ उत्पादन भएको साइलेज लुम्बिनी प्रदेशभर खपत गर्ने लक्ष्यअनुरुप उत्पादन भइरहेको सञ्चालक बेदप्रसाद बञ्जाडे बताउँछन्। साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो। यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ। पशुआहारका लागि राम्रो मानिने साइलेज रामपुर नगरपालिकामा उद्योग नै सञ्चालन गरी उत्पादन थालिएको हो। 

साइलेज पशुलाई खुवाएमा दूध उत्पादनमा वृद्धि हुने र पशुको नश्ल सुधार हुने बताइन्छ। सुक्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशुआहारका लागि अत्यन्त उपयुक्त हुने गरेकोले ठूला तथा साना पशु व्यवसायीका लागि सहज भएको छ। दैनिक दुई किलो साइलेज पराल, दानापानीमा मिलाएर पशुलाई खुवाउन सकिन्छ। सुक्खा मौसममा हरियो घाँसको अभाव हुने हुँदा साइलेज बनाएर राखियो भने पशु आहाराका लागि उत्तम मानिन्छ। यो उत्पादन गरिएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ। 

दुई महिनासम्म प्लास्टिकमा भण्डारण गरेर हावा नपस्ने गरी राखिएको साइलेज दुई महिनापछि मात्र पशुलाई खुवाउने गरिन्छ। घोगा लागेको मकैको बोट साइलेजका लागि उत्तम मानिन्छ भने टियो सेन्टी, नेपिएर नामक घाँसबाट पनि बनाउने गरिन्छ।

साइलेज खुवाएको पशुबाट प्रशस्त दूध उत्पादन, पशु वृद्धि, पोषणयुक्त हुने हुँदा ठूला पशुफार्मले अनिवार्यजसो नै प्रयोग गरिरहेको सञ्चालकको भनाइ छ। आमाको दूध खाँदै गरेका बाच्छाबाच्छी तथा पाठापाठीबाहेक यो भेडा, बाख्रा, गाईभैंसीलाईसमेत खुवाउने गरिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad