लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री विमला कुमारी वली खत्रीले आफूले पाउनुपर्ने ६ लाख २० हजार रुपैंया अझै नपाएको गुनासो गरेकी छिन्।
वाइसीएल नेता एकराज बस्नेतले लगेको सापटी रकम दिलाउन पार्टीका नेताहरुलाई भनेको भएपनि अझै हात नपरेको उनको गुनासो छ।
आफूले राज्यमन्त्रीबाट राजीनामा दिएको भएपनि लगेको सापटी रकम अझै फिर्ता नदिएको वलीले नेपाल खबरलाई बताइन्।
‘खास पाउनुपर्ने साढे ६ लाख हो, प्रतिवेदनमा ६ लाख २० हजार मैले पाउनुपर्ने भनिएको छ। डेढ महिना भइसक्यो अहिलेसम्म पाएको छैन।’ उनले भनिन्, ‘पार्टीका धेरै नेताहरुलाई सम्पर्क गरें। सबैले हुन्छ हुन्छ मात्र भन्नुहुन्छ, पाएको छैन।’
वलीले त्यतिबेला आफूलाई राज्यमन्त्रीबाट राजीनामा दिन लगाए पनि सापटी फिर्ता गराउन पार्टीका नेताले चासो नदिएको उल्लेख गरिन् ।
‘मलाई राजीनामा दिन लगाइयो। सांसद पदबाट पनि दिन्छु भनेको, नदिनु भन्नुभयो। चुप लागेर बस्न बाध्य बनाइयो।’ उनले भनिन्, ‘मैले झण्डावाला गाडी लगें। त्यही गलत भयो होला। अरु त सबै हल्ला चलाइएको त हो नि। एउटा सिंगल महिला देखेर समाज नै म माथि लागेको हो।’
वलीले आफ्नो बस्नेसँग कुनै सम्पर्क नभएको र पार्टीले नै रकम फिर्ता दिलाउनुपर्ने उल्लेख गरिन्।
भएको के थियो?
जेठ ३१ गते तत्कालिन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वली तुल्सीपुर स्थित बस्नेतको घरमा पुगेकी थिइन्।
त्यसबेला राज्यमन्त्री वलीले बस्नेतको श्रीमती र छोरीलाई कुटपिट गरेको भन्दै स्थानीयले घेरा हालेका थिए। त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर वलीलाई बुटवल ल्याएको थियो।
उक्त घटनाको सम्बन्धमा छानविन गर्न लुम्बिनी प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा छानविन समिति बनाएको थियो।
समितिले बाहिर चर्चामा आए जस्तो आक्रमण केही नभएको, असम्बन्धित व्यक्तिको भीड जम्मा भएर अतिरञ्जित गर्ने कार्य भएको हुँदा घटना सुनियोजित हो कि शंका गर्ने आधार देखिएको बताएको थियो।
तर राज्यमन्त्रीको हैसियतले विवाद गर्नु चाँही पदीय मर्यादा विपरित नभएको निष्कर्ष निकालेको थियो।
समितिले सापटी रकम फिर्ता नहुँदाको नतिजा स्वरुप उक्त घट्ना घटेको निष्कर्ष निकालेको थियो।
एकराज बस्नेतबाट विमला कुमारी वलीले ६ लाख २० हजार रुपैंया पाउनुपर्ने समितिको प्रतिवेदनमा भनिएको थियो।
छानविन समितिले प्रतिवेदन नबुझाउँदै राज्यमन्त्री वलीले पदबाट राजीनामा दिएकी थिइन्।
Shares
प्रतिक्रिया