ad ad

लुम्बिनी


एमाले र माओवादीमा प्रयोगको सिकार बनिन् विमला वली

एमाले र माओवादीमा प्रयोगको सिकार बनिन् विमला वली

सुदीप भण्डारी
असार १७, २०७९ शुक्रबार ११:२८, बुटवल

विवादका बीच विमलाकुमारी खत्री वली अन्ततः लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री पदबाट हटेकी छन्। बुधबार बिहान उनले प्रदेश राज्यमन्त्री पदबाट राजीनामा दिएको खबर सार्वजनिक भएको थियो। सोही दिन मुख्यमन्त्री कुलप्रसाद केसीले उनको राजीनामा स्वीकृत गरेको कुरा प्रदेश सभालाई जानकारी गराएका थिए। 

तर राजीनामाको विषय पनि विवादित बनेको छ। मुख्यमन्त्री केसीले राजीनामा स्वीकृत गरेको बताए पनि विमलाले  स्वेच्छाले राजीनामा दिएकी हुन् वा उनलाई हटाइएको हो भन्ने संशय छ। किनकि वलीले आफूले राजीनामा नदिएको दाबी गरिरहेकी छन्। तर उनको राजीनामा पत्र सामाजिक सञ्जालमा समेत देखिएको छ। 

गत जेठ ३१ गते उनले दाङको तुलसीपुरस्थित एकराज बस्नेतको घरमा गएर उनका श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोप लागेपछि उनी विवादमा परेकी हुन्।  

एकराजको घरमा पुगेकी वलीलाई स्थानीय बासिन्दाले घेरेपछि प्रहरीले उनलाई प्रहरीले सुरक्षा दिएको थियो। त्यसै रात उनलाई बुटवल ल्याइएको थियो।

इलाका प्रहरी कार्यालय (तुलसीपुर) मा विमलाविरुद्ध जाहेरी परे पनि कारबाही प्रक्रिया अघि बढेको छैन। 

डेढ वर्षयता विमलाको नाम लुम्बिनी प्रदेशको राजनीतिमा छाइरह्यो। उनीसँग जोडिएर केही विवादित प्रसंग पनि बाहिरिए।  
सत्ताको खेलका लागि उनलाई एमाले र माओवादी केन्द्र दुवैले प्रयोग गरे। 

पति उत्तरकुमार वलीको निधनपछि विमला दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपचुनावबाट प्रदेश सांसदमा विजयी भएकी थिइन्। त्यसको डेढ वर्षपछि अर्थात् २०७८ वैशाखबाट उनी चर्चामा आएकी हुन्। 

सर्वोच्च अदालतले २०७७ फागुनमा नेपाल कम्युनिस्ट पार्टी नेकपा भंग गरी एमाले र माओवादी केन्द्र अलग गराएको थियो। 

केही समय एमालेले विमला खत्री वलीलाई आफ्नो पार्टीको मानेको थियो। 

२०७८ वैशाखमा माओवादी केन्द्रले कांग्रेस, जसपा, राष्ट्रिय जनमोर्चाको समर्थनमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। त्यसबारे वैशाख २१ गते प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो। सोही दिन तत्कालीन मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिए। विशेष अधिवेशन अन्त्य गराए। त्यसअघि जसपाले ४ जना सांसदलाई कारबाही गरेपछि शंकर पोखरेलले बहुमत देखाएर पुनः मुख्यमन्त्री हुन प्रदेश प्रमुखसमक्ष दाबी पेस गरे। 

त्यही बेला विमलाले आफू माओवादी केन्द्रमा रहेको घोषणा गरिन्। विमलासहित सूर्य चिह्नबाट चुनाव लडेका दुई सांसद समेतको हस्ताक्षर समेटेर कुलप्रसाद केसीले पोखरेलको बहुमत नपुग्ने दाबी गरे। अन्ततः शंकर पोखरेलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा ल्याएर मुख्यमन्त्रीको शपथ खाए। 

केन्द्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेपछि साउनमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अर्को अविश्वास प्रस्ताव दर्ता भयो। अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा विमलाकुमारी खत्री वलीको नाम पनि थियो। तर साउन १८ गते आफू एमालेमै रहेको भन्दै विमलाको नाममा विज्ञप्ति सार्वजनिक भयो।

फेरि लगत्तै उनलाई एमालेले बन्धक बनाएको समाचार सार्वजनिक भयो। साउन २१ गते वलीले पत्रकार सम्मेलन गरी आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको र आफू माओवादी केन्द्रमै रहेको जानकारी गराइन्। त्यसअघि प्रकाशित विज्ञप्ति झुटो भएको उनले बताइन्। 
विमला वली, सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका अजय शाहीलाई समेटेर कुलप्रसाद केसीले शंकर पोखरेलको सरकार ढालेर आफू मुख्यमन्त्री बने। 

सरकार फेरिएको दुई दिनमा विमला र वाईसीएल नेता एकराज बस्नेतबीच आलिंगनको तस्बिर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भयो। तर वली र बस्नेत दुवैले त्यो तस्बिर झुटो भएको दाबी गरेका थिए।

सरकार फेरिएको एक महिनापछि विमला वलीले शंकर पोखरेलले आफूलाई बन्धक बनाएको भन्दै प्रहरीमा उजुरीसमेत दिएकी थिइन्। तर त्यो उजुरी अघि बढेन। 

पछि विमला कुलप्रसाद केसी नेतृत्वको सरकारमा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनिन्। राज्यमन्त्री बनेपछि उनी सार्वजनिक कार्यक्रममा खासै देखा परिनन्। सञ्चार माध्यमबाट पनि टाढै रहिन्।

राज्यमन्त्री भएकै बेला पछिल्लोपटक एकराज बस्नेतको घरमा भएको काण्डले उनी मन्त्री पदबाट बाहिरिनुपरेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .