साहित्य


लघुकथा : कित्ता

लघुकथा : कित्ता

ईश्वर पोखरेल
मंसिर ९, २०८२ मंगलबार १५:७, काठमाडौँ

नयाँ दल बन्ने। पुराना राजनीतिक दल विघटन हुने। स्थापित दलहरू एकअर्कामा गाभिने। राजनीतिक नेता/कार्यकर्ता नै एकातिरबाट अर्कोतिर दौडिएझैँ देखिने। 'हिजो को कहाँ थियो' भन्ने आधारमा 'ऊ आज कहाँ छ र भोलि बिहान कहाँ पुगेर ब्युँझिन्छ' भन्ने विषयमा अनुमान हुनै नसक्ने राजनीतिक उथुलपुथुलयुक्त अवस्था!

'को कता फर्केको छ र त्यस दिशामा ऊ कति परसम्म जान खोज्दैछ?' कसले भन्न सकोस् !

यस्तो बेला कार्यक्षेत्र र घरमा भन्दा बढी पार्टी कार्यालय र राजनीतिक बहसमा भेटिने गरेका मेरा केही कर्मचारी, प्राध्यापक र लेखक साथीहरूको हालको 'राजनीतिक–ठेगाना’को बारेमा मलाई खुल्दुली जाग्यो ।

जेलिएको काँचो धागो सामुमा राखेर बसे जस्तो पो भयो : कता छेउ! कता टुप्पो!

केही दिनदेखि 'कसलाई भेटौं र कसलाई सोधौं’ भइरहेको थियो ।

कसैले सम्भावना देखायो- 'हामीकहाँ केही कर्मचारी, लेखक, प्राध्यापक आदि त यति स्वतन्त्र, यति बौद्धिक र यति चिन्तनशील देखिएका छन्; यस्तो राजनीतिक भीडभाडमा पनि ती बिचरा आफ्ना आराध्य नेताको पिछा छाड्दैनन्; त्यतै होलान्।'

तर यो त सम्भावनाको कुरा न भयो; पटना पुग्नुपर्ने चिठ्ठी पाटनमा दुई वर्ष सात दिन घुमेर प्रेषकलाई नै फिर्ता गएको सम्झिएँ।

जेन– जी आन्दोलनको गम्भीर झट्कापछि साथीहरू आफ्नो पदीय र प्राज्ञिक हैसियत र जिम्मेवारीमा फर्किए कि उतै छन्; उतै छन् भने कुन कित्तामा, कसको पछाडि कहाँनेर उभिएका छन्? राजनीतिक ठेगाना नखुलेकाले साथीहरूको नाममा लेखिएको चिठ्ठी कयौँ दिनदेखि मेरो टेबुलमाथि उसै अलपत्र छ; हालखबर बुझ्नधरि पाएको छुइनँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad