श्री ३ चन्द्र शमशेरको अगुवाइमा बनेको रक्सौल–अमलेखगन्ज रेलमार्गको ५ फागुन १९८३ का दिन राजा त्रिभुवनले उद्घाटन गरेका थिए। नेपालको यो पहिलो रेलमार्गबारे इतिहासमा प्रशस्तै चर्चा भएका छन्। यहाँ राणा शासनमा खरदारको जागिर खाएका हीरालाल खत्रीले कविता मार्फत सो रेल र श्री ३ चन्द्रको प्रशस्ति गाएका छन्।
गोर्खापत्रमा प्रकाशित यो कविता कमलमणि दीक्षित, शरद्चन्द्र शर्मा र घटराज भट्टराई सम्पादित एउटा अर्को बुइँगलबाट साभार गरिएको हो :
श्री चन्द्रका किरणले दुनियाँ प्रजा ती
विद्या विचार सब पाइ अनेक भाँति
बस्छौं समस्त प्रभुको गुणगान गाई।
फेरी मधेशतिर खर्च लगाउँदामा
आनन्दमा छ दुनियाँ अब छैन ताप
श्रीमान चन्द्र प्रभुको त हुँदा प्रताप।
भीमफेदि देखि अब वायु सरी कुदेर
अम्लेखसम्म लहरीहरुमा छुटेर
जान्छन् समस्त दुनियाँ सव मार्ग ताडी
आनन्दसाथ चढि मोटरको त गाडी।
अम्लेखबाट पनि जो ति दुसाँदसम्म
चड्छन् समस्त दुनियाँ भइ रेल गम्म
हर्षाश्रुपूर्ण गरि सूक्तिसुधा प्रपात
आनन्द पारिदिनु भो सब रोज रात।
Shares

प्रतिक्रिया