बसबाट सबै हतारिँदै झर्न लागे।
सबै एकैचोटि झर्न खोज्दा बसको एउटा मात्र ढोका पर्याप्त भएन। सबै हुर्दुराएकाले बसबाट सामान्य अवस्थामा ओर्लेजति मान्छे पनि ओर्लिन सकेका थिएनन्।
सबै त्रासमा थिए, हतारमा पनि थिए, केही यात्रु झ्यालबाट हाम्फाल्न लागेका देखिए। छरितो शरीर भएका केही त हम्फाली नै सकेका थिए।
केही छरिता ज्यानका मान्छेपछि एउटा मोटो मान्छे पनि झ्यालबाट हाम्फाल्न लागे झैँ देखियो। उसले बल्लबल्ल टाउको छिरायो; अनि ज्यान छिराउन लाग्यो। काँटीमा अल्झेर त्यसको कपडा ध्यार्र च्यातियो; कताकता दर्फरिएछ, रक्तमुछेल भयो र भुँइमा थचारियो।
हामीले हेल्थपोस्टमा पुर्याउँदा ऊ होसमा थिएन।
उसलाई डाक्टरको जिम्मा लगाएर हामी बाहिर बेन्चमा बस्यौँ।
केही समयपछि उसको होस खुलेको जानकारी भयो।
'त्यो बसबाट किन त्यसरी ज्यानकै माया मारेर मान्छेहरू ओर्लिएका हुन्' भन्ने हाम्रो मूल जिज्ञासा थियो।
उसले भन्यो– 'लाइसेन्स पनि नभएको अर्कै मान्छेले हाँकेको रहेछ- बस। जब यो कुरा खुल्यो, हामी सबैको हंसले ठाउँ छाडिहाल्यो नि!'
'समाजका सबै नीतिको मूल नीति हो– राजनीति। राजनीतिबाटै निर्धारित हुन्छन्- समाजका सबै नीति। राजनीतिको शीर्ष पदमा सबैभन्दा योग्य व्यक्ति चाहिने। त्यसलाई अरू विषयविज्ञले परामर्श दिनु पर्ने। हामीकहाँ राजनीतिको शीर्ष पदमा बस्नेको योग्यता कति हो? देश हाँक्नेको योग्यता के हो? हामीले कति योग्य व्यक्तिलाई समाजको 'ड्राइभर' बनाएका छौँ?'
मनभरि हुँडलियो– प्रश्न।
आँङ् सिरिङ्ग भयो।
तर यो प्रश्नोत्तर र छलफलका लागि उचित समय थिएन।
उसको आँखाबाट अझै त्रास उत्रिसकेको थिएन।
Shares

प्रतिक्रिया