मोबाइलको रिङ्गटोन बजेपछि उदयबहादुरले हतपत पाइन्टको खल्तीमा हात हाले। हतारिएर मोबाइल खल्तीबाट निकाले। `कसले फोन गरेछ?´ प्रश्न उब्जियो। उत्साहपूर्वक मोबाइलको स्क्रिनतिर हेरे तर रिसिभ गर्न खास्सै जाँगर चलेन।
खुसी मनले रमाएर उठाउनु पर्ने फोन थिएन त्यो। जहिले पनि आफ्नो काम पर्दा मात्र स्वार्थवश गरिने अझ उदयबहादुरलाई `यो गरिदेऊ र त्यो चिज पठाइदेऊ´ को फर्माइस गर्न मात्र आइलाग्ने फोन थियो त्यो। प्रायः रिङगटोनको दुईतीन घण्टीमै फोन उठाएर टठिलो आवाजमा संवाद गर्ने उदयबहादुर अहिले फोन उठाऊँ कि नउठाऊँ दोसाँधमा परे।
`आज फेरि के काम अह्राउन फोन गरेको होला?´ थोरै रिस पनि उठ्यो। `आ! होस् यत्रै सिति रिसिभ गर्दिनँ´ एक मनले भन्यो। मनै त हो फेरि बदलियो `होइन! अरु नै केही खास कामले गरेको पनि त हुनसक्छ। फोन त उठाउनै पर्छ होला!´
फेरि आफूलाई आतुरी परेर फोन गर्दा हत्तपत्त फोन नउठाइदिने केही कपटी मानिसको चित्र उनको दिमागमा आयो। उनीहरूले फोन नउठाएर त्यसबेला आफूलाई परेको मर्का निष्कपट उदयबहादुरले झलक्क सम्झिए। उनलाई कपटी बन्न मन लागेन। फोन उठाउँने निर्णयमा पुगे तर त्यसबेलासम्म फोन उठाउन ढिला भएर कटिसकेको थियो। मिस्ड कल भएर बसेको कललाई कल ब्याक गर्ने तरखरमा लाग्दालाग्दै फेरि उताबाटै फोन आयो। हातैमा भएको मोबाइल पहिलो घण्टी राम्ररी बजिनसक्दै उनले रिसिभ गरिहाले।
`हजुर दाजु!´ उनले फोनइन कार्यक्रम सुरु गरे। `दाजु!´ भनेर सम्बोधन गरिएको मान्छेलाई पनि उदयबहादुरले `ढोग गरेँ दाजु!´ वा `दर्शन दाजु!´ केही भनेनन्। नमस्कारसमेत गरेनन्। एकै पेटबाट जन्मिएका दाजु भएर औपचारिकता पूरा नगरेका होलान् भन्ने पनि थिएन किनकि फोन गर्ने मानिस र उदयबहादुर सात पुस्ताअघि नै हाँगो फाटिएका दाजुभाइ थिए। अझ उताबाट फोन गर्ने मान्छे धेरैबाट नमस्कार गरिने नेपालको अधिकारीतन्त्रका ठूलै ओहोदामा रहेका व्यक्ति थिए। उदयबहादुरको `हजुर दाजु!´ सम्बोधन पश्चात् ती फोनकर्ताले एकछिन `नमस्कार´ पाउनका लागि आफू नबोली प्रतीक्षा पनि गरेका थिए तर ज्याद्रा उदयले नमस्कारसमेत गरेनन्। `ढोग गरेँ दाजु´ त परको कुरा!
वास्तवमा उनी जो कोहीलाई नमस्कार गर्ने मान्छे होइनन्। मन नपरेका मान्छे जति नै ठूलो ओहोदाको होस्, त्यस्तालाई `बाल मतलब नदिने´ उनको गज्जबको शैली थियो। भित्र मनबाटै आदर उब्जाउने आदरयोग्य मानिस मात्र उनको नमस्कारको काबिल हुन्थे। उनी भन्ने पनि गर्थे, `जसले शिर ठाडो पारेर हिँड्न सक्ने काम गर्छ, त्यसलाई मात्र शिर झुकाउने हो।´
`ए! दाजु म त काठमाडौँतिरै पो छु त।´ फोन गर्ने हाकिमले `कता हो उदय भाइ?´ भनेर सोध्दाको जवाफ उनले दिए।
`ए! बर्बाद भै गो नि। तँ उतै गाँउतिरै हुँदो होस् भन्ठानेको! याँ सानोतिनो जमघटलाई दुईचारओटा लोकल भाले पठाइदिन्थिस् कि भनेर फोन गरेको थिएँ। कुरो बिग्य्रो!´ फोन मै हाकिमले चित्त दुखाए।
हाकिमको चित्त दुखे पनि उदय भने रमाए। झट्ट मनले भनिहाल्यो, `सधैँ सित्तैमा खान पल्केकाले आज भने थाहा पायो!´
`काठमाडौँतिरै रैछस! भोलि मेरातिर आइज न त! दिउँसो तीन बजेलाई जमघट कार्यक्रम छ घरमै।´ हाकिमले औपचारिकता पूरा गर्न यतिको निम्तो चैँ दिइहाले। उदय केही बोल्न खोज्दै थिए तर उताबाट फ्याट्टै फोन कट्यो।
फोनकर्ताले छोटो र रुखो शैलीमा वार्तालाप तुर्याएपछि उदय एकछिन सोचमग्न भए। `मानिसहरू आफूलाई के चैँ ठान्दा हुन्? सबै मानिस चाकरीदार हुँदैनन् भन्ने कुरा यी स्वघोषित ठूलाबडाले कहिले बुझ्ने? अझ मसँग दुईचारओटा लोकल भाले माग्न पो फोन गर्या थेँ भन्छ ए! अरुको पसिनाको उपजलाई बाउको बिर्ता ठान्ने? पैसो दिँदै गरौँला भन्दै धेरैपटकका दसैँमा लगेको घोर्ले खसी, कति पटक मगाएको बोराका बोरा जुनार, सुन्तला कैँयन लोकल कुखुराका जखमले भाले केके चैँ खैराँतमा लगेन होला यसले?´ उदयले फोनकर्ताको अनुहार सम्झिए। उनमा रिस र घृणा एकैपटक उत्पन्न भयो।
उनी उदयबहादुर! अहिले विक्रम संवतको २०८२ साल चलिरहँदा पचपन्न वर्षको उमेरमा रमाइरहेका। अझ भनौँ नागरिकताको प्रमाणपत्रमा लेखिएअनुसार वि सं २०२७ को भदौ ६ मा जन्मिएका, पिता पहलमानसिंह गोदार थापाका छोरा उदयबहादुर गोदार थापा। वर्षौंअघि नै त्रिभुवन विश्वविद्यालय, शङ्करदेव क्याम्पसबाट जारी भएको मास्टर डिग्रीको सर्टिफिकेटले उदयबहादुरलाई प्रथम श्रेणीमा उत्तीर्ण भएको तेजिलो विद्यार्थी ठहर गरेको थियो।
गाउँकै सरकारी स्कुलबाट एसएलसी गरेपछि बुबाको सल्लाहमा `नेपालको पढाइ पढेर तुर्न´ उनी काठमाडौँ हानिएका थिए। साधारण साक्षर भईकन पनि मज्जाले जिब्रो फड्कालेर लय हाल्दै धार्मिक ग्रन्थ पढ्न सक्ने पहलमानसिंह बा´का दृष्टिमा `मास्टर डिग्री ´ को अध्ययन पूरा गर्नु नै नेपालको पढाइ पढेर सकिनु थियो। उनले बाको वचन पूरा गरे। उनले स्नातकोत्तर पूरा गरे।
काठमाडौँमा पढुन्जेलका आठ वर्ष उदयले सधैँ गाउँ सम्झन्थे। गाउँबाट अवसरका खोजीमा हुर्किरहेका मकैका बोट र झुलिरहेका कोदोको कपनी छोडेर सहर हानिएका गाउँलेको लस्कर देख्दा उनी विस्मित हुन्थे। उनलाई गाउँ र त्यहाँका उर्बर माटोमा फुलिरहेका फलका बोटहरू, झुलिरहेका धान, गहुँका बालाहरू, चरुवाको आवश्यकता नै पर्न नदिई पहाडी जङ्गलमा चरी आफैँ अघाएर आइदिने सुदा गाईबस्तु र तीबाट नि:शुल्क प्राप्त हुने गोरसको यादले धेरै सताउँथ्यो।
प्रकृतिको कोमल आत्मीयतामा रमाएका शैलुङडाँडा जस्तै पवित्र मान्छे उदयबहादुरलाई निस्सासिँदो काठमाडौँले कहिले फुस्ल्याउन सकेन। बन्धक बनाएर आफ्नो चाकर बनाउन सकेन। ती आठ वर्ष उनले काठमाडौँमा भएर पनि काठमाडौँसँग लभ नै नगरी बिताइदिए। उनको मनमा एउटै कुरा खेल्थ्यो, `बा´ ले भन्ने गरेको नेपालको पढाइ कहिले तुर्ने? यो खाल्डोबाट मैले कहिले उन्मुक्ति पाउने?´
बेलाबेलाका दसैँतिहार, जाडो र अन्य बिदामा कलेज छुट्टी हुँदा उनी स्कुल छुट्टी भएपछि रमाउने प्राथमिक स्कुलको बच्चाजस्तै रमाउँथे र झटपट झोला भिरेर गाउँ जाने बस समाउन कलङ्कीतिर दौडिहाल्थे। उनका लागि गाउँ जानु भनेको फोक्सोभरि सफा, ताजा अक्सिजन भरेर काठमाडौँले गिजोलिरहेको शरीरमा फेरि नयाँ प्राण भर्नु पनि थियो।
गाउँबाट फर्किएर आएको केही हप्तापछि फेरि उनी उस्तै नोस्टाल्जिक भइहाल्थे। खाने बेलामा गाउँ मिस गर्थे। सुत्ने बेला उत्तरतिरबाट बहँदै उनको गाउँको घरको कोठासम्म आइपुग्ने शीतल बतास मिस गर्थे। हरेक झिसमिसेमै भालेको डाकले जगाउने जाँगरिला मान्छेहरूको परिश्रमी दिनको सुरुवात देख्न नपाउँदा नरमाइलो मान्थे। रेडियो नेपाल जाग्नुभन्दा पहिले नै जागिसकेर बस्तुका पेटमा कुँडो पुर्याइसक्ने बा´ले ध्वाइँ ध्वाईँ पार्दै गाईभैँसी दुहेपछि बल्ल जाग्ने रेडियो नेपालको धार्मिक कार्यक्रम सुन्दै निद्राबाट बिउँझने क्षणहरू मिस गर्थे। हातभरिका चुरा छन् छन् बजाउँदै आमाले दैलो पोतेपछि उज्ज्यालो हुने बिहान मिस गर्थे।
`जाबो सहर! आँत भरिने गरी मोही पिउन पनि नदिने! पाकेटका दूध र दही पनि गोरस नै होलान् र?´सहरप्रति उदयबहादुरलाई वितृष्णा जगाउने चुरो कुरो भने दारको ठेकीमा जमाइएको तरसहितको ढिक्के दही खान नपाउनु र दिउँसोको बेला बाले पारेको मोही पिउन नपाउनु नै थियो। बाले पार्ने त्यस्तो मोही जुन भुइँमा झरिहाले पनि बग्न गाह्रो मान्थ्यो। गाउँको स्वर्गमा रमाएका उदयबहादुरलाई सहर नर्क नै लाग्यो। सारा मान्छेलाई आकर्षित गर्ने सहरले उनलाई कहिल्यै आफ्नो बनाउन सकेन।
मास्टर डिग्रीको थेसिसको भाइबा सक्ने बित्तिकै उनी गाउँ फर्कन हतारिँदै थिए। सहपाठीहरूमध्येको एउटा फुर्तिलो टिमले छुट्टिने बेलामा स्नातकोत्तर गर्दाका साथीहरूको याद भविष्यका लागि सञ्चित गर्न भाइबा सकिएको भोलिपल्टै गोदावरीमा वनभोज कार्यक्रमको चाँजोपाजो मिलाइसकेछन्।
त्यही दिन घर फर्कने मीठो कल्पनामा रमाएर सुत्न लागेका उदयलाई राति नै विनोदले फोन गरे `थापा काजी! (सहपाठीहरू उनलाई यही नामले सम्बोधन गर्थे) भोलि नै घर जाने हैन नि! भोलि गोदावरीमा पिक्निक आयोजना गरिएको छ। मिस गर्नु हुन्न नि।´ भोलि बिहानैको डे बस चढेर साँझसम्म घर पुग्ने र आमाले चुराको सङ्गीत बजाउँदै पकाएको तातो भात खाने योजनामा रहेका उदयले अलिकति दु:ख त माने तर फेरि रोमान्चित हुँदै जिन्दगीमा कहिल्यै नआउने यादगार पलको भागिदार हुनबाट नचुक्ने निर्णय लिए। उनले भोलिको दिनलाई साथीहरूको नाममा नामसारी गरिदिए।
गोदावरीको सुन्दर पिक्निक स्पटमा भर्खरै वाणिज्य शास्त्रको स्नातकोत्तर टुङ्ग्याएर `गेट टुगेदर´ गर्न आएका आसन्न जिम्मेवारी बोक्न काबिल ती विद्यार्थीहरू र साथमा तिनका केही आदरणीय प्राध्यापकहरूको राम्रै जमघट भएको थियो।
खानपान, नाचगान र फोटो सेसन सकेर पिक्निकको बिट मार्ने बेलामा सबैजना हरियो चौरमा गोलबन्द भएर बसे। त्यस जमघटमा प्रमुख आकर्षणका रूपमा अर्थशास्त्रका धुरन्धर विद्वान प्रा. डा. शर्मा स्वयं सामेल थिए। कुनै बेला राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरिसकेका कुशल योजनाकार शर्माले विद्यार्थीहरूको त्यो समूहलाई छोटो तर सटिक सम्बोधन गर्दै `जुनसुकै क्षेत्रमा गए पनि लगनशील भएर काम गर्न अर्ती दिए।´
आफ्नो छोटो सम्बोधन सकिएपछि सेतै फुलेका, बाक्लो सिसा भएको पावरबाला चस्माधारी अर्थविद प्रा. डा. शर्माले एकएक विद्यार्थीलाई `अबको योजना के छ? मलाई एक वाक्यमा भन्नुहोस्,´ भनेर प्रश्न तेर्स्याए। विद्यार्थीबाट पालैपालो जवाफ आउन सुरु भयो। पावरबाला चस्माबाट तिखा आँखाले विद्यार्थीको शिरदेखि पाउसम्म नियाल्दै ध्यानपूर्वक डाक्टर शर्माले जवाफ सुन्दै गए।
जवाफहरू कसैका मिल्दाजुल्दा र कत्तिका त फरक सुनिँदै थियो। केही बैङ्किङ क्षेत्रमा नै करिअर बनाउने, केही लोकसेवा तयारी गर्ने, कोही त्रिवि आयोग भिड्ने भन्दै थिए। केही भने संस्थानको अधिकृतमा लड्ने कुरा बताउँदै थिए। कोही विदेश गएर थप अध्ययन गर्ने त कोही एनजीओ/आईएनजीओतिर लाग्ने भन्दै थिए।
कति त गाउँमा भर्खरै खुलेको टेन प्लस टुमा पढाउन अफर आएकाले त्यतै गएर अध्यापक बन्ने सुनाउँदै थिए। एउटाले त गाविस अध्यक्षमा लड्न प्रस्ताव आएकाले नजिकिँदै गरेको स्थानीय चुनावमा आफ्नो उम्मेदवारी रहने घोषणा नै गर्न भ्याए। भिडमध्येको एकादुईले भने व्यापारतिर लाग्ने बताए।
त्यो जमघटमा लगभग सबैले आआफ्नो योजना चर्चित योजनाकारलाई सुनाउन भ्याए। अब प्रोफेसरको प्रश्नको जवाफ या भनौँ आफ्नो अबको योजना सुनाउन बाँकी एउटै विद्यार्थी थिए `थापा काजी´ अर्थात् उदयबहादुर।
कक्षामा सधैँ फर्स्ट बेन्चमा बस्ने हरेक परीक्षाको टपर विद्यार्थी उनी आज भने जवाफ दिनेमा अन्तिममा परे। प्रोफेसर शर्माले कहिल्यै नबिर्सिने नामको पहिचान बनाएका आफ्नो प्रिय चेलालाई बुलन्द आवाज बनाएर सोधे, `उदयबहादुर गोदार थापाजी! तपाईंको अबको योजना के छ?´
उदय ठिङ्ग उभिए। आफ्ना आदरणीय गुरुको सम्मानमा शिर निहुर्याएर झुके। फेरि शिर ठाडो पारेर एकछिन मौन भई गम्भीर अनुहार बनाए। सहपाठी साथीहरू र बाँकी प्रोफेसर क्याम्पसकै टपर `थापा काजी´ ले के भन्छ होलाको भावमा उनलाई एक टङ्कारले हेरिरहेका थिए। सबैको कान उदयले दिने जवाफ सुन्न छट्पटाइ रहेका थिए।
कोहीकोहीले त राष्ट्र बैङ्कको अधिकृत ताकेको होला या त त्रिविको उपप्राध्यापक नत्र भने निजामतीको अधिकृततिर लाग्छु भन्दो हो भनेर अनुमान गर्नसम्म भ्याए। केही क्षणको उकुसमुकुसलाई चिर्दै भिडको अनुमान विपरीत ठाडै शिरमा तनक्क छाती तन्काउँदै उदयले गर्विलो स्वरमा जवाफ दिए, `कृषि मूलश्च: जीवनम´, पूजनीय किसान पहलमानसिंह गोदार थापाको छोरा म उदयबहादुर गोदार थापा मानिसको पेटमा आहारा पुर्याएर उनीहरूलाई जिउँदो राख्ने सर्वकालिक, सर्वदेशीय महान् पेसा कृषि भएकाले किसान बन्छ…
आज उदयबहादुरलाई गाउँ फर्कनु थियो, तर हिजो मात्र नाताले दाजु पर्ने हाकिमले लोकल भाले मगाउनलाई फोन गर्दा दिएको जमघटको निम्तोमा जाउँ कि जस्तो लाग्यो। उनी अलिकति दोधारमा पनि परे।
`औपचारिकताका पूरा गर्न दिइएको जस्तो त्यो निम्तो नमाने पनि हुन्छ कि?´ फेरि सोचे, `होइन जमघट भनिएको छ! केही विशेष कार्यक्रम पो हो कि? अझ सोचे `कि त खानपिन मात्र हो? होला! हिजो कुखुरोको कुरा भएको पनि त थियो। आ! खानपिनवाला पार्टी मात्र रैछ र खास अरु भेटघाट जस्तो लागेन भने व्रत बसेको छु भन्नुपर्ला र फुत्त उम्केर आउनु पर्ला! होइन, जे भए पनि जान्छु बरु मौका परेछ भने दाजुसँग एकान्त पारेर लिन बाँकी उपजका पैसाको कुरो पनि चुहाउँछु।´
आफ्नो पसिनाको उपजको पाई पाई हिसाब कसैलाई सितिमिति नछाड्ने, हरामको कमाइको सितो पनि नखाने बरु सहयोगको याचना लिएर आउनेलाई दिल खोलेर सहयोग गर्ने स्वाभिमानी उदय त्यो निम्तो मान्न जाने नै भए।
माटोसँग खेलेर हातभरि पौरखका ठेला बोकेका उदय काम गर्दाका बखत धुस्रेफुस्रे भए पनि बाहिरफेरो हिँड्दा ठाँटिएर हिँड्थे। आइरन लगाइएको दौरासुरुवाल,कोट, शिरमा चट्ट छड्केछड्के पारेर लगाइएको ढाकाटोपी, खुट्टामा टिलिक्क टल्किएको छालाको जुत्ता, उनी साँच्चिकै काजी नै भएर हिँड्थे। उनको बुझाइ थियो, `किसान हुँ भन्दैमा लुम्रेझुम्रे भएर हिँड्नुपर्छ भन्ने छैन! आफ्नो बर्कतले आर्जेको सम्पत्तिले राम्रै लाएर ठाँटिएर हिँड्ने हो!´
स्वभावअनुसारै आज उनी हाकिमले आयोजना गरेको जमघटमा ठाँटिएरै जाने भए। हिँड्नेबेला फुर्सदमा बसिरहेको जेठो छोरालाई `आइज केटा! आज मसँग हिँड्´ भन्दै तीन सय पचास सीसीको रोयल एन्फिल्ड बाइक स्टार्ट गरे। एकै छिनमा छोरो तयार भई बुबाको पछाडि आएर बस्यो।
उदयका बाउछोरा कार्यक्रम भइरहेको हाकिम दाजुको निवासमा पुग्दा लगभग सबै निम्तारु आइसकेको झैँ प्रतीत हुन्थ्यो। उनी पुग्दा घरको आँगनमा खचाखच मान्छेहरू देखिन्थे। उदय एउटा कुर्सीमा अदबसँग बसे। छोरो चैँ कुर्सीमा नबसी बाबुको नजिक यताउता टहल्दै थियो।
कार्यक्रमस्थलमा पुगेको केही क्षणमै उदयले त्यो कार्यक्रम हाकिम दाजुभाउजूको वैवाहिक वर्षगाँठको उत्सव भएको पत्तो पाए। उनले त्यहाँ धेरैजसो आफ्नै जिल्लातिरका मानिसहरू देखे। सायद हाकिमले आफ्नै जिल्लाका भनेर होला त्यताका माननीय मात्र नभई मेयरदेखि वडाअध्यक्ष, विभिन्न दलका नेता कार्यकर्ता, ठेकेदारसमेतलाई बोलाएका रहेछन्।
त्यहाँ केही सरकारी अधिकारीहरू, कक्षाकोठामा भन्दा पनि नेताका दैलोमा चाकरी गर्न पुग्ने आफ्नै जिल्लाका अगुवा शिक्षक र प्राध्यापकहरूलाई पनि उदयले देखे। यदाकदा टेलिभिजनमा, पत्रिकामा देखिने अनुहारहरू पनि त्यहाँ थिए। उदयले त्यो भिडमा ठालु मानिएका थुप्रै मान्छे देखे पनि असल मान्छे धेरै नै कम देखे।
उनले केही मनैदेखि आदर उमारिदिने थोरै मानिसलाई मात्र आफ्नो धार्नीको टाउको निहुराएर नमस्कार गरे। पैसाको बलमा चुनाव जितेका आफ्नै क्षेत्रको विधायक, आफ्नै पालिकाको मेयरलाई उनले आँखा जुधेर पनि नमस्कार गरेनन्, बेवास्ता गरिदिए। बाउको यो चाला देखेर सँगै गएको छोरो चैँ छक्क पर्यो।
त्यो समारोहमा एउटा हेर्न लायक दृश्य देखिन्थ्यो, सबै मानिस एक अर्कासँग केही न केही मागिरहेका थिए। कोही ठेक्काको टेन्डर मलाई पारिदिनु पर्यो भन्दै थिए। कोही हात मोलेर फलानो पोस्टमा मलाई नियुक्ति दिनु पर्यो भन्दै थिए। कोही सरुवा माग्दै थिए। कोही आफ्नो दलका लागि चन्दा माग्दै थिए। कोही आसन्न चुनावमा उम्मेदवार बन्न टिकट माग्दै थिए। सबै एक अर्कासँग जेजे माग्न सकिन्छ त्यही त्यही माग्दै थिए।
उदयबहादुरको पच्चीस वर्षको लक्का जवान छोरो लोकमान्य गोदार थापाले मानिसहरूको त्यो भिडमा कसैसँग केही नमागी ठाँटले शिर ठाडो पारेर बसेको र मान्छेको सुगन्ध र दुर्गन्ध पर्गेलेर नमस्कार गर्न सक्ने एकजना मान्छे मात्र देख्यो, आफ्नै पूजनीय किसान पिता उदयबहादुर गोदार थापा।
उसले पूज्य पितालाई अपलक हेरिरह्यो। आफ्नो पिता उसलाई सबैभन्दा स्वाभिमानी मान्छे लाग्यो। उसले मनमनै भर्खरै पढ्न सुरु गरेको आएल्ट्सको किताब च्यात्यो। उसलाई देशभित्रै स्वाबलम्बी बन्न नदिई अमेरिका जान सहयोग गर्ने सबै डकुमेन्ट अन्तर्मनले फ्याँकिदियो। उसले आत्मामै पितालाई शिर झुकाई दण्डवत गर्यो। आफू बाँचेर अरुलाई बचाउने संसारभरिका किसानलाई नमन गर्यो।
भिडलाई एकपटक तिरस्कारपूर्ण नजरले हेर्दै बुबाको नजिक गएर लोकमान्य गोदार थापाले दृढ स्वरमा भन्यो, `बुबा! असारको चटारोमा हामी किसान यसरी बरालिनु हुन्न, खेतमा कति काम बितिसक्या होला! आजै बाबुछोरा घर जाऔँ, बरु गइहालौँ!´
छोराको प्रस्तावको स्वीकृतिमा उदयबहादुरले मुन्टो हल्लाए र पच्चीस वर्षदेखि हाँस्न बाँकी मीठो हाँसो हाँसे।
बर्दिबास, महोत्तरी।
Shares

प्रतिक्रिया