साहित्य


नोबेल विजेता लेखक मो यान अब नेपालीमा

नोबेल विजेता लेखक मो यान अब नेपालीमा

नेपालखबर
असार १, २०८२ आइतबार ११:५२, काठमाडौँ

संस्कृतिविद् सत्यमोहन जोशीले आफ्नो घर पाटनमा भएको एक भेटमा साहित्यकार अमर न्यौपानेलाई भनेका थिए, ‘मो यानले यस वर्ष नोबेल पुरस्कार पाए। तपाईँ जस्तो आख्यानकारले मो यान पढ्नैपर्छ। किनकि, मो यानले दन्त्यकथाहरूलाई अहिलेको समयसँग जोडेर लेख्छन्।’ वयोवृद्ध उमेरमा पुगिसकेका जोशीले मो यानबारे यस्तो भनेदेखि नै आफूलाई मो यानबारे चासो लागेको न्यौपानेले बताए।

‘मो यानका कथा र उपन्यास नेपालीमा आउँदै छन् भनेर कभर देख्नेबित्तिकै पढ्न मन लागेको थियो,’ नेपालयमा आएर पहिलो कपी किन्दै नेपाल प्रज्ञा-प्रतिष्ठानमा प्राज्ञसमेत रहेका साहित्यकार न्यौपानेले भने, ‘छिमेककै विख्यात लेखकले नोबेल पुरस्कार पाएको १३ वर्षपछि बल्ल नेपाली भाषामा आइपुग्यो। यो सुखद् कुरा हो।’

न्यौपाने अहिले प्रज्ञा–प्रतिष्ठानमा आख्यान विभाग प्रमुखसमेत छन्। उनले थप भने, ‘नेपालय जस्ता प्रकाशन संस्थाले आख्यानहरूको अनुवाद–आदानप्रदान बढाउन ठूलो भूमिका खेल्न सक्छ।’

शनिबार बिहान कालिकास्थानमा रहेको नेपालय आरशालामा बेग्लै चहलपहल थियो। साहित्यकार कुमार नगरकोटी मो यानलाई ‘सेलिब्रेट’ गरिरहेका थिए। आफ्ना दुई नयाँ कविता सुनाइसकेपछि उनले मो यानको अनुवाद पुस्तक लोकार्पण गर्दै पुस्तकको आत्मकथा सुनाए।

‘कोरियन ‘ह्वेल’, बुल्गेरियन ‘टाइम शेल्टर’, आइरिस ‘प्रोफेट सङ’, जर्मन ‘काइरोस’ तथा जापानिज ‘ब्रेस्ट्स एन्ड एग्स’ जस्ता किताबहरूले मो यानको लेखन शिल्प, लोक कथात्मक शैली एवम् म्याजिकल इम्याजिनेसनको मुक्तकण्ठले प्रशंसा गरे,’ नगरकोटीले आफ्नो लिखित मन्तव्य वाचन गर्दै भने, 'यो किताबको लेखक नोबेल लरेट मो यान हो। आजकाल नगरकोटी यसैको फ्यान हो।'

मो यानलाई नोबेल पुरस्कार प्रदान गर्ने क्रममा नोबेल कमिटीले भनेको छ, ‘मो यान जादुयी यथार्थवादको माध्यमबाट लोककथा, इतिहास र समकालीन सन्दर्भलाई प्रस्तुत गर्छन्।’

पब्लिकेसन नेपालयको प्रचलनअनुसार हलमा उपस्थितमध्ये कुनै एकलाई पुस्तक उपहार दिएर पुस्तक लोकार्पण गरिन्छ। यही सिलसिलामा अनुवादक सर्वोत्तम श्रेष्ठले अग्रज साहित्यकार भुवन ढुंगानाको नाम लिए। यसरी वक्ताकुमार नगरकोटी, साहित्यकार भुवन ढुंगाना र अनुवादक सर्वोतम श्रेष्ठले पुस्तक लोकार्पण गरे।

मो यान स्वयंले अनुवादक सर्वोतम श्रेष्ठलाई नेपाली अनुवादका लागि आफ्ना कथा र उपन्यासिका छानेर दिएका थिए। चीनमा चिकित्सा शिक्षा पढ्दा अनुवादक सर्वोतम श्रेष्ठलाई चिनियाँ भाषा र साहित्यको रस पस्दै गयो। फलतः श्रेष्ठले चिनियाँ भाषाबाट छ वटा पुस्तक नेपालीमा अनुवाद गरिसकेका छन्। ‘मो यानका रचना विभिन्न भाषामा अनुवाद भइसके पनि नेपालीमा आएका थिएनन्, त्यसैले मैले नेपालीमा अनुवाद गरेँ,’ अनुवादक श्रेष्ठले भने, ‘चिनियाँ ग्रामीण जीवनका सुख–दुःख धेरै हदसम्म नेपालसँग मिल्दोजुल्दो छन्, ती घटनामा लेखकको कल्पनाशीलताले गर्दा कथा जीवन्त बनेका छन्।’

करेसाबारीमा उब्जिएको तरकारीले मात्र हाम्रो आवश्यकता र स्वाद पूर्ति गर्दैन, हामीले बाहिरबाट किनेर ल्याएर पनि तरकारी खानुपर्छ। त्यस्तै, संसारभरको राम्रो साहित्य, संगीत, दर्शन आदानप्रदान हुनुपर्छ भन्दै पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भने, ‘यही वर्ष हामीले भारतीय लेखक फणीश्वरनाथ रेणुको अनूदित पुस्तक ‘सात सालको कथा’ प्रकाशन गर्यौँ भने अहिले चिनियाँ लेखक मो यानको अनुवाद आख्यान प्रकाशन गर्‍यौँ।’

आज लोकार्पण गरिएको पुस्तकमा मो यानका १७ कथा र २ उपन्यासिकासहित १९ आख्यान छन्। ३ सय १९ पृष्ठको पुस्तकको मूल्य ६ सय ७५ रुपैयाँ रहेको छ। पुस्तक शनिबारदेखि नै देशभरका पुस्तक पसलबाट किन्न सकिन्छ। साथै, विश्वभरका पाठकले अमेजनबाट खरिद गर्न सक्छन् भने थुप्रै डट कमबाट भौतिक तथा इ-बुक पनि किन्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad