म खोपीबाट निस्किएर
तिम्रा सपना बिथोल्न
गोहीले आँसु बगाएजस्तो
आँसु बगाएर
राष्ट्रवादी भएको नाटक गरिरहेछु।
म बादशाहले जस्तो
मानिसको झुण्ड बटुली
चिरायूको कामना भनाउँदै
जय जयकारका नारा घन्काउन लगाएर
जुँगामा ताउ लाइबसेको छु।
मेरो विरासत खोसिएको पीडा
मेरो पुर्खाले आर्जेको मुलुक
मेरो आसन
मेरो मुकुट
मेरो दरबार
किन प्रिय लाग्छन मलाई?
मैले निरङ्कुशता लादेर
मलाई हिँड्न दिएको मूलबाटो छोडी
बाटो नबिराएको भए
सायद मेरो विरासत
श्रीमानहरूले जोगाइदिन सक्थे
या
मेरो शिकायत सुनेर
अर्कै बाटो रोज्न सक्थे।
मैले बाटो बिराएर हिँडेपछि
म आफै विक्षिप्त बनेर
शुभकामनाको नाममा
वक्तव्य बाजी गर्दै
कानुनको चौघेरा नाघेर
आफ्नो मर्यादा बिर्सँदै
सत्ताको स्वाद सम्झिएर
मुख मिठ्याइ रहेको छु।
एकहुल प्रतिक्रान्तिकारीहरू
मेरो वक्तव्यलाई
देववाक्य ठानी
सिंहासनको जालो फ्याँकेर
सडकमा उफ्रँदै
नाङ्लो ठटाएर
हात्ती तर्साउन खोजिरहेछन्
म तथास्तु भनिरहेछु।
हात्ती आफ्नो बाटो लम्किरहेछ
नाङ्लो ठटाउँदैमा हात्ती कहाँ तर्सन्छ र?
हात्ती दूरदर्शी बन
आफ्नो गन्तव्य पुग्नलाई
नाङ्लो ठटाउनुको के अर्थ रहन्छ र?
हात्तीले आफ्नो निसानी ढालेपछि।
मलाई थाहा छ
पशुपतिनाथको नाम जप्दैमा
भक्तहरूको कल्याण हुन सक्तैन
वंशविनाश रोक्न नसक्ने
सीमा सुरक्षा गर्न नसक्ने मेरो राष्ट्रियता
नेपालको जयगान गाउन नसक्ने पशुपतिनाथ
तथापि
म अझै भनिरहेछु
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्
जय नेपाल!
Shares

प्रतिक्रिया