साहित्य


दिनेश अधिकारीको ‘पानीको परेड’ कवितासंग्रह सार्वजनिक

दिनेश अधिकारीको ‘पानीको परेड’ कवितासंग्रह सार्वजनिक

नेपालखबर
फागुन २५, २०८१ आइतबार १३:४५, काठमाडौँ

कवि दिनेश अधिकारीको कवितासंग्रह 'पानीको परेड' लोकार्पण गरिएको छ। कवि दिनेश अधिकारीका कविता छापिन थालेको ५० वर्षको अवसर पारेर पब्लिकेसन नेपालयले 'पानीको परेड' प्रकाशन गरेको हो।

‘२०३२ चैतमा ‘रत्नश्री’मा मेरा दुइटा कविता छापिएपछि मेरो काव्यिक परेड सुरु भएको हो,’ पानीको परेड लोकार्पण कार्यक्रममा अधिकारीले भने, ‘पुस्तकका रुपमा 'अन्तरका छिटा' देखि आज 'पानीको परेड' सम्म आइपुगेको छु।’

कवि सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, भूपी शेरचन, वासु शशीको घरलाई प्रमुख काव्यिक गन्तव्य बनाएको पनि कवि अधिकारीले स्मरण गरे। २०३६ सालमा अभिव्यक्ति स्वतन्त्रता, प्रजातन्त्र र बहुदलीय व्यवस्थाको पक्षमा उभिएर अग्रज कविहरु मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरेहरुका साथमा आन्दोलनमा होमिएको स्मरण गर्दै अधिकारीले त्यतिबेला आफ्नो जागिर संयोगले जोगिएको बताए।

‘२०३८ साल भदौमा म सरकारी जागिरे भएँ। त्यही वर्ष माघ २२ गते 'राष्ट्रपुकार' मा विष्णुविभु घिमिरेसँग संयुक्त रुपमा लेखेको ‘समय’ कविता छापियो,’ कवि अधिकारीले सम्झिए, ‘अनि त हामीमाथि १० वर्षसम्म जेल सजाय हुने राजकाज मुद्दामा पक्राउ पुर्जी जारी भयो। बागमती अञ्चलाधीश कार्यालयमा हाजिर भएर बयान दियौं। धन्न ! दिनेश अधिकारीको नामबाट कविता लेख्ने व्यक्ति नै सरकारी जागिरदार दिनेशहरि अधिकारी हो भन्ने सुइँको प्रशासनले पाएन। नत्र मेरो जागिर जाने पक्का थियो।’

आफ्नो ५० वर्ष लामो काव्ययात्राका अनुभूति बाँड्दै गर्दा कवि अधिकारीले कविताबारे आफ्नो दृष्टिकोण पनि सुनाए। ‘कहिले लाग्छ, कविता जीवनको कलात्मक मन्तव्य हो। कहिले लाग्छ, जीवनको विद्रोही वक्तव्य हो,’ उनले भने, ‘कविता शिल्प र कल्पनाको अँगालो त हो नै; यो भावना र विचारको भँगालो पनि हो। समयको छाप सँगसँगै संवेदनाको एकालाप पनि हो, कविता।’ 

यस संग्रहमा अधिकारीले पछिल्लो १५ वर्षयता लेखेका धेरै कविताबाट छानेर ७७ वटा समेटिएको छ। जीवनको ज्वार, आस्थाको आकाश, वक्र-वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र प्रेमको प्रकाश गरी पुस्तकमा सात खण्डमा ७७ कविता छन्।

अधिकारीले आफूभन्दा पछिल्लो पुस्ताका सशक्त कवि मोमिला र नवराज लम्साललाई 'पानीको परेड' पुस्तक उपहार दिएर पुस्तक लोकार्पण गरिएको थियो। ‘आमा’ कविता वाचनबाट आफ्नो मन्तव्य सुरु गरेका अधिकारीले श्रीमती उषा अधिकारीलाई पनि मञ्चमा बोलाएर पुस्तक उपहार दिए।

'अतिरिक्त अभिलेख' कविता संग्रहका लागि मदन पुरस्कार प्राप्त कवि अधिकारीको अघिल्लो संग्रह 'भरियाको भूगोल' पनि नेपालयबाटै प्रकाशित छ।

‘कवि दिनेश अधिकारी अनुभूतिको तीव्र प्रवाहलाई स्वाभाविक–सुललित रुपमा पस्किनुहुन्छ, जसले पाठकको हृदयलाई सहज स्पन्दन गर्छ,’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्य भन्छन्, ‘पानीको परेडभित्रका सात खण्डका सतहत्तर कविता उहाँले हृदयको रङले पोतेको सप्तरंगी क्यानभास हो।’

साहित्यका विधाहरुमध्येमा कविताको बजार कम रहेको मान्यता भए पनि पब्लिकेसन नेपालयले कलात्मक साहित्यिक मूल्य र योगदानको कदरस्वरूप वर्षमा एक काव्य प्रकाशन गर्दै आएको उनले बताए। '२०२४ मा नेपालयबाट कवि विप्लव प्रतीकको हाइकु संग्रह 'शाडेनफ्रोएडा' प्रकाशन भएको थियो भने यो मार्च महिनाको पलेँटीकै अवसरमा कवि गीतकार कालीप्रसाद रिजालको नयाँ पुराना कविता र गीतको संग्रह 'केही मीठो बात गर' प्रकाशन हुने उनले जानकारी दिए।

१८० पृष्ठको 'पानीको परेड' को मूल्य ५२५ रुपैयाँ रहेको छ। पुस्तक देशभरका प्रमुख पुस्तक पसलमा उपलब्ध रहने पब्लिकेसन नेपालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad