नेपालमा प्रजातन्त्र आगमनको ७५ वर्षको पूर्वसन्ध्यामा ‘सात सालको कथा’ लोकार्पण गरिएको छ।
भारतीय लेखक फणीश्वरनाथ रेणुले हिन्दीमा लेखेको ‘नेपाली क्रान्ति–कथा’लाई तुलसी भट्टराईको अनुवादमा पब्लिकेसन नेपालयले यो कृति बजारमा ल्याएको हो।
१०४ वर्षपहिले भारतको बिहारमा जन्मेका लेखक फणीश्वरनाथ रेणु १०४ वर्ष लामो राणाशासन विरुद्धको नेपाली क्रान्तिमा सक्रिय सहभागी भएका थिए। त्यही आन्दोलनमा सहभागी भएर उनले रिपोर्ताज शैलीमा पुस्तक नै लेखे।
‘नेपाली क्रान्ति–कथाले स्वतन्त्रता आन्दोलनको सजीव चित्र प्रस्तुत गरेकाले २५ वर्षअघि नै अनुवाद गर्दै छापेको थिएँ,’ अनुवादक भट्टराईले भने, ‘रेणु र बीपी कोइराला दुवै उदार भावनाले लेख्ने लेखक हुन्। यस पुस्तकले प्रजातन्त्र र स्वतन्त्रताको महत्त्व बढाउँछ।’
विराटनगरमा कोइराला परिवारमा हुर्केबढेका रेणुलाई बीपी कोइराला आफ्ना भाइ नै ठान्थे।
‘हिन्दीका प्रख्यात साहित्यकार रेणु एकदमै आत्मीय बनेर हामीसँगै विराटनगर आए। हाम्रै घरमा बस्न थाले,' रेणुको असामयिक निधन भएपछि बीपीले लेखेका छन्, 'उनी २००७ को क्रान्तिमा होमिए। उनको क्रान्तिकारी प्रवृत्ति एवं अन्याय र दमनको विरोध गर्ने उग्रता मेरै जस्तो थियो। उनी मेरा साना भाइ थिए। साँच्चै उनी मेरै थिए।’
कोइराला दाजुभाइमध्ये तारिणीप्रसादका सहपाठी र समवयी रेणुको पुस्तक तारिणी परिवारकै सदस्य इन्दिरा कोइरालालाई हस्तान्तरण गर्दै पुस्तक लोकार्पण गरिएको थियो। रेडियो नेपाल स्थापनापूर्व नै विराटनगरमा खुलेको प्रजातन्त्र रेडियोको कथामा रेणु र तारिणीको महत्त्वपूर्ण योगदान छ, जुन यस पुस्तकमा चित्रित छ।
अध्येता भाष्कर गौतमले रेणु यो देश र त्यो देश भनेर नछुट्याउने उदार मानवीय लेखक भएको बताए।
‘रेणुका हरेक सृजनामा मानवता र मुक्त अस्तित्व प्रखर रूपमा आएको हुन्छ,’ गौतमले भने, ‘माथि चुरेदेखि तल गंगासम्मको जनजीवन, प्रकृति र संस्कृतिलाई उनी साझा रूपमा हेर्ने दलीय–देशीय सोचभन्दा माथि उठेका लेखक हुन्।’
‘सात सालको कथा’ पुस्तकले नेपाली लोकतन्त्रलाई अझ जीवन्त बनाउन भूमिका खेल्ने पनि गौतमले बताए।
पुस्तकका अनुवादक तुलसी भट्टराईले रेणुको व्यापकता एउटा भाषा वा संस्कृतिको ज्ञानबाट मात्र बुझ्न नसकिने बताए।
धेरै पहिले नै छापिएको पुस्तकको सान्दर्भिकता अझ बढेको भए पनि बजारमा अप्राप्य रहेको महसुस गरेर आफूहरुले अनुवाद पुस्तक प्रकाशन गरेको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यको भनाइ छ।
‘बजारमा अप्राप्य तर पढिन आवश्यक छजस्ता लागेका कृति हामी नेपालय क्लासिक शृंखलाअन्तर्गत प्रकाशन गर्छौं’, उनले भने, ‘प्रजातन्त्र आगमनको ७५ औँ दिवसको सम्मुखमा विराटनगर जुट मिल, प्रजातन्त्र रेडियोसहित चलेको आन्दोलनको प्रमुख स्थान विराटनगरको इतिहासमा केन्द्रित पुस्तक छाप्न पाउनु हाम्रा लागि गौरवको विषय हो।’
जीवनभर स्वतन्त्रताको गीत गाउँदै लेखनमा सक्रिय रहेका फणीश्वरनाथ रेणुलाई भारतीय लेखकमध्ये निक्कै नै माथिल्लो श्रेणीमा राखिन्छ।
१२० पृष्ठको ‘सात सालको कथा’ पुस्तकको मूल्य ३४५ रुपैयाँ छ।
Shares

प्रतिक्रिया