रोएर किन बाँच्ने?
अब हाँसौँ उन्मुक्तिले
मैले हाँसेपछि
नयाँ युग खोजी गर्न
मैले क्षितिज चुम्नै पर्छ
गन्तव्य त टाढै होला
काँडाहरु पन्छाएर
गन्तव्यमा पुग्न पनि
मैले नयाँ यात्रा थाल्नै पर्छ।
बाउआमाका सपनाहरु कति अधुरै होलान्?
दुःख कति चपाउने?
सुखका ढिकीहरु कहिले कुट्ने?
बैचैनीहरु ओखलमा ढुट्याएर
चैनका दिनहरु कहिले काट्ने?
सपनाहरु विपना हुन नसक्दा
विपनाहरु सपना हुन्छन् कसरी?
सपनै सपनाको त रहेछ संसार
विपनाहरु सधै मार्नु पर्ने
मरेको लास हो र जीवन?
सधैँ किन हार्नु पर्ने?
म त जीवनलाई औधी माया गर्छु
जीवन फूल जस्तै त रहेछ नि
ओइली झर्लान् फूलहरु
उसको जीवन मर्ला फेरि
चौतारी कुरी बसेकै छु
साथीभाइ आउलान् भनी
धुरु धुरु रुन्छौ किन?
तिम्रो बाटो कसले छेक्छ?
दुःख सुख साटी बसौँ
धेरै दिनमा भेट भो
हाँसी खुसी बाँच तिमी
तिम्रो माया लागेकै छ
गाउँ घर पनि शून्य होला
तिमी हामी हिँडे पछि।
गाउँघरको माया पनि मुटुमा गढेकै छ
देउरालीमा बसेर
सिम्माको हात समाएको अहिले जस्तो लाग्छ
घाँस दाउरामा होली सिम्मा
के सोच्दै छे कुन्नि?
मलाई सम्झी रुन्छे रुन्न
म त उसकै मायामा
हराएँ जस्तो लाग्छ।
बाउआमाको ओठमा हाँसो ल्याउनु पर्ने
सिम्माले पनि त साथ देली नि
अजङ्गको पहाड चड्दा खेरी
पहाड उक्ली देउराली झर्नै पर्छ
देउरालीमा ढुङ्गा चढाई
कुइनेटोहरु पार गर्नु पर्ने
खोला खोल्सा तर्दै तर्दै
सात समुद्र नि तर्नै पर्ने।
तिमी घर देशमा के गर्दै छेऊ?
म त परदेशमा घन हान्दै छु
नुनको सोझो नगरी हुन्न
पसिना तरतरी बगेको छ
एकै निमेष फुर्सत छैन
ओइ सिम्मा!
म त तिमीलाई नै सम्झी बसेको छु
मुटु दुख्छ घरीघरी
छाती पोल्छ त्यसैगरी
बिरामी भन्न पाइन्न
घन हान्न पर्छ उसैगरी
भोकको ज्वाला दन्कँदो छ
जति रोए पनि।
भोकको युद्ध कति लडौँ?
जुगौँ जुग देखि
हुने खाने नभएरै होला
हुँदा खाने मात्रै भयौँ हामी
असमानताका खाडलहरु कसले खन्यो कुन्नि?
समानताका गीत गाई
असमानताका विरुद्ध युद्ध लड्ने कसले?
युद्ध जित्नै पर्छ
मोर्चामा लामबद्ध हुँदै गर्नु
आवाजहरु एकत्रित गरौँ
पाइलाहरु सँगसँगै चाल्नु पर्ने
हातेमालो गरी उठौँ
नत्र युद्ध जित्न सकिँदैन।
घर फर्कने मिठो सपना पनि देखेकै छु
बाउआमाको बुढेसकालको सहारा बन्नु पर्ने
साइत जुराएर सिम्मासँग घरजम गर्नु पर्ने
गाउँघरले मेरो होस्टे हैँसे खोजेको नै होला
होस्टे हैँसे गर्नु पर्ने मैैले
दौँतरीहरु निस्ताइ सके
दौँतरीहरुको नियास्रो पनि त मेट्नु पर्ने मैले
ओइ सिम्मा!
पर्खी बस
म फर्कुंला
गाउँलेहरुको ओठमा
खुसीको मुस्कान छर्ने गरी।
Shares

प्रतिक्रिया