थाहा दर्शनका अभियन्ता रूपचन्द्र विष्टको जीवनमा आधारित आख्यान ‘रूदाने’ सार्वजनिक भएको छ।
शिल्पी थिएटरमा आयोजित कार्यक्रमबीच पुस्तकको विमोचन गरिएको हो।
लेखक टंक चौलागाईंले रूपचन्द्रको जीवनका विभिन्न पाटोलाई समेट्दै आख्यान पृथक र कलात्मक शैलीमा लेखिएको बताए। ‘म लामो समयदेखि रंगमञ्च र कथासँग बढी निकट छु। मैले आख्यान लेख्दा बढी न्याय गर्नेछु भनेर यो शैली समातेको हुँ,’ उनले भने।
रूपचन्द्रलाई नजिकबाट चिनेका लेखक श्याम श्रेष्ठले यस आख्यानले रूदानेको जीवनीलाई मसिनो तरिकाले समेटेको बताए। यस पुस्तकमा रूपचन्द्रको जीवनीसहित इतिहाससमेत जोडिएको उनको भनाइ छ।
वक्ता मुक्ता श्रेष्ठले रूपचन्द्रले भुईँका मान्छेदेखि महिलालाई बोल्न जगाएको बताइन्।
‘अहिलेका अधिकांश नेताहरूले रूपचन्द्र विष्टलाई समाएर भोटको राजनीति गरेको छर्लंग छ। उनलाई प्रयोग गर्ने अनि शक्तिमा पुगेका बेला बिर्सने नेताहरू वरपर छन्। रूपचन्द्रले जमिनका मान्छेलाई उठाए र महिलालाई बोल्न जगाएका थिएँ,’ लेखक एवं रंगकर्मी चौलागाईंको यो चौथो कृति हो।
सांग्रिला बुक्सले प्रकाशन गरेको उपन्यास अनलाइनसहित अडियो बुकमा समेत उपलब्ध छ। पुस्तकको मूल्य ७ सय ९५ रुपैयाँ पर्छ।
विसं १९९० सालमा मकवानपुरको उत्तरी गाउँ पालुङमा जन्मिएका रूपचन्द्रले ११ वर्षको उमेरमा आफ्नो घरबाट विद्रोह गरेर हिँडेका थिए।
उनले जीवनभर नेपाली श्रमिक र पिछडिएका वर्गको जागरणका लागि आफूलाई समर्पित गरेका थिए। रूदाने नाम रूपचन्द्र आफैले राखेको उपानाम हो, जसको अर्थ हुन्छ रू-रूप, दा-दामन र ने-नेपाल।
मकवानपुरलाई कर्मथलो बनाएर उनले कृषिमा आधुनिकीकरण तथा सामाजिक कुरीति र कुसंस्कारको विरोधमा अभियान चलाएका थिए।
आफैले लेखेको चुनावी पर्चा बेचेर २०३८ सालमा राष्ट्रिय पञ्चायत निर्वाचनमा उनी राष्ट्रिय पञ्चायतमा एक मात्र गैरपञ्च सदस्यको रूपमा निर्वाचित भए। निरंकुश पञ्चायती शासनविरुद्ध आवाज उठाएपछि उनी पटकपटक राजद्रोह मुद्दा थुनामा समेत परेका थिए।
थाहा आन्दोलनका अगुवा विष्टलाई नेपालमा सूचनाको हकसम्बन्धी अभियानका प्रणेतासमेत मानिन्छ।
Shares
प्रतिक्रिया