ad ad

साहित्य


पञ्चम अधिकारीको ‘प्रवासीको देश हुन्न’ सार्वजनिक

पञ्चम अधिकारीको ‘प्रवासीको देश हुन्न’ सार्वजनिक

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १४:३२, काठमाडौँ

बेल्जियमनिवासी पञ्चम अधिकारीको दोस्रो कृति ‘प्रवासीको देश हुन्न’ कथासंग्रह सार्वजनिक भएको छ।

दुई दशकदेखि युरोपको राजधानी ब्रसेल्सको सेरोफेरोमा बसोवास गरिरहेका पत्रकार पृष्ठभूमिका अधिकारी एक ग्लोबल आईटी कम्पनीमा काम गर्छन्। तर, अन्तर्मनमा उनी एक लेखक र विश्वयात्री हुन्।

भन्छन्, ‘पप-संस्कृति र मिडियाको व्यापक प्रभावले निथ्रुक्क भिजेको समाजमा मानवीय विडम्बना र संवेदनाहरूलाई केलाउँदै कथा लेखनको नयाँ आयाम देखाउने जमर्को यस कृतिले गरेको छ।’

यस कथासंग्रहमा घरदेश र परदेशका परिवेशमा बुनिएका १४ कथाको सँगालो छ। युरोपका नेपालीबारे लेखिएका यस संग्रहका कतिपय कथामा मातृदेशको याद, युवावस्थाको पुरानो सम्झना,  र बहुसंस्कृतिवाद एवं विश्वबन्धुत्त्वको भाव पाइन्छ। निष्ठामा बाँच्नेहरूको कहानी छ।

अमेरिकामा हुर्केको नेपाली बच्चाले नेपाल फर्कंदा कायम राखेको ‘सानो सेक्रेट’, न्युयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’ को बच्चा पाउने रहर, हाइस्कुले आइकन ‘लोकल हिरो’, गुन्डासँगको प्रेम र ब्रेक-अपमा ‘घातक आकर्षण’, काठमाडौं एयरपोर्टमा ‘प्रवासीको देश हुन्न’ भन्ने आत्मज्ञान, प्रवासमा महिलाको यौन शोषण ‘तिम्रो लोग्ने खै?’, राजा महाराजाको कथा भन्ने ‘पिकासो केटी’, एक होनहार प्रतिभाको अन्त्य ‘यो बर्बादी’, प्रेममा आत्म-खोज गर्दै ‘इपिसेन्टर पालुङटार’, तिमी सम्बोधनमा कथिएको यौनकथा ‘तिम्री स्वास्नी’, ढोँगी जीवनको मनोब्लग ‘इडियट’ लगायतका कथाहरू यस संग्रहमा समेटिएका छन्।

पारम्परिक रूपमा लेखिँदै आएका नेपाली आख्यानको प्रवृत्तिभन्दा भिन्न धारमा अधिकारीका कथाहरू छन्। अतियथार्थवाद र  यदाकदा जादुयी यथार्थवाद एवं मेटा फिक्सनको मिश्रित प्रयोग यसमा पाइन्छ ।

अधिकारीको यसअघि ‘पथिक प्रवासन’ उपन्यास प्रकाशित छ।

‘प्रवासीको देश हुन्न’ शिखा बुक्सले प्रकाशन गरेको हो। पुस्तकको मूल्य नेपालमा ४२५ रूपियाँ र विदेशमा ७ युरो वा डलर राखिएको छ। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .