ad ad

साहित्य


राजुको ‘ओ पेङ्दोर्जे’ र हिरण्यको ‘मुसुक्क म’ सार्वजनिक गर्दै नेपालय

राजुको ‘ओ पेङ्दोर्जे’ र हिरण्यको ‘मुसुक्क म’ सार्वजनिक गर्दै नेपालय

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १६:२८, काठमाडौँ

पब्लिकेसन नेपालयले एकसाथ दुई पुस्तक सार्वजनिक गर्ने भएको छ। नेपालयले केही दिनमै कविता संग्रह ‘ओ पेङ्दोर्जे’ र हिरण्य भोजपुरेको ‘मुसुक्क म’ सार्वजनिक गर्न लागेको हो।
 

युवाकवि राजु स्याङ्तानले लेखेका कविताहरुको संग्रहभित्र छ वटा फरक खण्ड छन् भने तिनमा ५१ वटा कविता अटाएका छन्।

समाजशास्त्रका विद्यार्थी राजु पेशाले कलमजीवी हुन्। पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा उनको सक्रियता रहँदै आएको छ। आफ्नो कलमबाट सिमान्तकृत समुदाय, भूमिहरणसम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङ गरिरहेका राजुको यो पहिलो कविता संग्रह हो।

महोत्तरीको खयरमाराबाट अवसरको खोजी गर्दै राजधानी आएका राजुले १ सय ५१ पृष्ठको पहिलो कृतिमै समकालीन नेपालका अत्यन्त कष्टकर क्षणहरुलाई अक्षरले उभ्याउन सफल भएका छन्।

यो पुस्तकलाई पब्लिकेसन नेपालयले एकसाथ छापा र इ–बुक मात्र नभइ ‘अडियो बुक’ का रुपमा समेत सार्वजनिक गर्ने तयारी गर्दैछ। राजुको ‘अडियो बुक’ मा स्वयं कवि, गायक तथा संगीतकार आभाषको धुन पनि रहने छ।

नेपाली संगीतको फाँटमा परिचित नाम हिरण्य भोजपुरेले साढे पाँच दशकअघि सांगीतिक समूह ‘लेकाली’ जन्माएका थिए। भोजपुरस्थित ट्याम्के डाँडाको ओतमा जन्मे हुर्केका ती तन्नेरीहरुको योगदानले आजसम्म पनि नेपाली संगीतलाई प्रभाव पारिरहेकै छ। 

२०२२ सालमा ‘छहराको गीत’ लेखेर गीतकारका रुपमा परिचय बनाएका भोजपुरेले त्यसयता गायकबाहेक कवि, गीतकार, कथाकार, उपन्यासकार जस्ता सिर्जनाकै विविध क्षेत्रबाटै आफूलाई चिनाउँदै आएका छन्। साहित्य र संगीतमा यसरी समानान्तर ढंगले क्रियाशील सर्जक भोजपुरेले यसपाला भने लघुकथा विधामा आफुलाई प्रस्तुत गरेका छन्।

यस पुस्तकमा सय वटाभन्दा बढी लघुकथाहरु संग्रहित छन्। तीमध्ये अधिकांश कथाहरु एउटै पानामा सकिएका छन्। यसरी एक बसाइमै सर्सर्ती पढ्न सकिने यो रमाइलो पुस्तक भोजपुरे स्वयंको व्यक्तित्वजस्तै रसिलो अनि स्वादिलो भएको नेपालयले जनाएको छ।

यी दुवै पुस्तक निकट भविष्यमै लोकार्पण गरिने जानकारी पब्लिकेशन नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .