बुद्धिसागरलिखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो। गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरे।
पुस्तक सार्वजनिक भएपछि लेखक बुद्धिसागरले आफू निकै भावुक भएको बताए।
‘बिहान उठ्दा एकदमै आत्मविश्वासी थिएँ। तर बाटोमा आउँदा आउँदै डर लाग्न थाल्यो। प्रज्ञा प्रतिष्ठानको गेटमा आइपुग्दासम्म खुट्टा नै काँपेको महसुस भयो,’ उनले भने।
बुद्धिसागरले पाठकसँग भेटिनु आफ्ना लागि लेखनको ऊर्जा रहेको पनि उल्लेख गरे। लेखकले कथा कल्पँदा पाठकले पात्र पाउने र पाठकहरूले कथा पढ्दा लेखकले अनेक अनूभूति पाउने उनको भनाइ छ।
‘यो लेनदेन चलिरहन्छ र मेरा लागि यो संसारकै मिठो लेनदेन हो, यो चलिरहोस्,’ उनले भने।
यसअघि बुद्धिसागरका ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यास एवम् ‘बुद्धिसागरका कविता प्रकाशित छन्। ‘एक्लो’ उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो।
प्रतिक्रिया