चितवन घर भएकी ४८ वर्षीया सुनिता कार्की (नाम परिवर्तन) आत्तिँदै अस्पताल पुगिन्।
सुनितालाई निद्रा नलाग्ने, कहिले जाडो, कहिले गर्मी महसुस हुन लागेको महिनौँ भएको थियो। उनी सुरुमा मानसिक रोग विशेषज्ञमा पुगिन्।
चिकित्सकले काउन्सिलिङ गरे। कुनै तनाव छ कि भनेर बुझ्न थाले। उनले केही महिनादेखि झर्को लाग्ने, सानो कुरामा रिस उठ्ने, निद्रा नलाग्दा मनमा कुरा खेल्न थालेको चिकित्सकलाई बताइन्।

चिकित्सकले निद्रा लाग्ने औषधि दिए। औषधिले उनको निद्रा नलाग्ने समस्या समाधान त भयो। तर सानो सानो कुरामा रिसाउने, झर्को लाग्ने समस्या भने कम भएन।
सुनिताको महिनावारी नियमित हुन पनि छाडेको थियो। महिनावारी हुँदा पेट असाध्यै दुख्ने, अत्यधिक रगत बग्ने समस्याले सताउँथ्यो।
उनले आफ्नो समस्या परिवारमा सुनाइन्। परिवारका मान्छेले सहयोग गर्नुको सट्टा उल्टै डर देखाए। पाठेघरको क्यान्सर भएको होला भनिदिए। क्यान्सर शब्द सुनेपछि डराउदै फेरी अस्पताल पुगिन।
अस्पताल पुगेपछि थाहा भयो समस्या अर्कै रहेछ। उनलाई रजोनिवृत्ति अर्थात् ‘मेनोपज’ भएको रहेछ।

चिकित्सकले महिनावारी सुक्ने बेला यस्तै हुन्छ, आत्तिनुपर्दैन भने। त्यसको एक वर्षपछि उनको महिनावारी बन्द भयो। देखिएका लक्षणहरू बिस्तारै हराउँदै गए।
काठमाडौँ बस्ने ३८ वर्षीया कमला थापाको (नाम परिवर्तन) ८ महिनादेखि महिनावारी रोकियो। उनले २ वर्षदेखि स्तन क्यान्सरको उपचार गराइरहेकी थिईन्। कमलाको नियमित हुने महिनावारी रोकियो। केही कुरामा रूचि नलाग्ने, एकान्तमा मात्रै बस्न मन लाग्ने जस्ता लक्षण पनि देखिन थाल्यो।
महिनावारी रोकिएपछि उनी पाठेघरमा पनि क्यान्सर भयो कि भनेर आत्तिइन्। उपचार गराइरहेको चिकित्सककहाँ पुगिन। चिकित्सकले प्रसूति तथा स्त्री रोग विशेषज्ञ कहाँ जान भने।
चिकित्सकलले ‘प्रिमच्योर मेनोपज’ भएको भने। क्यान्सर उपचारमा प्रयोग हुने किमोथेरापीका कारण महिनावारी छिट्टै सुकेको बताए।
स्त्री रोग विशेषज्ञहरूका अनुसार रजोनिवृत्ति (मेनोपज) महिलाहरूको महिनावारी स्थायी रूपमा बन्द हुने प्राकृतिक अवस्था हो। सामान्यतया १२ महिनासम्म लगातार महिनावारी नभए त्यसलाई मेनोपज भनिन्छ।
यो प्रायः ४५–५५ वर्षको उमेरमा हुन्छ। यो समयमा अण्डाशयमा अण्डा उत्पादन बन्द भएर प्रजनन् हर्मोन ‘एस्ट्रोजन’मा कमी देखिन्छ।
औसत उमेर करिब ५० वर्ष मानिन्छ। केही महिलामा ४० वर्षअघि पनि हुन सक्छ, जसलाई ‘प्रिमच्योर मेनोपज’ भनिन्छ।
महिलामा महिनावारी सुकेपछि प्रजनन् क्षमता समाप्त हुन्छ। यही कारण हर्मोनमा गडबडी आउँछ। जसकारण महिलाहरू चिन्तित हुने र उनीहरूमा नकारात्मक धारणा उत्पन्न हुने चिकित्सकहरू बताउँछन्।
के हो मेनोपज?

हरेक महिलाको जीवनमा महिनावारी (रजस्वला) एउटा महत्त्वपूर्ण र प्राकृतिक चरण हो। यो प्रजनन् उमेरको सुरुवात र अन्त्यसँग जोडिएको हुन्छ। महिनावारी औसतमा १२ देखि १३ वर्षको उमेरमा सुरु हुन्छ।
महिनावारी प्रजनन् हर्मोनका कारण हुन्छ। मस्तिष्कले निकाल्ने हाइपोथालामस, पिट्युटरी ग्रन्थी र अण्डाशयबाट निस्कने एस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनका कारण हुन्छ।
उमेर बढ्दै जाँदा शरीरमा बोसोको मात्रा बढ्छ र मस्तिष्कले यी हर्मोन उत्पादन गर्न संकेत दिन्छ। यसले अण्डाशयमा अण्डा परिपक्व हुन थाल्छ। गर्भाशयको भित्री तह (एन्डोमेट्रियम) मा अण्डा तयारी हुन्छ। यदि सो समयमा पाठेघरमा गर्भधारण भएन भने यो तह खस्छ। जसलाई महिनावारी भनिन्छ। यो प्रक्रियाले महिलाको पाठेघर परिपक्क हुदै गएको बुझाउँछ।
यो प्रक्रिया महिला ४५ वर्ष नहुँदासम्म चलिरहन्छ। ४५ वर्षपछि उमेर बढ्दै जाँदा अण्डाशयमा अण्डाको संख्या घट्दै जान्छ र अन्ततः समाप्त हुन्छ। अण्डाशयले एस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोन कम उत्पादन गर्न थाल्छ। यो हर्मोनको कमीले गर्भाशयको तह बनाउन र खसाल्ने प्रक्रिया रोकिन्छ। महिनावारी स्थायी रूपमा बन्द हुन्छ। महिनावारी पूर्ण रूपमा बन्द हुने अवस्थालाई मेनोपज (रजोनिवृत्ति) भनिन्छ।
यो पूर्ण रूपमा प्राकृतिक प्रक्रिया हो। केही अवस्थामा भने शल्यक्रिया, अण्डाशय निकाल्ने, क्यान्सर उपचार वा अन्य रोगले चाँडै महिनावारी रोकिन्छ। जसलाई प्रिमच्योर मेनोपज भनिन्छ।
मेनोपज सुरु भएको कसरी थाहा पाउने?

चिकित्सकका अनुसार लगातार १२ महिनासम्म महिनावारी भएन भने मेनोपज भएको मानिन्छ। यसअघिको चरणलाई पेरिमेनोपज भनिन्छ, जसमा महिनावारी अनियमित हुन्छ।
महिलामा महिनावारी सुरु हुँदा र बन्द हुँदा दुवै समयमा शरीरमा परिवर्तन हुन्छ। महिनावारी बन्द हुने समयमा महिलाहरू चिन्तित र कमजोर महसुस गर्ने शरीर तातो र चिसो महसुस गर्ने, धेरै पसिना आउने, मुड परिवर्तन हुने निद्रामा समस्या, महिनावारी अनियमित हुँदै अन्ततः बन्द हुने हुन्छ।
त्यस्तै, योनी सुक्खा हुने, खान मन नलाग्ने, रुन मन लाग्ने, चिन्ता लाग्ने, राति निद्रा नलाग्ने वा पातलो निद्रा हुने, रिस उठ्ने जस्ता लक्षण देखिन्छ। यस्ता लक्षण र यसको असर सबै महिलामा समान हुँदैन। सबै महिलालाई यी सबै लक्षण देखिँदैन। कसैले धेरै, कसैले थोरै अनुभव गर्छन्। यी लक्षण केही महिलामा १ वर्षसम्म देखिन्छ। जसका कारण महिना आफूलाई ठूलै रोग लाग्यो कि भन्दै चिकित्सकको मा पुग्ने गर्छन्।
केहीमा निद्रा नलाग्ने समस्या बढेको भन्दै मानसिक रोग विशेषज्ञमा समेत पुग्ने गरेका छन्।प्रसूति तथा स्त्रि रोग विशेषज्ञका अनुसार केही महिलामा भने कुनै लक्षण नै नदेखिई मेनोपज हुन्छ।
मेनोपजपछि जीवनशैली कस्तो हुनुपर्छ?

महिनावारी सुक्नुभन्दा केही वर्ष अगाडिदेखि शरीरमा रहेको हर्मोन ‘एस्ट्रोजन’को मात्रा कम हुन थाल्छ। चिकित्सकका अनुसार एस्ट्रोजन हर्मोन घट्दा हड्डी कमजोर हुने, मुटुको जोखिम बढ्ने, तौल बढ्ने, जोर्नी दुख्ने जस्ता समस्या बढ्न सक्छन्।
जसलाई चिकित्सकीय भाषामा ‘अस्टिओपोरोसिस’ पनि भनिन्छ।
मेनोपजमा हुने हर्मोन गडबडीका कारण महिलाको हाड कमजोर हुन सक्छ। जसका कारण मेनोपज सुरु भएपछि क्याल्सियमयुक्त खानामा जोड दिन चिकित्सक सल्लाह दिन्छन्। हड्डी बलियो बनाउन दूध, दही, पनिर, हरियो सागपात (पालुङ्गो, ब्रोकली), बदाम, तिल, भिटामिन डीका लागि घाममा १५–२० मिनेट बस्ने, माछा, अण्डा खाने गर्नुपर्छ। मासु, माछा, दाल, गेडागुडी, भटमास, ओमेगा–३ युक्त खानेकुरा खानुपर्छ।
स्वस्थ जीवनयापन, सन्तुलित आहार र व्यायाम गरियो भने धेरै समस्याहरू आफैँ कम भएर जाने चिकित्सक बताउँछन्।
चिकित्सकका अनुसार केही महिलामा लक्षण कम नभए हर्मोन रिप्लेसमेन्ट थेरापी दिनुपर्छ।
मेनोपज के हो? कसरी पहिचान गर्ने? लक्षण बढे के गर्ने? भन्ने विषयमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राडा आरजु चन्द सिंहको भिडियो ब्रिफिङः

प्रतिक्रिया