मासुलाई आगोमा सेकाएर वा घाममा सुकाएर सेकुवा बनाएर खाने गर्नुभएको छ?
रातो मासुबाट बनाइने सेकुवा पोल्दा, तेलमा तार्दा, घाममा सुकाउँदा वा प्रशोधन गर्दा धेरै प्रकारका क्यान्सर कारक तत्वहरू ‘कार्सिनोजिन’ उत्पादन हुन्छ, जसले तपाईँमा क्यान्सरको जोखिम बढाउन सक्छ है।
धुवाँमा सेकाएको तेलमा तारेको र प्रशोधन गरेर रसायन मिसाई बनाइएका मासुका परिकार पनि क्यान्सर रोगका प्रमुख कारणमा पर्छन्। मासुलाई ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुँदा हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुने जोखिम बढाउँछ।
खानपान, जीवनशैली र वंशाणुगत रूपमा बढेको क्यान्सर रोग नेपालमा नसर्ने रोगहरूमध्ये पहिलो नम्बरमा पर्छ। विश्वमा धेरै मानिसको मृत्यु गराउने यस्तो रोगमा पनि क्यान्सर नै रहेको छ।
पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीका अनुसार पोलेको मासु, सडेगलेको खाना, तरकारी र फलफूलमा राखिने विषादी क्यान्सर गराउने प्रमुख कारण हुन्।
कार्सिनोजिन पदार्थहरु हाम्रो शरीरमा प्रवेश गरेपछि शरीरका कोषिकाहरु अनियन्त्रित भएर बढ्छन् र त्यसले क्यान्सरको रुप धारण गर्छ।
कार्सिनोजिन नै क्यान्सर गराउने प्रमुख जिन हो।
फलफूललाई लामो समयसम्म बिग्रिन नदिन प्रयोग गरिने औषधि पनि क्यान्सर देखिने कारणमा पर्छ। यसले ठूलो आन्द्रा, पेट र मलद्वारमा क्यान्सर देखिने गरेको डा शाही बताउँछन्।
डा शाही धुलो, धुवाँ, कलकारखानाबाट निस्कने प्रदूषण र धुम्रपानबाट आउने कार्सिनोजिनबाट पनि क्यान्सर देखिने बताए।

क्यान्सर रोग विशेषज्ञ डा शाहीका भनाइमा, मानव शरीरमा अनगिन्ती कोषिकाहरू हुन्छन्। तीमध्ये नयाँ बन्ने कोष र कोषिकाहरूको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डीएनएले नियन्त्रण गरिरहेको हुन्छ। तर, खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोषिकाहरूको वृद्धि अनियन्त्रित भएर जान्छ र क्यान्सर देखिन्छ।
‘जब कार्सिनोजिन शरीरमा पुग्छ, तब शरीरको डीएनएले विभाजन प्रक्रिया बिर्सिन्छ। एउटा कोषिका छिट्टै विभाजन हुन थाल्छ। अनि क्यान्सर देखिन्छ,’ शाही भन्छन् ‘कोषिकाहरूको अनियन्त्रित वृद्धि हुनु नै क्यान्सर हो।’
चिकित्सकका अनुसार, बासी, सडेगलेका, पोलेको खाना खाने व्यक्ति क्यान्सरको बढी जोखिममा हुन्छन्। फलफूल सड्नबाट बचाउन सक्ने औषधि, धुलोधुँवा, कलकारखानाबाट निस्कने धुलोधुँवाका कारण क्यान्सर अहिले मधुमेह, उच्च रक्तचापजस्तै धेरै मानिसमा देखापर्ने रोग छ।
‘हाम्रो जीवनशैलीका कारण क्यान्सर भयावह रूपमा बढिरहेको छ,’ डा शाही भन्छन्, ‘संसारभरमा २०० भन्दा बढी क्यान्सरका प्रकार पत्ता लागिसकेका छन्।’
नेपालमा फोक्सोको क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर, मुखको क्यान्सर र रगतको क्यान्सर बढी देखिएको छ। महिलाहरूमा भने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र डिम्बाशयको क्यान्सर धेरै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति, २०२४–२०३० अनुसार नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी हिस्सा अर्थात् ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुन्छ। यसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरको कारण हुने गरेको छ।
नेपालमा करिब ५ लाख व्यक्ति क्यान्सर रोगी रहेको आकलन छ। मन्त्रालयका अनुसार नेपालमा वार्षिक २० देखि ३० हजार क्यान्सरका नयाँ बिरामी भेटिने गरेका छन्। वार्षिक १५ देखि १८ हजार क्यान्सर रोगीको मृत्यु हुने गरेको छ।
यद्यपि, नेपालमा क्यान्सरको पहिचान र उपचार सम्भव हुँदै गएको छ।
डा शाहीका अनुसार, तेस्रो चरणसम्मको क्यान्सर निको पार्न सकिन्छ। चौथो चरणमा क्यान्सर पत्ता लागेका व्यक्तिको पनि जीवन सहज बनाउन सकिन्छ।
क्यान्सर कसरी भयावह बनिरहेको छ? नेपालमा कुन चरणसम्मको क्यान्सरको उपचार सम्भव छ? यी विषयमा पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीको भिडियो ब्रिफिङ

प्रतिक्रिया