नेपाल सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशैभर एचपीभी भाइरस विरुद्धको खोप अभियान सञ्चालन गर्दै छ। यसले पाठेघरको मुखको क्यान्सरबाट बचाउँछ। अहिले लगाउन लागिएको सिकोलिन नामक खोप हो। यो विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त र औषधि व्यवस्था विभागबाट स्वीकृत खोप हो।
नेपालमा मात्र होइन, संसारभरि नै एचपीभी भन्ने भाइरसले गराउने पाठेघरको मुखको क्यान्सरको रोग लाग्ने दर र मृत्युदर बढ्दै जाने क्रममा छ। संसारभरि नै यसलाई ठूलो समस्याको रूपमा लिइएको छ। यसलाई बढ्दो रोगका रूपमा चिन्ने गरिन्छ।
नेपालमा पनि रोगदर हेर्दा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको उत्तिकै देखिएको छ। तर, मृत्युमा सबैभन्दा प्रमुख कारण पाठेघरको मुखको क्यान्सर छ। नेपालमा औसतमा दैनिक ४ जनाको मृत्यु भइरहेको छ यो क्यान्सरबाट। त्यसकारण अरू देशको तुलनामा नेपालमा अझै बढी छ कि भनेर पनि हेरिन्छ। नेपाल सरकारले यो खोप अभियान सञ्चालन गर्नुको एउटा कारण यो पनि हो।
पाठेघरको मुखको क्यान्सर विरूद्धको अभियानको कुरा गर्दा हामीले तीनवटा ९०/९०/९० भन्ने गरेका छौँ।
पहिलो ९० भनेको कम्तीमा ९० प्रतिशत १० देखि १४ वर्षका किशोरीलाई खोप दिने। दोस्रो ९० भनेको ३० वर्षमाथिका महिलाहरूलाई नियमित रूपमा परीक्षण गर्ने। ५/५ वर्षमा परीक्षण गर्ने भनिन्छ। तेस्रो भनेको परीक्षण गर्दाखेरी कसैलाई क्यान्सर पत्ता लाग्यो भने उहाँहरूको सफल उपचार गर्ने। हामीले रोग निवारण गर्नुपर्छ भनेर यो ९०/९०/९० को लक्ष्य राखेर अघि बढेका छौँ।
यति ठूलो मात्रामा यसविरुद्ध खोप अभियान भने नेपालमा पहिलोपटक सञ्चालन गर्न लागिएको हो। १६ लाख ८८ हजारलाई लक्षित गरेर अहिले हामीले यो खोप कार्यक्रम सञ्चालन गर्दैछौँ।
हाल यो खोप हामीले विद्यालय केन्द्रित गरेका छौँ। कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरूलाई यो खोप लगाइन्छ। विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किशोरीहरूलाई (अन्तिम दिनमा) स्वास्थ्य संस्थामा खोप दिइने छ। र, यो अहिले दिन लागिएको सिकोलिन नामको खोप विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट मान्यता प्राप्त र औषधि व्यवस्था विभागबाट स्वीकृत भएको गुणस्तरीय खोप हो।

खोप कति सुरक्षित?
लाखौँ किशोरीहरूलाई दिन लागिएको यो खोप कति सुरक्षित छ, कति गुणस्तरीय छ भनेर धेरै अभिभावक र स्वयं किशोरीहरूलाई पनि जिज्ञासा हुनसक्छ। मलाई कुनै खोप दिइन्छ वा म कुनै औषधि खान्छु भने मैले कस्तो खालको खोप लगाइरहेको छु, मैले कस्तो खालको औषधि खाइरहेको छु भन्ने बारेमा जान्ने उत्सुकता सबैमा हुन्छ। र, त्यो उनीहरूको अधिकार पनि हो।
यस बारेमा मैले अघि पनि भनेँ, यो सिकोलिन नामको खोप विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त खोप हो। धेरैवटा कम्पनीले एउटै रोग विरुद्धको खोप बनाउन सक्छन्, तर सबैले मान्यता पाउँदैन। सबै मापदण्ड पूरा गरेका थोरैले मात्रै मान्यता पाएको हुन्छ। हामीले अहिले दिन लागेको खोप त्यो थोरैमध्ये मान्यता प्राप्त खोप हो।
यो खोप लगाउने नेपाल पहिलो देश होइन। विश्व स्वास्थ्य संगठनको १९४ सदस्य राष्ट्रमध्ये १४५ देशले यो खोप आफ्नो नियमित कार्यक्रममा समावेश गरेर सञ्चालन गरिरहेका छन् र ती देशका धेरै किशोरीले लगाइरहेका छन्। यो खोप सञ्चालन गर्ने नेपाल १४६ औँ देश हो। अन्य देशले सफल भनेर प्रयोग गरिरहेको खोप नेपालले अहिले ल्याएको हो, त्यसकारण पनि ढुक्क भएर लगाउन सकिन्छ।

एक वर्षअघि सातै प्रदेशका १/१ वटा ठूला अस्पतालबाट डेमो गर्यौँ। स्वीकार्यता हेर्नको लागि। त्यसको स्वीकार्यता धेरै नै देखियो। त्यसबेलामा १० हजार किशोरीले यो खोप लगाउनुभएको थियो। विद्यालयमा यो कार्यक्रम सञ्चालन गर्दा यसको प्रभावकारिता धेरै नै हुने देखियो। यही खोप बाहिर हामीले किनेर लगाउने हो भने साढे ६ हजारभन्दा धेरै पर्छ। सरकारले लाखौँ किशोरीलाई निःशुल्क दिइरहेको छ। पाठेघरको मुखको क्यान्सरविरुद्ध सरकारको यो ठूलो प्रयास र लगानी हो। अहिले हामीले यो कुरा बुझाइरहेका छौँ। शिक्षकहरू मार्फत पनि हामीले यो सन्देश दिइरहेका छौँ।
हरेक विद्यालयसँग हामीले पहिला संख्या निकाल्यौँ, खोप लगाउने किशोरी कति छन् भनेर। त्यो संख्या आइसकेपछि कम्तीमा एउटा विद्यालयबाट एउटा शिक्षकलाई बोलाएर सूचना दिइराखेका छौँ। खोपको महत्त्वका बारेमा शिक्षा मन्त्रालयबाट पनि सूचना गरिसकिएको छ। विद्यालयका लागि काम गर्ने विभिन्न संघसंस्थासँग पनि हामीले अन्तर्क्रिया गरेका छौँ, ताकि सही सूचना सही ठाउँमा पुगोस्।
खोपको निरन्तरता
कुनै पनि अभियान सुरु गर्दा सरकारले त्यसको दिगोपनको बारेमा ख्याल गरेन भने त्यो कार्यक्रम सफल हुन सक्दैन र सरकारप्रतिको विश्वासमा पनि कमी आउन सक्छ। पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीहरूलाई दिइने यो खोपको दिगोपनको बारेमा नेपाल सरकारले सोचेको छ। योजना बनाएको छ।
हामी यो वर्ष विद्यालयमा रहेका कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्षका किशोरीलाई यो खोप दिन्छौँ भने अर्को वर्षदेखि कक्षा ६ का छात्राले यो खोप पाउनेछन्। अर्थात् अहिले ५ कक्षामा रहेका छात्राले अर्को वर्ष यो खोप पाउने भए। त्यसपछि हरेक वर्ष यसरी नै हामी कक्षा ६ का छात्रालाई खोप दिँदै जान्छौँ। हामीले नियमित खोप कार्यक्रममा समावेश गरेर नै यो कार्यक्रम अगाडि बढाइरहेका छौँ।
भिडिओ :
यो खोपले एचपीभीका धेरैवटा भेरियन्टमध्ये क्यान्सर गराउने भेरियन्टविरुद्ध काम गर्छ। सबै किशोरीलाई ढुक्क भएर खोप लगाउनु हुन अनुरोध गर्दछु। यसले तपाईंलाई क्यान्सर लाग्नबाट बचाउँछ। भोलि हुने ठूलो स्वास्थ्य जोखिमबाट बचाउँछ। साथै किशोरीहरूले आफ्ना आमाहरूलाई नियमित रूपमा परीक्षण गर्नुपर्छ है भन्ने जानकारी गराउनुपर्यो भने आमाहरूले किशोरीहरूलाई खोप लगाउन लैजान पर्यो। यसरी दुवै तरिकाबाट अभियान सफल भयो भने मात्रै हामीले यो रोगलाई घटाउन सक्छौँ।
खोप लगाइरहँदा ध्यान दिनुपर्ने कुरा के हो भने यो खोप गर्भवतीले लगाउन हुँदैन। कोही किशोरी टिनएज प्रेग्नेन्सीमा हुनुहुन्छ र उहाँले यो कुरा भन्नुभएको छैन भने उहाँले खोप लगाउन हुँदैन। धेरैको अर्को जिज्ञासा भनेको, महिनावारी भएका बेला खोप लगाउन हुन्छ कि हुँदैन भन्ने पनि छ। महिनावारी भएका बेला खोप लगाउन सकिन्छ। यसले केही बाधा पार्दैन। अन्य खोप लगाउँदा जसरी सामान्य खालका केही रियाक्सन देखिन्छ, यसमा पनि त्यस्ता खालका रियाक्सन हुन सक्छन् तर त्यो निको भइहाल्छ।
(डा. अभियान गौतम बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख हुन्)
Shares

प्रतिक्रिया