ad ad

जीवनशैली


सुषुप्त हृदयाघात के हो? कसरी जोगिन सकिन्छ?

सुषुप्त हृदयाघात के हो? कसरी जोगिन सकिन्छ?

(डा. राजभण्डारी काठमाडौं थापाथलीस्थित ब्लुबर्ड इन्टरनेशनल क्लिनिकका सिनियर कन्सल्ट्यान्ट कार्डियोलोजिस्ट हुन्)


डा. राजिव राजभण्डारी
फागुन ३, २०८० बिहिबार १०:११, काठमाडौँ

मुटुका मांसपेशीहरू निष्क्रिय हुने अवस्थालाई हृदयाघात भनिन्छ। यसरी निष्क्रिय भएका मांसपेशीहरूबाट उत्पन्न हुने अनियन्त्रित चालहरूबाट मुटुको गति बन्द भई मृत्यु समेत हुनसक्छ।

यसरी पहिलो घण्टामा ५० प्रतिशत भन्दा बढी मानिसको मृत्यु हुनसक्छ। यसकारण चाँडो नजिकको अस्पतालमा बिरामीलाई पुर्‍याउनु जरुरी हुन्छ। तथ्याङ्कअनुसार विश्वमा मृत्युका कारक तत्वहरूमा मुटुको रोग पहिलो कारणहरूमा पर्छ। यसको भयावह बढ्दो नै छ। विश्व मुटु महासंघका अनुसार दक्षिणपूर्वी एसियामा यसको प्रकोप अरु देशहरूको तुलनामा धेरै गुणा बढी छ। यसको मुख्य कारण अस्वस्थकर जीवनशैली र वंशाणुगत गुण दुवैलाई मानिन्छ। वंशाणुगत तत्वहरूलाई परिवर्तन गर्न नसकिने भएकोले जीवनशैलीलाई परिवर्तन गर्नुको विकल्प छैन।

विभिन्न अध्ययनहरूको तथ्याङ्क अनुसार जनसंख्याको ५ प्रतिशत वयष्क मानिसहरू मुटुको धमनीको रोगबाट ग्रस्त हुन्छन्। मुटुको धमनीको रोग बढेपछि हृदयाघात हुने गर्दछ। विश्वमा मृत्युको मुख्य पहिलो कारक तत्व पनि यही नै हो। अस्पताल पुग्न नसकेको खण्डमा हृदयाघात भएको एक घण्टाभित्र झण्डै आधा जस्ताको मृत्यु हुने गर्दछ र नेपालजस्तो अविकसित देशमा बिरामीहरूलाई सुविधासम्पन्न अस्पतालमा समयमै पुर्‍याउन असम्भव प्रायः हुन्छ। 

यदि पुर्‍याउन सकिएको खण्डमा पनि हृदयाघात भइसकेपछिको उपचार अति खर्चिलो मानिन्छ। एन्जियोप्लास्टी उपचार जुन हृदयाघातको लागि उत्तम विधि मानिन्छ, अति नै खर्चिलो हुन्छ। त्यसकारण यो रोग लाग्न दिनु भन्दा बचाउका उपाय गर्नु नै बुद्धिमानी देखिन्छ।

बचाउ गर्नुपर्ने खतराजन्य तत्वहरूमा मुख्यतया उच्च रक्तचाप, रगतमा कोलेस्टेरोलको मात्रा, धूमपान, मधुमेह, मोटोपन, वंशाणु, बढ्दो उमेर आदिहुन्। यीमध्ये केहीलाई नियन्त्रण गर्न सकिन्न, केहीलाई सकिन्छ। केही जोखिम तत्वहरू उल्लेख गर्न चाहन्छु।

यी हुन् जोखिम तत्वहरू, कसरी जोगिने?
१४०/९० एमएमएचजी भन्दा बढीको प्रेसरलाई उच्च रक्तचाप भनिन्छ। यो एउटा छुट्टै रोग नभए पनि यसलाई ‘साइलेन्ट किलर’को संज्ञा दिइएको छ। बाहिरबाट कुनै लक्षण नदेखाउने तर सुषुप्त र घातक हुन्छ। २० प्रतिशत भन्दा बढी जनसंख्यामा भेटिने यो अवस्थाले मुटुका धेरैथरि रोग निम्त्याउँछ। 

औषधि समयमै गरिएको खण्डमा पूर्ण रुपले नियन्त्रित हुने यो रोगलाई धेरैले लापरवाही गर्ने गरेको पाइन्छ। औषधि सुरु गरिएको खण्डमा जिन्दगीभर नै औषधि खानुपर्ला भन्ने डरले औषधि नखाई जिन्दगी छोट्याउन पनि तयार रहन्छन् धेरै बिरामीहरू। औषधिहरूको साइड इफेक्ट्स (अन्य असर) हरूको अनुचितत्रासले पनि सेवन नगर्ने गरेको पाइन्छ। कति बिरामीहरूले डाक्टरसँग भन्दा साथीभाइसँग सल्लाह गर्न रुचाँउछन्, यस्तो कुरामा यो नै उनीहरूको महाभूल हो।

मुटुको स्वास्थ्यमा नराम्रो असर पार्ने र एउटै जोखिम तत्व जसको नियन्त्रणले ठूलै फरक ल्याउन सक्ने माध्यम हो धूमपानको नियन्त्रण।

धूमपानले लिन्छ ज्यान भन्ने उखान पनि शतप्रतिशत साँचो हो। आफ्नो आदत मात्र नभई आफूसँगै रहने साथीको पनि बानी सुधार्न अति जरुरी छ। अझ व्यक्तिगत रुपमा मात्र नभई सामाजिक स्तरमा परिवर्तन ल्याउन जरुरी छ। सरकारी स्तरमा पनि धूमपान सेवनलाई हतोत्साहित गर्न जरुरी छ।

मधुमेह रोग अर्को प्रमुख जोखिम तत्वमा पर्छ, जसले मुटुको रोग निम्त्याउँछ तर मधुमेहलाई राम्ररी नियन्त्रण गर्न सकिएको खण्डमा अरु सरह स्वस्थ राख्न सकिन्छ। समयमा मद्युमेहको पहिचान र यसको नियन्त्रणको लागि नियमित व्यायाम र नियमित औषधि सेवन नै यसबाट बच्ने एक मात्र रामवाण उपचार हो।

मधुमेहका बिरामीलाई हृदयाघात हुने सम्भावना धेरै हुन्छ र धेरैजस्तो छाती नदुखाई सुषुप्त तरिकाले हृदयाघात भई मुटुलाई कमजोर गर्दछ। यस प्रकार छाति नदुखी बिरामीले थाहा नपाइहुने हृदयघातलाई सुषुप्त हृदयघाट भनिन्छ। त्यसकारण सबै मधुमेहका बिरामीहरूले ईसीजी गर्नुपर्दछ र आवश्यकता अनुसार टीएमटी गर्नुपर्दछ।

पहिले पहिले स्वस्थ्य शरीरको पहिचान मानिने मोटोघाटो पना साचै भन्नुपर्दा रोगको खानी हो भन्ने बुझ्नुपर्दछ। यसले मुटुदेखि मस्तिष्कसम्म धेरै रोगहरू निम्त्याउँछ। शरीरको उचाइ अनुसार वजन राख्दा मुटु स्वस्थ रहन्छ। सेन्टिमिटरमा उचाइ नाप्दा त्यसमा सय घटाई जति हुन्छ त्यति किलो वजनलाई स्वस्थ मानिन्छ। जस्तो १६५ सेमि उचाइ हुने व्यक्तिको स्वस्थ वजन करिब ६५ किलो मानिन्छ। कमरको गोलाइ पुरुषमा करिब ३६ इन्च र महिलामा ३२ भन्दा बढी हुनु अस्वस्थकर मानिन्छ।

दिनमा करिब ४५ मिनेटको हिँडाइले मुटु र शरीरका हरेक अङ्क चुस्त र तन्दुरुस्त रहन्छ। हाम्रो लागि २४ सै घण्टा कुद्ने मुटु स्वस्थ राख्न हामीले कमसे कम १/२ घण्टा कुद्नु आवश्यक छ।

यी चार जोखिम तत्वलाई नियन्त्रण गर्न सकिएको खण्डमा हामी पूर्णतया स्वस्थ रहन सक्छौँ। जिन्दगीको शक्ति नै मुटुको धड्कनबाट उत्पन्न हुने भएकोले मुटुलाई बचाऔँ र जिन्दगीको शक्तिलाई प्रवाहित गरौँ।

(डा. राजभण्डारी काठमाडौं थापाथलीस्थित ब्लुबर्ड इन्टरनेशनल क्लिनिकका सिनियर कन्सल्ट्यान्ट कार्डियोलोजिस्ट हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .