ad ad

जीवनशैली


जंकफुडले बिगार्छ दाँत (भिडिओ)


डा. पराक्रम पराजुली
साउन २७ , काठमाडौँ

दाँत चिकित्सामा दाँत भर्ने, जरा रोप्ने, कृत्रिम दाँत राख्ने, गिजासम्बन्धी उपचार पर्छन्। दन्त चिकित्सा अन्य उपचारको तुलनामा सहज छ। दन्त चिकित्सकहरूले आफूलाई अप्ठेरो भए पनि बिरामीलाई गाह्रो बनाउँदैनन्। नयाँ उपकरणको प्रयोगसँगै उपचार विधि सहज हुँदै गएको छ।

दाँतको उपचार जहाँ पायो त्यहाँ गर्दा अप्ठेरो हुनसक्छ। हस्पिटल वा क्लिनिकमा दन्त चिकित्सक छ कि छैन, बुझेर मात्रै जानुपर्छ।

उपचार गर्दा पनि पूर्ण रुपमा हुन नसके कहिलेकाहीँ गाह्रो हुनसक्छ। गिजा सुन्निने, दाँत दुख्ने र रगत आउने समस्या पनि देखिनसक्छ। डाक्टरले बिरामीलाई बोलाउँदा बोलाउँदै पनि उपचार आधा गरेर छोड्दा समस्या देखिनसक्छ। आफ्नो उपचार पूर्ण रुपमा गर्नुपर्छ।

दाँतमा रोग लाग्ने कारण
दाँतसम्बन्धी रोग पहिलाको तुलनामा बढ्दै गएको छ। दाँत सफा गर्ने मन्जन, ब्रस नै नहुँदा धेरै मानिसका दाँत स्वच्छ थिए। अहिले धेरैका दाँत बिग्रँदै गएका छन्। यसको कारण पहिला अर्गानिक खानेकुरा मात्रै पाइन्थ्यो। अहिले जंकफुड प्रयोग गर्ने मात्रा बढ्दै गएको छ। अर्गानिक खानेकुराले दाँतसम्बन्धी समस्या कम हुन्छ।

जंकफुडमा पनि सुगर भएको खानेकुरी बढी प्रयोग गर्छौं। दोस्रोमा आफ्नो दाँतको राम्रोसँग ख्याल नगर्दा पनि समस्या भैरहेको हुन्छ। बेलाबेला दाँतको चेकअप नगराउने, हाइजिन मिलाउन नजान्ने कारण दाँतमा समस्या बढ्दै गएका छन्।

कस्तो अवस्थामा कृत्रिम दाँत राख्नुपर्छ?
दाँत दुख्ने केही कारणहरू हुन्छन्। दाँत कीराले खाएको कारण नै बढी दुख्ने समस्या देखिएका छन्। कार्बोनेनेट ड्रिंक्सले (चिसो पेय पदार्थ) दाँत घोटिने, खियाउने समस्या पनि बढ्दै गएका छन्।

दाँतको उपचार अहिले जरा रोप्नेसम्म पुगेको छ। तर प्रकृतिलाई हामी चुनौती दिन सक्दैनौं। प्राकृतिक दाँत जोगाउनु नै सबैभन्दा उत्तम हो। कृत्रिम दाँत राख्ने अहिले सामान्य भैसकेको छ। हाम्रो प्राथमिकता दाँत बिग्रिए पनि उपचार भैहाल्छ भनेर बस्नु हुँदैन। सकेसम्म प्राकृतिक दाँतलाई नै जोगाउनुपर्छ।

व्यवहारगत परिवर्तनले दाँतको रोग कम गराउँछ
दाँतमा समस्या आउन नदिन सधैँ सफा राख्नुपर्छ। ब्रसिङ सबैभन्दा महत्त्वपूर्ण हो। दाँतको ब्रस कति बेला गर्ने भन्ने पनि हुन्छ। सकेसम्म खाना खाइसकेपछि दाँत माझ्नुपर्छ। ब्रस दाँतको बीचमा पुग्दैन। बीचको भाग पनि सफा राख्न फल्लोसर गर्नुपर्छ। अचेल नयाँ प्रविधि आएका छन्।

‘वाटर पिच’बाट पानीको फोहोराले दाँतको बीच, छेउ सबै सफा गर्न सकिन्छ। यी कुराहरू घरमा आफैंले नियमित सहजै गर्न सकिन्छ।

कस्तो अवस्थामा डेन्टल जाने? त्यो बिरामीले थाहा पाउन आवश्यक छ। दाँतमा समस्या आएको जति छिटो थाहा पायो, त्यति नै छिटो डाक्टरकोमा जानुपर्छ। दाँतमा कहिलेकाहीँ लाटो कीरा पनि लागेको हुनसक्छ। लाटो कीरा लाग्दा दुखेको थाहा नपाउने हुन्छ। दाँतमा धेरै नै खाइसकेपछि मात्रै थाहा हुने। त्यसैले समय-समयमा डाक्टरकहाँ चेकजाँच गर्न गइराख्नुपर्छ।

दाँत सिरिङ्ग गर्छ। अलिअलि खानेकुरा अड्किन्छ भने हस्पिटल जानुपर्छ। दाँत अलिअलि दुखे पनि बेवास्ता गर्दा ठूलो समस्या आउँछ। पछि उपचार गर्न जाँदा धेरै खर्च बढ्दै जान्छ।  

दाँतको उपचार विदेशमा सस्तो कि नेपालमा?
युरोप-अमेरिकामा बस्ने नेपाली नेपाल आएको समयमा दाँतको उपचार गराउन चाहन्छन्। त्यस्ता बिरामी धेरै हुने गरेका छन्। नेपालमा दाँतको उपचार सस्तो र सहज भनी नेपालमा गराउँछन्। तर नेपालमै बस्ने नेपाली दाँतको उपचार महँगो छ भनेर हस्पिटल नगई घरमा बस्छन्।

यसलाई दुई पक्षबाट हेर्नुपर्छ। जर्मन, जापान, कोरियालगायत देशमा दाँत बनाउन जुन मेटरियल प्रयोग हुन्छ, नेपालमा पनि त्यही नै प्रयोग हुन्छ। विदेशसँग तुलनात्मक रुपमा हेर्दा नेपालको उपचार पक्कै सस्तो छ। विदेशमा कमाउनेका लागि उपचार सस्तो हो तर नेपालमा आर्जन गर्नेका लागि उपचार महँगो नै पर्छ।

नेपालीको आम्दानी कम भएकाले दाँतको उपचार महँगो लाग्नु स्वाभाविक हो। त्यसैले उपचार समयमै गर्दा थोरै लाग्छ। ढिला गर्दै जाँदा बढी लाग्छ। उदाहरणका लागि थोरै कीराले खाएको समयमा डेन्टलकोमा जाँदा त्यसलाई भरे मात्रै हुन्छ। धेरै कीराले खाइसकेपछि जाँदा कृत्रिम दाँत राख्नुपर्ने अवस्था आउँछ।

दाँतकै कारणले स्वास गन्हाउने हुन्छ
स्वास गन्हाउने मुख्य कारण नै दाँत र गिजा हो। अरु कारण दोस्रा हुन्। जब दाँत कीराले खान्छ। गिजामा फोहोर जमेर ब्याक्टेरिया बढ्दै गएपछि स्वास गन्हाउन थाल्छ। स्वास गन्हाउँदा आफूसँगै अरुलाई अप्ठेरो महसुस हुन्छ। आफ्नो दाँत र मुखलाई सधैँ सफा राख्नुपर्छ।

(डा .पराजुली ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा डेन्टल सर्जन छन्।)

तस्बिर/भिडिओ : सरोज नेपाल

साउन २७, २०८० शनिबार ११:५३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .