जीवनशैली


विश्व स्वास्थ्य आपतकाल : मंकीपक्स के हो, कसरी सर्छ?

विश्व स्वास्थ्य आपतकाल : मंकीपक्स के हो, कसरी सर्छ?

नेपालखबर
साउन ८, २०७९ आइतबार १३:४, काठमाडौँ

बढ्दो मंकीपक्सको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। भारतमा समेत संक्रमण देखिएकाले नेपाल पनि यसबाट अछुतो नरहन सक्छ ।

डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल नै घोषणा गरिसकेको अवस्थामा मंकीपक्सबारे जानकारी राख्न र सतर्कता अपनाउन आवश्यक देखिएको छ ।

यो संक्रमण सबैभन्दा धेरै युरोपेली मुलुकमा देखिएको छ। तर, अमेरिका, क्यानडा, अष्ट्रेलिया, नाइजेरिया, इजरायल, भारत र मेक्सिकोलगायतका मुलुकमा पनि यसको संक्रमण देखिइसकेको छ। विशेष गरी यो संक्रमण मध्य र पश्चिमी अफ्रिकामा देखिने गरेको छ। अन्य केही मुलुकमा पनि बेलाबेलामा सानो संख्यामा यसका संक्रमित फेला पर्दै आएका छन्।

केही समय पहिले दुबईबाट नेपाल फर्किएका २६ वर्षीय एक नेपालीमा मंकीपक्सको लक्षण देखिएपछि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो । ती व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कबाट अस्पताल पठाइएको थियो ।

ती युवकलाई एक हप्तादेखि ज्वरो आएको थियो र उनका शरीरभरि दागहरू देखिएका थिए। तर, रसुवा निवासी ती युवकमा मंकीपक्स नभएर कुष्ट रोग रहेको चिकित्सकको निष्कर्ष थियो । चिकित्सकहरुले अहिलेसम्म नेपालमा मंकीपक्सका बिरामीहरु देखिइनसकेको बताएका छन् ।  

सन् २०१८ मा बेलायतमा पनि यो संक्रमण देखिएको थियो। यद्यपि यो संक्रमण अफ्रिकाबाट आएका मानिसमा देखिएको थियो। पछिल्लो समय भने यो संक्रमण विश्वभर फैलिएको छ।

आखिर मंकीपक्स के हो, यसका लक्षणहरु के कस्ता हुन्छन्, यो कसरी फैलन्छ र यसबाट बच्न के गर्नुपर्छ ? यिनै प्रश्नबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ :   

के हो मंकीपक्स ?

मंकीपक्स एक भाइरल संक्रमण हो। मंकीपक्स नामको भाइरसका कारण यो रोग लाग्छ।

सन् १९५० को दशकमा यो भाइरस प्रयोगशालामा बाँदरमा देखिएको थियो। त्यसैले यसको नाम मंकीपक्स भाइरस रहन गएको हो।

मंकीपक्सका दुई प्रकार छन्। एउटा सामान्य किसिमको पश्चिम अफ्रिकी लहर र अर्को गम्भीर प्रकृतिको मध्य अफ्रिकी वा कंगोको लहर हो।

अहिले फैलिएको मंकीपक्सको संक्रमण पश्चिम अफ्रिकी लहर हुन सक्ने अनुमान छ। तर, अहिलेसम्म सबै मुलुकले यस विषयमा विस्तृत जानकारी भने सार्वजनिक गरेका छैनन्।

मंकीपक्सको इतिहास

मानिसमा मंकीपक्स संक्रमण पहिलोपटक सन् १९७० मा कंगोमा ९ महिनाको बालकमा देखिएको थियो। सन् १९६८ मा यस्तै प्रकृतिको स्मलपक्स संक्रमण उन्मूलन भएको स्थानमा मंकीपक्स देखिएको थियो।

त्यसयता देखिएका अधिकांश संक्रमित ग्रामीण क्षेत्र र कंगोको जंगल नजिकको क्षेत्रमा भेटिएका थिए। सन् १९७० यताका अधिकांश संक्रमण ११ अफ्रिकी मुलुकमा देखिएको थियो।

अहिलेसम्म पनि विस्तृतरुपमा यो संक्रमणको स्रोत, संक्रमण कसरी फैलिने भन्ने प्याटर्न लगायतका विषय भने अझै खुल्न सकेको छैन।

अहिले कहाँ कहाँ फैलिरहेको छ?

मंकीपक्सको संक्रमण अहिले विश्वभर फैलिएको छ। अहिलेसम्म यसबाट १६ हजार १६ संक्रमित थपिएका छन्। जसमध्ये पछिल्लो एक सातामा मात्र ४ हजार १३२ नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्म विश्वका ७५ मुलुकमा यो संक्रमण फैलिएको छ। जसमध्ये सबैभन्दा धेरै संक्रमण युरोपेली मुलुकमा छ। युरोपेली मुलुकमा अहिलेसम्म यसका ११ हजार ८६५ संक्रमित फेला परेका छन्। पछिल्लो सात दिनमा यो क्षेत्रमा २ हजार ७०५ नयाँ संक्रमित थपिएका छन्।

मंकीपक्स कसरी सर्छ?

विश्व स्वास्थ्य संगठनका अनुसार यो संक्रमण धेरै मामिलामा पुरुष–पुरुषबीचको यौन सम्पर्कको कारण सर्ने गरेको पाइएको छ। यद्यपि केही विशेषज्ञहरुले भने संक्रमितसँग निकट सम्बन्ध भएका जोकोहीलाई पनि मंकीपक्सको संक्रमण हुन सक्नेमा जोड दिएका छन्।

डब्ल्यूएचओका अनुसार यो संक्रमण धेरैजसो अफ्रिकी क्षेत्रका मानिसहरुसँग सम्बन्ध भएका र तेस्रो लिङ्गीहरुमा फैलिइरहेको देखिएको छ।

पछिल्लो एक अध्ययनले मंकीपक्सको संक्रमण देखिएका मध्ये करिब ९५ प्रतिशतमा यौनजन्य गतिविधिबाट संक्रमण भएको पाइएको छ। यद्यपि यो संक्रमण एउटा मानिसबाट अर्कोमा सजिलै भने सर्दैन। त्यसका लागि निकट सम्पर्क हुनु जरुरी हुन्छ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार यो संक्रमण अर्को मानिसमा सर्न ठूलो मात्रामा एउटा जीवाणु अर्को मानिसको शरीरमा प्रवेश गर्नुपर्ने हुन्छ। त्यसैले यो संक्रमण केही पर रहेको व्यक्तिबाट हावाको माध्यमबाट सर्ने सम्भावना कम हुन्छ।

यद्यपि छालामा छाला जोडिने किसिमको सम्पर्क, एउटै कपडा, खाट प्रयोग गर्ने, जूठो खानेजस्ता कार्यबाट भने मंकीपक्स सर्ने सम्भावना हुन्छ।

लक्षणहरु

मंकीपक्स लागेका मानिसहरुमा निम्न लक्षण देखिन सक्छ–

·      ज्वरो आउनु

·      टाउको दुख्नु

·      मांसपेशी र ढाड दुख्नु

·      शरीरमा गाँठोहरु देखिनु

·      अत्यधिक थकान महसुस हुनु

·      शरीरका विभिन्न भागमा डण्डीफोरजस्ता विविराहरु देखिनु

उपचार के छ?

अहिलेसम्म मंकीपक्सको उपचारका लागि कुनै पनि औषधि बनेको छैन। तर, पुराना केही खोपले यो संक्रमण नियन्त्रण गर्न सक्ने वैज्ञानिकहरुले बताएका छन्।

विशेषगरी स्मलपक्स नियन्त्रणका लागि बनाइएको खोप मंकीपक्स संक्रमण नियन्त्रणका लागि ८५ प्रतिशत प्रभावकारी हुन सक्ने वैज्ञानिकहरुले बताएका छन्।

स्मलपक्स फैलिँदाको समयमा बनाइएको खोप अहिले उपलब्ध छैन। सन् २०१९ मा स्मलपक्स नियन्त्रणका लागि अनुमति पाएको नयाँ खोप पनि सहजरुपमा उपलब्ध छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .