ad ad

कोशी


इन्द्र आङ्बोको प्रश्न– मुख्यमन्त्री कार्की एमालेको कि गठबन्धनको?

इन्द्र आङ्बोको प्रश्न– मुख्यमन्त्री कार्की एमालेको कि गठबन्धनको?

नेपालखबर
असोज २७, २०८० शनिबार १७:५६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सभा संसदीय दलका नेता इन्द्र आङ्बोले नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आफ्नो कित्ता स्पष्ट पार्नुपर्ने बताएका छन्।

माओवादी नयाँ सरकारमा सामेल हुन्छ कि हुँदैन भन्ने नेपालखबरको प्रश्नमा आङ्बोले भने, ‘पहिला उहाँ एमालेको मुख्यमन्त्री हो कि गठबन्धनको भनेर कित्ता स्पष्ट पार्नुपर्छ । त्यसपछि माओवादी सहभागी हुने–नहुने कुरामा प्रवेश हुन्छ।’

आङ्बो सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका दाबेदार थिए। 

तर, गठबन्धनकै एउटा घटक कांग्रेसका ८ सांसद एमालेको समर्थन लिएर केदार कार्कीको पक्षमा उभिँदा आङ्बो मुख्यमन्त्री बन्नबाट वञ्चित भए।

अब कांग्रेसले एमालेसँग सहकार्य गर्ने कि पूर्ववत् गठबन्धनमा रहने भन्ने प्रश्न पनि यस घटनाले जन्माएको उनको भनाइ छ।

‘नयाँ सरकारको न्यूनतम साझा कार्यक्रम के हुन्छ? त्यसमा एमाले रहन्छ कि रहँदैन? यी सबै कुराले अबको सरकारको स्वरूप निर्धारण गर्ला,’ आङ्बोको भनाइ छ।

आज बिहान मात्र प्रदेश प्रमुख परशुराम खापुङले कार्कीको पक्षमा हस्ताक्षर गर्ने सांसदहरूको सनाखत गरी उनलाई मुख्यमन्त्री नियुक्त गरेका छन्।

नियुक्तिलगत्तै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसकै इतर समूहका नेता शेखर कोइरालाबीच गठबन्धन कायम राख्ने सहमति भएको थियो।

प्रधानमन्त्री दाहालले आजै मात्र चितवन पुगेर मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने धारणा सार्वजनिक गरेका छन्।

‘बिहानको सहमति हुँदा पनि प्रधानमन्त्रीसँग मेरो कुरा भएको थियो। गठबन्धन तलमाथि हुँदैन भन्नुभएको छ,’ आङ्बोले नेपालखबरसँग भने, ‘चितवनमा गएर उहाँले विश्वासको मत दिने भनेको पनि सुनेँ। तर, मुख्यमन्त्रीले पहिला कुन कित्तामा उभिने भन्ने क्लियर गरेपछि मात्र आगामी बाटो थाहा होला।’

तत्काल माओवादी कोशी सरकारमा सामेल हुने सम्भावना नरहेको उनको भनाइ थियो।

‘मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै मैले फोन गरेर बधाइ पनि दिएँ। तर यसबाहेक उहाँसँग पनि अरु केही कुरा भएन,’ आङ्बो भन्छन्।

नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि शपथ लिनेछन्। भोलि नै केही मन्त्रीको पनि शपथ गराउने उनको प्रयास छ। तर, मन्त्रिमण्डलमा एमाले सहभागी हुन्छ कि हुँदैन, माओवादीलाई सामेल गराइन्छ कि गराइँदैन र कांग्रेसको पनि विद्रोही समूह मात्र रहन्छ कि संस्थापन पनि सामेल हुन्छ भन्ने स्पष्ट भइसकेको छैन।

एमाले महासचिव शंकर पोखरेलले सिन्धुलीको एक कार्यक्रममा कार्कीको इमानदारिता कायम रहे एमालेले सधैँ समर्थन रहने बताएका छन्। एमालेको साथ छाडेर पूर्ववत् गठबन्धनमा फर्किए साथ समर्थन नगर्ने चेतावनीका रूपमा पनि यसलाई बुझ्न सकिन्छ।

यसैबीच, पूर्वमुख्यमन्त्री उद्धव थापाले कांग्रेसको कोशी प्रदेश सभा संसदीय दलका नेताको पदबाट राजीनामा दिएका छन्। 

कांग्रेस संस्थापनले अब कार्कीलाई संसदीय दलको नेता बनाएर केन्द्रीय सत्ता गठबन्धनअनुसारकै सरकार बनाउन प्रयास गरिरहेको छ।

तर, शेखर कोइराला संरक्षित कांग्रेसको विद्रोही समूहले पूर्ववत् गठबन्धनमा रहने निर्णय लिन्छ वा एमालेसँगको सहमतिअनुसार पाइला चाल्छ, सबैको चासो यसैमा केन्द्रित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .