कोशी


राजनीतिसँगै कृषि गरिरहेका वडाध्यक्ष

राजनीतिसँगै कृषि गरिरहेका वडाध्यक्ष

नेपालखबर
जेठ १०, २०८३ आइतबार २१:८, विराटनगर

स्थानीय जनप्रतिनिधिहरू प्रशासनिक कार्यमा मात्र व्यस्त हुन्छन् भन्ने आम बुझाइलाई चिर्दै मोरङको बुढीगंगा गाउँपालिका-४ का वडाध्यक्ष शशिकान्त चौधरीले कृषि क्षेत्रमा उदाहरणीय कार्य गरेर देखाउँदैछन्। वडाको कार्यभार सम्हाल्दै उनले आफ्नो फुर्सदको समयलाई उत्पादनसँग जोडेर अनुकरणीय जनप्रतिनिधिको रूपमा आफूलाई उभ्याएका छन्।

​दैनिक वडा कार्यालयको व्यस्त तालिकाका बीच पनि उनले बिहानको समयमा आधा घण्टा मात्रै निकालेर आफ्नै बारीमा श्रम गर्दै आएका छन्।

दैनिक बिहान ४ बजे उठेर क्लब जाने र त्यसपछिको केही समय कृषि कार्यमा खर्चिने उनको नियमित दैनिकी नै हाे। उनले आफ्नो सवा बिघा जग्गामध्ये मात्र सवा कठ्ठामा व्यावसायिकरूपमा लौका खेती गरेका छन्।

बाँकी जमिनमा घरका लागि आवश्यक पर्ने फर्सी, खुर्सानी, करेला, परवल, बैगुन, लट्टे र पाटाको साग लगायतका तरकारीहरू उत्पादन गरेका छन्। यसले गर्दा उनकाे परिवारलाई घरका लागि तरकारी किन्न बजार धाउनु पर्ने बाध्यता हटेको छ।

​वडाध्यक्ष चौधरीले फागुनको अन्तिम सातादेखि सुरु गरेर वैशाखको मध्यसम्ममा सवा कठ्ठा जग्गाबाट मात्रै करिब ६ हजार वटा लौका उत्पादन गरेकाे बताए।

उत्पादित लौकामध्ये पाँच हजारवटा उनले बजारमा बिक्री गरे। बाँकी एक हजार लौका बारीमै आउने आफन्त र साथीभाइहरूलाई उपहारकाे स्वरूप  निःशुल्क वितरण गरेकाे बताए।

सुरुवाती समयमा प्रतिगोटा एक सय रुपैयाँसम्ममा बिक्री भएको लौकाको मूल्य हाल घटेर ३० देखि ४० रुपैयाँसम्म पुगेको छ। लौका बिक्रीबाट मात्रै उनले २ लाख रुपैयाँ बराबरको आम्दानी गरेकाे सुनाए । `बारीमा अझै पनि २ सय गोटा लौका तयारी अवस्थामा छन् भने आगामी १० दिनभित्र थप दुईदेखि तीन हजार लौका उत्पादन हुने क्रममा छन्,´ उनले भने, `लौकाका अतिरिक्त  करिब १० धुर जग्गामा फर्सी खेती समेत गरेकाे छु। सो क्षेत्रबाट उत्पादन भएका १२० वटा फर्सी ३० हजारमा बिक्री गरेँ।´

यद्यपि बजारमा उचित मूल्य र मागको उतारचढावका कारण उनले केही चुनौतीको समेत सामना गर्नुपरेको छ। एक पटक ७–८ सय गोटा फर्सीको गट्टा साप्ताहिक हाटबजारमा पठाउँदा उचित मूल्य नपाई फिर्ता आएपछि उनले बाँकी रहेका फर्सीहरूलाई बजारमा सस्तोमा बेच्नुको साटो घरमै सुरक्षित रूपमा भण्डारण गरेर राख्नु परेको थियाे।

कुनै पनि कामदार वा ज्यामी नराखी आफैँ खटेर कृषि कर्म गरिरहेका वडाध्यक्ष चौधरीको यो प्रयासले मेहनत गरे घरमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने पुष्टि हुन्छ। 

हप्तामा दुई–तीन दिन मात्र बारीमा छिरेर र दैनिक थोरै समय व्यवस्थापन गरेर पनि कृषिबाट राम्रो प्रतिफल लिन सकिने उनको भनाइ छ। जनप्रतिनिधि आफैँ उत्पादन कार्यमा जोडिएको यो कार्यलाई धेरैले सकारात्मकरूपमा अनुसरण गरेका छन्। उनले झण्डै दुई बिघा जग्गा स्थानीय पशुपति सहकारी संस्थालाई व्यावसायिक तरकारी खेतीका लागि दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad