कोशी


निर्माण क्षेत्रको संकट समाधान गर्न कोसीका व्यवसायीको गुहार

निर्माण क्षेत्रको संकट समाधान गर्न कोसीका व्यवसायीको गुहार

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १८:४०, विराटनगर

इन्धन र निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण कोसी प्रदेशको पूर्वाधार विकास ठप्प हुने अवस्थामा पुगेको भन्दै निर्माण व्यवसायीहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

निर्माण व्यवसायी महासंघ कोसी प्रदेशको टोलीले सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारलाई भेटेर निर्माण उद्योग गम्भीर संकटतर्फ उन्मुख भएको भन्दै तत्काल नीतिगत हस्तक्षेपका लागि माग गरेको हो।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा भारी वृद्धि भएको र त्यसको सीधा असर निर्माण क्षेत्रमा परेको व्यवसायीहरूको गुनासो छ।

अन्तर्राष्ट्रिय बजारको बाहानामा बिटुमिन, सिमेन्ट र डण्डीजस्ता अत्यावश्यक सामग्रीको मूल्य समेत अस्वाभाविक रूपमा बढेको र बजारमा कृत्रिम अभाव समेत देखिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

प्रति किलो ८० रुपैयाँमा पाइने बिटुमिनको मूल्य बढेर १९० रुपैयाँसम्म पुगेको तथा प्रति टिपर १२ हजार पर्ने बालुवा–गिटीको मूल्य १८ हजार नाघेपछि निर्माण कार्य अघि बढाउनै नसकिने अवस्था सिर्जना भएको व्यवसायीले बताएका छन्।

महासंघका प्रदेश अध्यक्ष जनसेवक भण्डारीका अनुसार, मूल्यवृद्धिको चपेटाका कारण हाल प्रदेशभरको समग्र निर्माण कार्य २० प्रतिशतमा खुम्चिएको छ भने साना आयोजनादेखि राष्ट्रिय गौरवका आयोजनाहरूसम्म प्रभावित भएका छन्।

व्यवसायीहरूले नेपाल राष्ट्र बैंकको मूल्य सूचकांकले वास्तविक बजार मूल्यलाई प्रतिबिम्बित गर्न नसकेको भन्दै ठेक्काको मूल्य समायोजनमा देखिएको प्राविधिक जटिलता सुल्झाउन माग गरेका छन्। सरकारले विगत दुई महिनादेखि मौखिक आश्वासन मात्र दिएको तर व्यावहारिक समाधान नखोजेको भन्दै उनीहरूले बैंक ग्यारेन्टी, बीमा र म्याद थपको व्यवस्थाका लागि ठोस निर्णय आवश्यक रहेकोमा जोड दिएका छन्। 

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले निर्माण क्षेत्रको संकटले समग्र अर्थतन्त्र र पूर्वाधार विकासलाई असर गर्ने भन्दै यस विषयमा सरकार गम्भीर रहेको र प्राथमिकताका साथ अध्ययन गरी समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले व्यवसायीहरूले उठाएका विषयहरूलाई प्राथमिकताका साथ अध्ययन गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। निर्माण क्षेत्र एवं पूर्वाधार विकासमा देखिएको संकटले सबै क्षेत्रलाई असर पार्ने कार्कीको भनाइ छ।

भौतिक पूर्वाधार विकास मन्त्री सुनुवारले निर्माण क्षेत्रमा देखिएको पछिल्लो समस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad