कोशी


कोसी प्रदेशमा बर्डफ्लु सङ्क्रमण: ५९ हजारभन्दा बढी लेयर्स कुखुरा नष्ट

कोसी प्रदेशमा बर्डफ्लु सङ्क्रमण: ५९ हजारभन्दा बढी लेयर्स कुखुरा नष्ट

नेपालखबर
चैत १२, २०८२ बिहिबार २०:३७, विराटनगर

कोसी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा बर्डफ्लुको सङ्क्रमणले भयावह रूप लिएको छ। नियन्त्रणका लागि प्रदेश सरकार र प्राविधिक टोलीले उच्च सतर्कता अपनाएका छन्।

अहिले भइरहेको बर्डफ्लु सङ्क्रमणको बारेमा कोशी प्रदेश सभामा जानकारी दिँदै कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले सङ्क्रमण थप फैलिन नदिनका लागि हालसम्म ५९ हजार ६ सय ६७ वटा लेयर्स कुखुरा नष्ट गरिएको जानकारी गराए।

कोसी प्रदेश सभाको बिहीबारको बैठकमा सांसदहरूको उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री मन्सुरीले कोसी प्रदेशमा बर्डफ्लुको सङ्क्रमण भयावह रहेको सुनाए। मन्त्री मन्सुरीका अनुसार, ७ हजार ३ सय वटा प्यारेन्ट्स, ५ सय ५० वटा ब्रोइलर र ६ सय ६ वटा स्थानीय जातका कुखुरासहित ७ वटा हाँस नष्ट गरिएको छ।

प‍ंक्षीहरू मात्र नभई ठूलो परिमाणमा पक्षीजन्य उत्पादनहरू समेत नष्ट गरिएको छ, जसमा १ लाख ९ हजार ४ सय २१ वटा अण्डा, ७ हजार ५ सय ५० वटा अण्डाको क्रेट र २१ हजार ७ सय केजी दाना सुरक्षित रूपमा खाल्डोमा पुरिएको विवरण प्राप्त भएको छ।

बर्डफ्लु प्रभावित क्षेत्रहरूमा रोग नियन्त्रण गर्नका लागि सरकारी प्राविधिक र कर्मचारीहरू अहोरात्र फिल्डमा खटिएको जानकारी दिए।

सङ्क्रमण पुष्टि भएका फार्महरूमा किलिङ प्रक्रिया सम्पन्न गरी ती क्षेत्रहरूलाई पूर्ण रूपमा निसङ्क्रमण गर्ने कार्यलाई तीव्रता दिइएको छ।

प्राविधिक टोलीले निरन्तर निगरानी गरिरहेको र उच्च जोखिमयुक्त क्षेत्रहरूमा पक्षीको ओसारपसारमा कडा प्रतिबन्ध लगाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले निरन्तर समन्वय गरिरहेको र यसलाई प्राथमिकतामा राखेको मन्त्री मन्सुरीले जानकारी दिए।

कोसी प्रदेशका १६ वटा फार्महरूमा बर्डफ्लुको समस्या रहेको छ। ‘मोरङको ६ वटा फार्म, सुनसरीको ८, झापाको २ वटा फार्महरूमा सङ्क्रमण फैलिएको छ,’ उनले भने। प्राविधिक कर्मचारीहरू अहिले दिनरात नभनी नियन्त्रणमा खटिएकोमा उनले धन्यवाद दिएका थिए।

संकटग्रस्त क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालय, मोरङले विभिन्न स्थानमा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएपछि पक्षीजन्य पदार्थको ओसारपसारमा पूर्ण रोक लगाउँदै संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

प्रशासनले एक सूचना जारी गर्दै सुन्दरहरैंचा नगरपालिका वडा नं. ४, उर्लाबारी नगरपालिका वडा नं ८, कटहरी गाउँपालिका वडा नं. ६ र विराटनगर महानगरपालिका वडा नं ४ का कुखुरा फार्महरूमा यो रोग देखिएको पुष्टि गरेको हो।

सङ्क्रमण पुष्टि भएका क्षेत्रको २० मिटर वरपरको क्षेत्रलाई ‘सङ्कटग्रस्त’ मानी नियन्त्रणका कार्यहरू अगाडि बढाइएको छ। गृह मन्त्रालय र पशु सेवा विभागको समन्वयमा भएको निर्णयअनुसार मोरङ, सुनसरी र झापा जिल्लाका साथै यी जिल्लासँग सीमा जोडिएका इलाम, धनकुटा, पाँचथर, उदयपुर र सप्तरी जिल्लामा समेत उच्च सतर्कता अपनाउन भनेको छ। 

विशेष गरी सप्तकोसी पूर्वको क्षेत्रमा रोग फैलिन नदिन आगामी दुई हप्ताका लागि पक्षी, अण्डा, मासु र कुखुराको सुली ओसारपसार गर्न पूर्ण प्रतिबन्ध लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जानकारी दिए।

यो रोग मानिसमा समेत सर्न सक्ने जोखिम रहेकाले कृषक, व्यवसायी, उपभोक्ता र सरोकारवाला सबैलाई आवश्यक समन्वय र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। स्थानीय तह, सुरक्षा निकाय र व्यवसायी संघसंस्थाहरूलाई यो नियम कडाइका साथ पालना गराउन समेत पत्राचार गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad