कोशी


झापाका तीन स्थानमा आगलागी, घर र पसल जलेर नष्ट

झापाका तीन स्थानमा आगलागी, घर र पसल जलेर नष्ट

नेपालखबर
फागुन २४, २०८२ आइतबार १८:४५, विराटनगर

झापाका विभिन्न स्थानमा आइतबार भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा करिब ६ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। जिल्लाको गौरीगञ्ज, भद्रपुर र गौरादहमा आगलागी भएको प्रहरीले जनाएको छ।

​गौरीगञ्ज गाउँपालिका–६, भारु चोकमा तुलसी साहको जस्तापाताले बनेको एक कोठे किराना पसलमा आइतबार दिउँसो  विद्युत सर्ट भई आगलागी भएको थियो। आगलागीबाट पसल, भित्र रहेका किराना सामान र ४ हजार नगद गरी २ लाख ४ हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले  जनाएको छ।

​भद्रपुर नगरपालिका–९, बुद्धटोलका मकरध्वज आङदेम्बेको भान्साघरमा दिउँसो चुलोबाट आगो सल्किएर आगलागी भएको छ। जस्ताको छानो र बाँसको चित्राले बेरेको भान्साघरमा आगलागी हुँदा ग्यास सिलिन्डर, अन्नपात, लत्ताकपडा, फर्निचर र एउटा साइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

​आगो प्रहरी चौकी घोडामारा, भद्रपुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा दिउँसो नै नियन्त्रणमा आएको छ। आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

त्यस्तै गौरादह नगरपालिका–७, सूर्योदय टोलका पुष्पलाल चौलागाईंको गाई  गोठमा विद्युत सर्ट भई आगलागी भएको छ।

आगलागीबाट ग्वालीभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो गौरादह नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो। 

​प्रहरीका अनुसार तीनै स्थानमा भएको आगलागीमा मानवीय र चौपाया क्षति भने हुन पाएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad