मोरङको सुनवर्षी नगरपालिकास्थित एक मतदान केन्द्रमा खटिएका कर्मचारीले अभद्र व्यवहार र झगडा गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार,आज साँझ करिब पौने ७ बजेको समयमा सुनवर्षी नगरपालिका(६ मा रहेको पटियापाडा माध्यमिक विद्यालयको (ग) मतदान केन्द्रमा उनलाई खटाइएको थियो।
नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रमा सहायक पाँचौँ तहमा कार्यरत ३७ वर्षीय रंजित सिवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
रंगेली नगरपालिका–२ का स्थायी बासिन्दा सिवाल सो केन्द्रमा निर्वाचन सम्पन्न गराउन खटिएका थिए। उनले मतदान अधिकृत तथा अन्य सहकर्मी कर्मचारीहरूसँग झगडा र गालीगलौज गर्नुका साथै निर्वाचन प्रक्रियामा समेत असहयोग पुर्याएको प्रहरीको भनाइ छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर कार्यालय पुर्याएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए। पक्राउ परेका सिवालमाथि अहिले थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया