नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठकले आसन्न निर्वाचनलाई लक्षित गरी सीमा सुरक्षा र समन्वयलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
विराटनगरमा आयोजित नेपालका मोरङ, झापा र सुनसरी तथा भारतका किशनगञ्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूबीच सम्पन्न यस बैठकले नेपालको निर्वाचनको सुरक्षालाई मुख्य एजेन्डा बनाएको हो।
बैठकले आगामी फागुन २१ गते नेपालमा हुने मतदानको समयलाई मध्यनजर गर्दै मतदान हुनुभन्दा ७२ घण्टा अगावैदेखि सिमानाका पूर्ण रूपमा सिल गर्ने सहमति गरेको छ।
जसअनुसार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र अररियाका जिल्ला अधिकारी (डीएम) विनोद दुहानको सह–अध्यक्षतामा सम्पन्न उक्त बैठकमा निर्वाचनका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न संयुक्त सीमा गस्तीलाई अझ सशक्त बनाउने र सुरक्षा व्यवस्थालाई थप कसिलो पार्ने बैठकले जोड दिएको छ।

यसैगरी दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरू जस्तै तेस्रो देशका नागरिकहरूको अनधिकृत प्रवेश, लागुऔषध तथा मानव बेचबिखन, जाली नोटको कारोबार, हतियार र नगद तस्करी नियन्त्रणका लागि निरन्तर सहकार्य गर्ने बैठकले प्रतिबद्धता जनाएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए।
सीमा क्षेत्रमा हुने कुनै पनि शंकास्पद वा अवाञ्छित गतिविधिबारे दुवै पक्षले तत्काल सूचना आदानप्रदान गर्ने गरी गुप्तचर संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय समेत गरेको छ।
Shares

प्रतिक्रिया