ओखलढुंगाको चुनावी राजनीतिमा नयाँ मोड आएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा एमालेबाट विद्रोह गरेका अम्बिरबाबु गुरुङलाई समर्थन गर्ने निर्णय गरेको छ।
जसपाका केन्द्रीय सदस्य एवं खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाका अनुसार पार्टीको माथिल्लो तहमा भएको सहमति अनुसार ओखलढुंगामा गुरुङलाई एकल उम्मेदवारका रूपमा सघाउने निर्णय भएको हो।
जसपाले आफ्नो उम्मेदवारी ब्याक गराएर ‘कार्यगत एकता’गरेपछि जिल्लामा गुरुङको पक्षमा बलियो माहोल सिर्जना भएको उनको दावी उनको छ। अघिल्लो निर्वाचनमा जिल्लाभरि करिब ६ हजार ५ सय मत प्राप्त गरेको जसपाको यो साथ गुरुङका लागि निर्णायक हुन सक्ने उनको भनाइ छ। हाल जिल्लामा जसपाका १ हजार ३ सय ४० भन्दा बढी सक्रिय संगठित सदस्यहरू रहेका छन्।
पार्टी भन्दा माथि उठेर जिल्लाको समृद्धिका लागि यो निर्णय लिइएको बताउँदै शेर्पाले गुरुङलाई ‘दाग नलागेको र काम गरेर देखाएको नेता’को रूपमा चित्रण गरे।
प्रदेश सांसद र मन्त्री हुँदा जिल्लामा १० अर्बभन्दा बढी विकास बजेट भित्र्याएका गुरुङ एमालेले टिकट नदिएपछि नेपाली कम्युनिस्ट पार्टीको ‘तारा’चुनाव चिह्न लिएर उम्मेदवारी दिएका छन्। ओखलढुंगामा नेकपा एमालेले अस्मिता थापालाई उम्मेदवार बनाएपछि विवाद सिर्जना भएको छ।
Shares

प्रतिक्रिया