भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देखाउँदै विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।
बिहीबार विराटनगरमा सम्पन्न भएको नगर सभाको १७ औँ अधिवेशनले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित बजेटको २० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेको हो।
जेनजी आन्दोलनबाट उत्पन्न परिस्थिति, घरजग्गा कारोबारमा आयको मन्दी, संस्थागत बहाल कर लक्ष्यअनुरूप असुल हुन नसक्नुलगायतका कारण प्रक्षेपण गरिएकोभन्दा महानगरको आय न्यून हुने देखिएको हुँदा चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरिएको उपमेयर शिल्पा निराला कार्कीले बताइन्।
‘वडा स्तरीय बाहेकका विषय क्षेत्रगत तथा नगर स्तरीय योजना कार्यक्रम समायोजन हुने गरी संशोधित बजेट तथा कार्यक्रम गर्न चाहन्छु,’ सत्रौँ अधिवेशनमा उपमेयर कार्कीले प्रस्तुत संशोधित बजेट तथा कार्यक्रममा उल्लेख छ।
चालु आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख आय अनुमान गरिएकोमा साउनदेखि पुस १५ गतेसम्म १ अर्ब १५ करोड ८४ लाख ४८ हजार ३ सय ३५ रुपैयाँ अर्थात् २८.९३ प्रतिशत मात्र यथार्थ आय हुन सकेको छ। यसै गरी कुल अनुमानित व्यय ४ अर्ब ४० लाख अनुमान गरिएकोमा पुस १५ गतेसम्म ७१ करोड ७० लाख ७५ हजार २ सय ८४ रुपैयाँ अर्थात् १७ दशमलव ९० प्रतिशत मात्र व्यय भएको उपमेयर कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ।
खर्चमध्ये पुँजीगततर्फ १४ करोड ४४ लाख ९२ हजार ८६ रुपैयाँ खर्च भएको छ। प्रशासनिक एवं चालु खर्चतर्फ ५४ करोड ८० लाख ८१ हजार ५ सय १५ रुपैयाँ खर्च भएको छ भने वित्तीयतर्फ २ करोड ४५ लाख १ हजार ६ सय ८३ रुपैयाँ खर्च भएको छ।
यसै गरी कुल अनुमानित आयमा आन्तरिक राजस्वतर्फ १ अर्ब ४० करोड अनुमान गरिएकोमा पुस १५ गतेसम्म १९ करोड ८५ लाख ८० हजार २ सय ६४ रुपैयाँ मात्र यथार्थ आय सङ्कलन भएको उपमेयर कार्कीले बताइन्।
त्यसै गरी राजस्व बाँडफाँडबाट प्राप्त राजस्वबाट १ अर्ब १९ करोड २० लाख ३ हजार अनुमान गरिएकोमा १७ करोड ९० लाख ८ सय १८ रुपैयाँ मात्र प्राप्त भएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरण सङ्घीय सरकारतर्फ १ अर्ब १७ करोड ६८ लाख अनुमान गरिएकोमा ६० करोड २३ लाख ९० हजार अनुदान प्राप्त भएको छ।
प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ७ करोड ८५ लाख ९७ हजार अनुमान गरिएकोमा २ करोड ३० लाख ३८ हजार ६ सय १० रुपैयाँ प्राप्त भएको देखिन्छ। सङ्घसंस्था अनुदानतर्फ १ करोड ६६ लाख अनुमान गरिएकोमा ८२ लाख ६६ हजार ५ सय ८२ रुपैयाँ प्राप्त भएको छ। यसै गरी गत वर्षको मौज्दात १४ करोड ९९ लाख २ हजार ५१ रुपैयाँ रहेको छ।
मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको अधिवेशन अत्यन्तै मर्यादित र व्यवस्थित रूपमा विराटनगर महानगरको इतिहासमै सबैभन्दा छोटो समयमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले बताए।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाबीचको एकता र सहकार्यकै बलमा महानगरले पछिल्ला चार वर्षमा चुनौतीपूर्ण परिस्थितिबीच पनि विकास यात्रालाई निरन्तरता दिएको बताएका छन्।
नगर सभाको १७ औँ अधिवेशनलाई सम्बोधन गर्दै मेयर कोइरालाले कार्यकालको करिब चार वर्ष अनेकौँ सङ्कट र कठिनाइका बिच बिते पनि जनअपेक्षाप्रतिको उत्तरदायित्वबाट आफूहरू विचलित नभएको उल्लेख गरे।
‘यो अवधि छोटो महसुस हुनुको कारण जनप्रतिनिधिहरूबीचको आपसी विश्वास, सहकार्य र एकता हो,’ उनले भने, ‘७५३ वटै स्थानीय तहमध्ये विराटनगर जनप्रतिनिधिहरूको सम्बन्ध र सहकार्यका हिसाबले कमजोर छैन, बरु राष्ट्रिय फोरमहरूमा यसको प्रशंसा हुने गरेको छ।’
करिब २ अर्ब रुपैयाँ लगानीमा जाइकाको सहयोगमा सञ्चालित खानेपानी आयोजना ७० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको, सन्ध्याकालीन आरतीलगायतका ठूला परियोजना सञ्चालनको तयारीमा रहेको जानकारी गराए।
Shares

प्रतिक्रिया