कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशको विकास र प्रशासनिक व्यवस्थापनका सम्बन्धमा केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आवास, रोजगारी र कर्मचारी व्यवस्थापन सम्बन्धी निर्णयहरू गरेको हो।
बैठकले ‘कोसी जनता आवास कार्यक्रम कार्यविधि २०८२’ लाई स्वीकृत गर्ने प्रक्रिया अघि बढाएको छ। गरिब तथा विपन्न वर्गलाई आवास उपलब्ध गराउने उद्देश्यले ल्याइएको यस कार्यविधिमा आवश्यक संशोधन र थपघट गरी थप छलफलका लागि प्रदेश मामिला तथा विधान समितिमा पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।
त्यसैगरी, प्रदेश सरकारद्वारा निर्मित विभिन्न आयोजनाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धी ‘सम्पन्न आयोजना हस्तान्तरण कार्यविधि २०८२’ लाई बैठकले स्वीकृत गरेको छ। यससँगै अब निर्मित भौतिक संरचनाहरूको सञ्चालन र मर्मत सम्भारको जिम्मा स्थानीय तहले पाउनेछन्।
मन्त्री भण्डारीका अनुसार,प्रदेशमा उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ ‘बुद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन (जीप) कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२’ स्वीकृत गरिएको छ। यस कार्यक्रमले प्रदेशका विभिन्न नगरपालिका र गाउँपालिकाहरूमा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको उनले बताए।
बैठकले नेपाल सरकारबाट प्रदेश सचिवको रूपमा खटिएर आएका सहसचिव नारायणप्रसाद रिसाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजमा खटाउने निर्णय समेत गरेको छ।
Shares

प्रतिक्रिया