कोसी प्रदेशको स्वास्थ्य मन्त्रालयले हालै गरेको कर्मचारी सरुवा, काज तथा पदस्थापनको निर्णयप्रति कोसी प्रदेशका क्रियाशील कर्मचारी संगठनहरूले कडा आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेका छन्।
मन्त्रालयको उक्त कदमले प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीहरूको मनोबल गिराएको र स्थापित प्रशासनिक विधिलाई उल्लंघन गरेको भन्दै तीनवटा ठूला ट्रेड युनियनहरूले शुक्रबार संयुक्त ज्ञापन पत्र बुझाएका हुन्।
नेपाल निजामति कर्मचारी संगठन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले संयुक्त रूपमा स्वास्थ्य सचिवलाई ज्ञापन पत्र बुझाउँदै मन्त्रालयले पछिल्लो समय गरेका निर्णयहरू अविवेकी र कर्मचारीको हित विपरीत भएको आरोप लगाएका छन्।
ज्ञापन पत्रमा प्रदेश निजामती सेवा अन्तर्गत स्वास्थ्य सेवाका विभिन्न समूहमा वरिष्ठ कर्मचारीहरू उपलब्ध हुँदाहुँदै पनि उनीहरूलाई पन्छाएर कनिष्ठलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको भन्दै आक्रोश व्यक्त गरिएको छ।
त्यसैगरी, कर्मचारी संगठनहरूले मन्त्रालयले ट्रेड युनियनका जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूलाई लक्षित गरी जिल्ला बाहिर काज सरुवा र पदस्थापन गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
सरुवा गर्दा सामान्यतया घरपायक र पायक पर्ने जिल्लालाई प्राथमिकता दिनुपर्नेमा पूर्वाग्रही ढंगले अपायक भूगोलमा पठाइएको र यस्तो निर्णय गर्दा प्रदेशमा क्रियाशील राष्ट्रिय स्तरका ट्रेड युनियनहरूसँग कुनै समन्वय नगरिएको उनीहरूको गुनासो छ।
नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष हरि प्रसाद सुवेदी, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष रुद्र प्रसाद सुवेदी र एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष यगिश्वर खनालद्वारा हस्तान्तरित उक्त ज्ञापन पत्रमार्फत मन्त्रालयलाई आफ्नो निर्णय तत्काल सच्याउन अल्टिमेटम दिइएको छ।
कर्मचारीका मागहरूलाई बेवास्ता गरिएमा र प्रचलित कानुन विपरीतका निर्णयहरू नसुधारिएमा थप सशक्त विरोध तथा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउन बाध्य हुने चेतावनी समेत संगठनहरूले दिएका छन्। उक्त ज्ञापन पत्रको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत पठाइएको छ।
Shares

प्रतिक्रिया