धनकुटाको पाख्रीबास नगरपालिकाका मेयरले लेखेको एउटा पत्र सोमबार दिनभर भाइरल भयो। नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा सङ्घीय मन्त्रालयलाई केही व्यङ्ग्यात्मक शब्दहरू प्रयोग भएका छन्।
पत्रमा भनिएको छ, ‘पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाही गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई भैँसी ब्याउन, दूध उत्पादन गर्न, सिँचाइ गर्न, फलफूल लगाउन फूल्न, फल्न र सो को निकासा गरी बिक्री वितरण गर्न कुनै समस्या नरहेकोले त्यहाँ मन्त्रालयबाट प्रत्येक महिना/महिनामा वा सम्भव भए दिनदिनै छुट्टा छुट्टै एक/एक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकी पठाउँदा पनि फरक नपर्ने ब्यहोरा जानकारीको लागि अनुरोध छ।’
मेयर गुरुङले किन यस्तो पत्र लेखे भन्ने विषय अहिले सामाजिक सञ्जालमा निकै चर्चा भएको छ। कतिपयले यसलाई फरक ढङ्गबाट विश्लेषण गरेका छन् भने कतिपयले आक्रोशपूर्ण अभिव्यक्तिको रूपमा लिएका छन्।
सोमबार लेखेको पत्रमा उनले दिनहुँ फरक–फरक प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भन्दै व्यङ्ग्य गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बोधार्थ पठाइएको पत्रमा पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक तथा आर्थिक कामकाज हुँदा र नहुँदा कुनै समस्या नरहेको उल्लेख गरिएको छ।
नगरप्रमुख गुरुङले छोटो समयमा नै प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने र पठाउन ढिलो हुँदा दैनिक कामकाजमा समस्या पर्ने गरेको हुँदा व्यङ्ग्यात्मक पत्र पठाएको प्रतिक्रिया दिएका छन्।
चाँडो चाँडो कर्मचारी हेरफेर गर्दा काम कारबाहीमा प्रत्यक्ष प्रभाव पर्ने भन्दै त्यस्तो हुनु गलत रहेको स्थानीय तहहरूको बुझाइ छ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत कार्यरत सुनिल पौडेललाई पाख्रीबास नगरपालिकामा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत विज्ञान कोइरालालाई अन्यत्रै पठाइएको छ।
प्रमुख प्रशासकीय अधिकृत कोइराला चैतमा सरुवा भएर पाख्रीबास नगरपालिकामा आएको उपप्रमुख नम्रता गौतमले जानकारी दिइन्। प्रमुखले लेखेको पत्रको सन्दर्भमा आफूलाई धेरै जानकारी नभएको बताइन्।
उनले भनिन्, ‘कर्मचारी सरुवा हुने नियमित प्रक्रिया हो, कहिले चाँडो हुन्छन् कहिले ढिलो हुन्छ, कर्मचारीकै विषयमा पत्रमा लेखिएको जस्तो असन्तुष्टि पोखिराख्नुपर्ने अवस्था थिएन।’
नेपालखबरसँग फोन संवादमा उपमेयर गौतमले हालका प्रमुख प्रशासकीय अधिकृत करिब आठ–नौ महिना अघि नगरपालिकामा आएको जानकारी दिइन्। उनले सङ्घीय सरकारले स्थानीय तहमा कर्मचारी सरुवा गर्ने काम नियमित प्रक्रिया र यसमा स्थानीय तहले सामान्य रूपमा लिनुपर्ने बताइन्।
Shares

प्रतिक्रिया