सुनसरीमा भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० जना भन्दा बढी घाइते भएका छन्।
धनकुटाबाट इटहरीतर्फ आउँदै गरेको पिक अप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रदेश १-०२-००२च ३८२६ नम्बरको योद्धा पिक गाडी धरान १३ को घुम्तीमा साँझ दुर्घटनामा परेको हो।
शनिबार ६ बजे तिर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। तर मृतकको पहिचान भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
एक जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य ११ जना घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको जनाइएको छ। मृतक र घाइतेहरूको पहिचान गर्ने काम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, धरानबाट इटहरीतर्फ आउँदै गरेको अर्को यात्रुवाहक बस दुर्घटना हुँदा झन्डै ३० जना घाइते भएका छन्। यात्रु बोकेर साँझ इटहरीतर्फ आउँदै गरेको यात्रुवाहक बस को १ ख ५३१४ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
घाइतेहरूमध्ये अधिकांशलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेको र केही सामान्य घाइते रहेको प्रहरीको भनाइ छ। घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Shares

प्रतिक्रिया