कोशी


जेनजी आन्दोलनमा तोडफोड-आगजनी गर्नेविरुद्ध एमाले मोरङद्वारा सामूहिक जाहेरी

एमालेले बनाएको थियो क्षतिको अध्ययन कार्यदल
जेनजी आन्दोलनमा तोडफोड-आगजनी गर्नेविरुद्ध एमाले मोरङद्वारा सामूहिक जाहेरी

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १६:५३, विराटनगर

नेकपा एमाले मोरङले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा गरिएको तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गर्दै शुक्रबार प्रहरीमा सामूहिक जाहेरी दर्ता गरेको छ।

एमालेसँग आवद्ध १४ वटा जनवर्गीय संगठनका अध्यक्षहरूले सामूहिक रूपमा जाहेरी दर्ता गरेका हुन्। आन्दोलनका क्रममा संलग्न व्यक्तिहरूको नाम, फोटो, भिडियोलगायतका प्रमाणसहित कारबाहीको माग गर्दै जाहेरी पेश गरिएको एमाले मोरङले जनाएको छ।

जाहेरी बुझ्ने क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्थिति रहेको थियो। प्रहरी प्रमुख एसपी कवित कटुवालले जाहेरी ग्रहण गर्दै घटनामा संलग्न जो–कसैलाई  अनुसन्धान पश्चात् कानूनी प्रक्रिया अनुसार कारबाही गरिने आश्वासन दिए। उनले एमालेले दिएको प्रमाणहरू अनुसन्धानमा महत्वपूर्ण हुने बताउँदै संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए।

एमाले मोरङका सचिव सोमराज थापाका अनुसार पार्टीले गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा जनसंगठनहरूले सामूहिक रूपमा जाहेरी दर्ता गरेको हुन्। जाहेरीमा क्षतिको पूर्ण विवरण, घटनामा संलग्न समूहहरूको पहिचान तथा प्रमाणहरू समावेश गरिएको छ।

यसअघि, अध्ययन कार्यदलका संयोजक तथा कोसी प्रदेश सभा सदस्य उमाकान्त गौतमले पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गरेका थिए। उनले मोरङका विभिन्न स्थानमा भएको तोडफोड, लुटपाट र आगजनीका कारण करिब ५ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक निष्कर्ष प्रस्तुत गरेका थिए।

प्रतिवेदन एमाले मोरङ अध्यक्ष अजम्वर राई र केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरेलाई प्रतिवेदन बुझाइएको थियो। कार्यक्रममा घिमिरेले सरकारले पनि समान विषयमा अध्ययन गरेपनि एमालेले मोरङको समग्र क्षतिको अलग अध्ययन गरेको बताए। सामूहिक जाहेरीपछि व्यक्तिगत रूपमा पनि जाहेरी दर्ता गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

जाहेरी दिने प्रमुख जनवर्गीय संगठनहरूमा–राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल महिला संघ, नेपाल खेलकुद महासंघ, अखिल नेपाल पिछडावर्ग महासंघ, राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, भूमि अधिकार तथा श्रमिक संगठन, अखिल नेपाल किसान महासंघ, लोकतान्त्रिक आदिवासी जनजाती महासंघ, नेपाल बौद्धिक परिषद्, पेशागत महासंघ नेपाल, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल मुस्लिम इत्तेहाद संगठन लगायतका प्रतिनिधि सहभागी छन्।

एमालेद्वारा गठन गरिएको अध्ययन कार्यदलमा उमाकान्त गौतम, मुकेश बुढाथोकी, भोला अधिकारी, इरन राई र अजिम आलम सदस्य थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad