झापा प्रहरीले जेनजी आन्दोलनमा लुटिएका हतियार धमाधम पक्राउ गर्ने अभियान तीव्र बनाएको छ। इलाका प्रहरी कार्यालय दमकमा गत भदौ २४ गते भएको तोडफोड, आगजनी तथा लुटपाट प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घटना स्थलमा साइकिलमा प्रहरीको हतियार बोक्दै हिँडिरहेको दृश्य देखिने भिडिओको आधारमा अनुसन्धान दमक नगरपालिका–६ बाट पाँचथर मिक्लाजुङ गाउँपालिका–३ का २२ वर्षीय सुशील फियाक (लिम्बु)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।
प्रारम्भिक सोधपुछका क्रममा फियाकले दमक इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार पाँचथरको मिक्लाजुङ–३ आरुबोटे, लामागाउँस्थित एक ओडारमा लुकाइ राखेको स्वीकार गरेपछि प्रहरीले त्यहाँबाट २ थान हतियार समेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरसँगको समन्वयमा प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको प्रहरी टोलीले दुई थान हतियार समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता समेत रहेका खड्काले बताए।
उनका अनुसार, सिरियल नम्बर ६२०३८ भएको म्याग्जिन समेतको .३०३ मार्क–३ राइफल १ थान, सिरियल नम्बर ०३११०२७३९ भएको, म्यागेजिन नभएको र बट तथा ह्याण्ड ग्रिप जलेको अवस्थाको इन्सास राइफल १ थान बरामद गरेको छ।
त्यस्तै इन्सास राइफलको १ थान गोली, एसएलआर राइफलका ३ थान गोली राउन्ड गोली समेत बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय दमकको प्रमुखमा प्रहरी नायव उपरीक्षक किशोर लम्साल आएपछि अनुसन्धानलाई तीव्र बनाएका छन्। उनले हतियारको खोजी, प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्नेहरूको पहिचान बढाएको प्रहरी स्रोतले जनाएको छ।
यसअघि इलाका प्रहरी कार्यालय दमकले सुजल राई, गणेश शर्मा, केदार बस्नेत, साजन लुहागुन, अरुण रोक्का, नकुल अधिकारी, दिपचन महतो, लोमस कटुवाल, गौरव भुजेल र सुशील नाम गरेका व्यक्तिलाई पक्राउ गरे मुद्दा चलाई सकेको छ।
त्यस्तै अन्य ३ जना बालकहरू समेत अनुसन्धानमा तानिएका छन्। १७ वर्षीय ३ जना बालकको पहिचान गोप्य राखिएको छ। यसअघि इलाका प्रहरी कार्यालय दमकले मात्रै १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिसकेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया