कोसी प्रदेश सभाको सचिवलमा सुदर्शन खड्का नियुक्त भएका छन्। संघीय संसद् सचिवालयको सचिवबाट स्वेच्छिक अवकाश लिएका खड्कालाई प्रदेश सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभाको सचिवमा सिफारिस गरेका थिए।
सभामुख विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले खड्कालाई सचिवमा नियुक्त गरेका हुन्। उनको शपथग्रहणको समय आज दिउँसो ३ बजेका लागि तय गरिएको प्रदेश सभाका सूचना अधिकारी निरज ढकालले जानकारी दिए।
तत्कालीन सचिव गोपालप्रसाद पराजुलीलाई भ्रष्टाचार मुद्दामा फैसला भएपछि प्रदेश सभा सचिव पद रिक्त रहेको थियो। अदालतको फैसलासँगै पराजुली पदमुक्त भएपछि कार्यवाहक सचिवको जिम्मेवारी गौतम अमात्यलाई दिईएको थियो। अमात्य पनि अनिवार्य अवकासमा गएपछि सचिव पद रिक्त रहेको थियो।
भक्तपुरको चाँगुनारायण नगरपालिका-४ घर भएका नव नियुक्त सचिव खड्का २०७७ साल जेठ ३० गतेदेखि २०८२ साल जेठ २१ गतेसम्म संघीय संसद् सचिवालयमा सचिव पदमा कार्यरत रहेका थिए।
उनी २०५१ साल चैतमा शाखा अधिकृतको रूपमा संघीय संसद् सेवामा प्रवेश गरेर २०५९ मा उपसचिव, २०६७ मा सहसचिव हुँदै २०७७ मा सचिवमा बढुवा भएका थिए।
खड्काले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातक (एक वर्षे बीएड) गरेका छन्।
Shares

प्रतिक्रिया