कोशी


लोकतन्त्र सुदृढीकरणका लागि विराटनगरमा युवाहरूको १३ बुँदे घोषणा पत्र जारी

लोकतन्त्र सुदृढीकरणका लागि विराटनगरमा युवाहरूको १३ बुँदे घोषणा पत्र जारी

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १५:५, विराटनगर

लोकतन्त्र सुदृढीकरणका लागि विराटनगरमा युवाहरूले १३ बुँदे घोषणा पत्र जारी गरेका छन्। तरङ्गिनी फाउन्डेसन, ओरेक मोरङ र युवा विकास केन्द्र सुनसरीको सहकार्यमा विराटनगरमा  भएको युवाहरूको भेलाले लोकतन्त्रको सुदृढीकरण कोलागि  घोषणा पत्र जारी गरेको हो।  

विराटनगरको होटल रुबिजमा आयोजित कार्यक्रममा झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, पाँचथर, भोजपुर, इलाम, खोटाङलगायत नौ जिल्लाबाट ५६ जनाको युवाहरूको सहभागिता रहेको थियो। 

सहभागी युवाहरूलाई छ समूहमा विभाजन गरी लोकतन्त्र सुदृढीकरणका चुनौती, अवसर तथा युवाहरूले निभाउन सक्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।  

सहभागी समूहहरूले विधिको शासन, सुशासन, पारदर्शिता, समावेशिता, राजनीतिक स्वतन्त्रता र निष्पक्ष चुनाव लोकतान्त्रिक गणतन्त्रका आधारभूत तत्त्व भएको र यी पक्ष दह्रो हुँदा मात्र लोकतन्त्र सुदृढ हुने निष्कर्ष निकालेको छ। राजनीतिक अस्थिरता, भ्रष्टाचार, अपारदर्शिता र शक्तिको दुरुपयोग प्रमुख चुनौती रहेको पनि उनीहरूले औँल्याएका छन्।

निर्वाचनमा युवाको समान सहभागिताले लोकतन्त्रको रक्षा, सुदृढीकरण र उत्तरदायी नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने सहभागीहरूको मत थियो। सहजीकरण द्वारिका घिमिरेले गरेका थिए।  तरङ्गिनी फाउन्डेसनका फिल्ड अधिकृत रुमा रिजालले युवाको सक्रिय राजनीतिक सहभागिता लोकतन्त्रको बलियो आधार र महिला अधिकार सुनिश्चितताका लागि अपरिहार्य भएको बारेमा प्रस्तुतीकरण गरेकी थिइन्। 

उनले वर्तमान राजनीतिक परिप्रेक्ष्यमा युवाहरूको भूमिका स्पष्ट बनाउन यो भेला आयोजना गरिएको जानकारी दिइन्।

युवा भेलाको उद्देश्य लोकतन्त्र सुदृढीकरणका लागि युवाबिच साझा बुझाइ निर्माण, आगामी निर्वाचनमा युवाको समावेशी प्रतिनिधित्वको आवश्यकता उजागर गर्ने तथा निर्वाचनमा युवाले खेल्न सक्ने भूमिकाबारे मार्ग रेखा तय गर्नु रहेको जानकारी दिइएको थियो। 

ओरेक नेपालकी कार्यकारी निर्देशक सुनिता मैनालीले संरचनागत परिवर्तन मात्र पर्याप्त नसक्ने उल्लेख गर्दै मानसिकता र परम्परागत सोचमै परिवर्तन आवश्यक रहेको बताइन्। उनले युवालाई सङ्गठन, भू–राजनीति र शक्ति संरचना बुझ्न आवश्यक रहेको जोड दिँदै युवा शक्ति असमान शक्ति सम्बन्ध अन्त्य गर्न सक्षम रहेको बताइन्।

भेलामा सहभागी युवा नवीन राईले जेनेरेसन जेड आन्दोलनका माग पूरा गर्न, निर्वाचन निर्धारित समयमा सम्पन्न गर्न र संवैधानिक रिक्तता रोक्न तत्काल पहल आवश्यक रहेको माग गरे। उनले जेन–जेड युवाको प्रतिनिधित्व र समावेशीकरण सुनिश्चित गर्न युवाहरू स्वयं सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए।

युवाबिच समान बुझाइ निर्माणको लक्ष्यसहित सम्पन्न युवा भेलाले १३ बुँदे घोषणा पत्र जारी गर्दै लोकतन्त्र सुदृढीकरणप्रति युवाको प्रतिबद्धता व्यक्त गर्‍यो। घोषणामा राज्यले प्रश्न सोध्ने वातावरण सिर्जना गर्नुपर्ने, राज्य जबाफदेही हुनुपर्ने,  राजनीतिक चेतना जागृत गर्दै शिक्षित र जिम्मेवार समाज निर्माणमा युवाको भूमिका महत्त्वपूर्ण रहेकोले यी मुद्दाहरू समेटेर जानु पर्ने उनीहरूको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad