कोशी


सरकारी अभिलेख च्यातेर भूमाफियाको नाममा जग्गा सार्ने ४ जना अनुसन्धानमा तानिए

सरकारी अभिलेख च्यातेर भूमाफियाको नाममा जग्गा सार्ने ४ जना अनुसन्धानमा तानिए

सुमन सुस्केरा
असोज २५, २०८२ शनिबार १५:१६, विराटनगर

मोरङको रंगेलीस्थित मालपोत कार्यालयका कर्मचारीहरूले भूमाफियासँगको मिलेमतोमा सुनबर्षी नगरपालिका-६ स्थित सुकुम्वासी बस्तीको सरकारी जग्गा कब्जा गर्ने गम्भीर षड्यन्त्र गरेको खुलासा भएको छ।  

कर्मचारीहरूले आर्थिक लेनदेनमा जग्गाको अभिलेख राखिने कार्यालयको ढड्डामा रहेको वास्तविक अभिलेख पाना च्यातेर सो ठाउँमा भूमाफियाको रेकर्ड टाँस गरेपछि अहिले  गैर कानुनी काम गर्ने कर्मचारीलाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ।  

किर्ते कागजात तयार गरी सुनबर्षी नगरपालिका-९ का भीमप्रसाद सिंहको नाममा कित्ता नम्बर ११० को १७ कट्ठा २ धुर ऐलानी जग्गा गैर कानुनी रूपमा कर्मचारीले रजिस्ट्रेसन पास गरिदिएको पाइएको हो।

मालपोत कार्यालय रंगेलीका नायब सुब्बा रेवती अधिकारी, सहायक कम्प्युटर अपरेटर अर्जुन न्यौपाने र सुरक्षा गार्ड कामदेव मण्डलले किर्ते गरी सुनबर्षी नगरपालिका-९ का भीमप्रसाद सिंहको नाममा ऐलानी जग्गा पास गरेको प्रमाणका आधारमा उनीहरूमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। 

जग्गा आफ्नो नाममा आएको जानकारी पाएपछि भूमाफिया सिंहले दसैँ बिदाको मौका छोपी डोजरसहित सुकुम्वासी हटाउन पुगेका थिए।  सुनबर्षी नगरपालिका-६ मा पर्ने रंगेली-डाइनिया सडक खण्डको उत्तरतर्फ रहेको उक्त जग्गामा २० भन्दा बढी घरधुरीको बसोबास रहेको थियो । 

दसैँ बिदा सकिएर कार्यालयहरू खुले लगत्तै पीडितहरू घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय रंगेली र मालपोत कार्यालयमा धर्ना दिन गएपछि घटना बाहिरिएको थियो।
  
रंगेली मालपोत कार्यालयका प्रमुख सुनिल पौडेलले कार्यालयको सुरक्षा गार्ड पदमा कार्यरत करार कर्मचारी कामदेव मण्डलले अभिलेख च्यातेर किर्ते अभिलेख टाँस गरेको पत्ता लागेपछि कारबाहीको लागि सिफारिस गरिएको बताए।  मण्डलको यस किर्ते कार्यमा नासु रेवती अधिकारी र सहायक कम्प्युटर अपरेटर अर्जुन न्यौपानेले समेत सहयोग गरेको उनको भनाई छ। 

पीडितहरूले भने आरोपित कर्मचारीहरूको नामै किटान गरी  प्रहरीमा ‘सरकारी छाप दस्तखत किर्ते’ मुद्दामा उजुरी दिएपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले बताए। जिल्ला अदालतबाट उनीहरूको विरुद्धमा पक्राउ पुर्जी जारी भएकोले उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही हुने  उनले जानकारी दिए। ‘विषय गम्भीर देखिएको छ, उनीहरूले गल्ती गरेको पाइएको छ’, उनले भने।

जग्गा आफ्नो नाममा पास गराउने सुनबर्षी नगरपालिका-९ का भीमप्रसाद सिंह यसअघि पनि लागु औषध मुद्दामा कैद सजाय भुक्तान गरिसकेका व्यक्ति भएको स्थानीयले बताएका छन्। यस घटनामा कार्यालयका अन्य कर्मचारीहरूको पनि मिलेमतो भएको हुन सक्ने आशंका गरिएकोले अनुसन्धान सुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
 
सरकारी अभिलेख (ढड्डा) को पाना नै च्यातेर एक आपराधिक पृष्ठभूमि भएका व्यक्तिको नाममा दर्ता गरिदिएको १७ कट्ठाभन्दा बढी ऐलानी जग्गाको नक्कली स्रेस्ता खारेज गरी साबिककै स्रेस्ता कायम गरेको छ। 

मालपोत कार्यालय रङ्गेलीले बिहीबार उक्त किर्ते (फर्जी) स्रेस्ता खारेज गरी साबिककै स्रेस्ता कायम गर्ने निर्णय गरेको हो। यो प्रकरणमा संलग्न रहेको आरोपमा मोरङ जिल्ला अदालतले मालपोतका एक सुरक्षा गार्ड, एक नायव सुब्बा, एक कम्प्युटर अपरेटर र जग्गा आफ्नो नाममा ल्याउने भूमाफिया गरी चार जनालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। तर उनीहरू अहिलेसम्म पक्राउ परेका छैनन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad