कोशी


त्रिपालमुनि महानगरको इजलास

अस्थायी टेन्टबाट सुरु भयो विराटनगर महानगरपालिकाको काम
त्रिपालमुनि महानगरको इजलास

नेपालखबर
असोज ८, २०८२ बुधबार १७:९, विराटनगर

वरिपरि  केही व्यक्तिहरू आएर बसेका। अग्र भागमा प्लाष्टिककोे कुर्सीमा न्यायिक समितिका ३ जना सदस्यहरू देखिन्छन्। टेबुलमा लेखिएको थियो ‘इजलास’।

न्यायिक समितिका सदस्यहरू उपप्रमुख शिल्पा निराला कार्कीको संयोजकत्वमा वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने र वडा सदस्य रुपा देउजा न्यायिक समितिको इजलासमा थिए। 

प्लास्टिकको टेबुलमाथि काजपत्र राखेर न्याय दिनको लागि तयारी अवस्थामा देखिन्थे। केही बादी र प्रतिवादीहरू पनि अगाडी नै आएर बसे। उनीहरू मध्ये केहीलाई भित्र बोलाइयो केहीलाई बाहिरै राखियो। पहिलो पटक पालो आएकाहरूलाई अगाडी नै बोलाइएको थियो भने पछिल्लो पालो परेकाहरूलाई क्रमैसँगै बोलाउँदै त्यही न्यायिक इजलासमा छलफल गराइयो। 

विराटनगर महानगरपालिकाको न्यायिक समितिमा बुधवारको इजलासमा ३ वटा पेसी तोकिएको थियो। कार्यालयमा आएका सेवाग्राहीहरू बाहिरै इजलास खडा गरेर  छलफल थालेकोमा छक्क परेका थिए।  आगो लगाउनेहरूलाई गाली गर्दै  कार्यालय भित्र छिर्थे। 

विराटनगर महानगरपालिकाको ठूलो भवनको बाहिरी भागमा दुई वटा टेन्ट टाँगिएको थियो, भित्र बस्न नसक्ने भएपछि बाहिरैबाट काम थालेको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन्।

तोकिएको तीन वटा पेसी मध्ये सलामत मियाँ बादी र हाबिद मियाँ प्रतिवादी भएको घरजग्गा मिचेको मुद्दामा एक पक्ष मात्रै आएपछि अर्को पक्षको पनि कुरा सुन्ने र प्राविधिकले समेत अध्ययन गर्ने तथा निर्माण कार्य रोक्का राख्ने निर्णय गरेको थियो।

त्यस्तै दोस्रो मुद्दा रिटेनिङ्ग बाल भत्काएकोले क्षतिपूर्तिसँग सम्बन्धित थियो। लोक ब।थापा बादी र पुष्पबहादुर कार्की प्रतिवादी भएको मुद्दामा न्यायिक समितिले  प्रमाण नपुगेको भनेर थप छलफल गर्नु पर्ने निष्कर्ष निकालेको छ। त्यस्तै अर्को मुद्दा घरेलु हिंसासँग सम्बन्धित थियो।

वादी कञ्चन राजवंशी र प्रतिवादी कृष्ण गुरुङ भएको मुद्दामा महिला पीडित भएको निष्कर्ष न्यायिक समितिको थियो। श्रीमानले नागरिकता तथा विवाह दर्ता समेत नगरेको, श्रीमती मिलेर बस्न चाहे पनि श्रीमान्ले राख्न नचाहेको लगायतका विषयहरूका कारण महिला पीडित देखिएको न्यायिक समितिको निष्कर्ष छ। जिल्ला अदालतमा  समेत  मुद्दा रहेकोले त्यसलाई पालिकाको तर्फबाट टुङ्गो लगाउने तयारीमा महानगर छ। 

सबै सेवा सहज बनाउने प्रयास
बुधवारदेखि न्यायिक समितिले टेन्टबाट काम थालेको हो। पहिलो दिनको यी तिनै वटा मुद्दाको सुनुवाइ टेन्टबाट भएको छ।  न्याय खोज्दै आएका नागरिकलाई सहज न्यायको अनुभूति दिलाउनु महानगरको कर्तव्य भएकोले  संरचना व्यवस्थित नहुँदासम्म टेन्टबाट नै भए पनि न्यायिक निरूपणको काम थालिएको उपप्रमुख कार्कीले जानकारी दिइन्। 

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका कारण विराटनगर महानगरपालिकाको सबै शाखाहरू जलेर ध्वस्त भएको छ। यो पुन निर्माण गर्नको लागि समय लाग्ने भएपछि अस्थायी टेन्टहरूबाट नै महानगरका सबै कामहरू सञ्चालन थालेको हो। स्वास्थ्य, राजस्व, शिक्षा र योजना शाखाका कामहरू अस्थायी संरचनाबाट सुरु भएको उपप्रमुख कार्कीले बताइन्।

उनले भनिन्, ‘आगोले जलेका फाइलहरूको काम अहिले तत्काल गर्न नसकिने भए पनि बाँकी कामहरू कुनै पनि सेवाग्राहीलाई नफर्काउने गरी थालिएको उनको भनाई छ।’

प्राय:जस्तो सबै वडाहरूले काम थालेको उनले बताइन्। अत्यावश्यक काम रोक्नु हुँदैन भनेर सबै वडाहरूलाई काम गर्न निर्देशन दिइएको उपप्रमुख कार्कीको भनाई छ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला अस्ट्रेलिया रहेको कारण कार्यवाहकको रूपमा  कार्कीले महानगरपालिकाको सेवा प्रवाहलाई व्यवस्थित गर्ने नेतृत्वमा काम भइरहेको छ।

अहिले सिडियो कार्यालय लगायत मालपोत, नापी र अदालतहरूमा हुने सिफारिस बाहेकका महानगरपालिकाले गर्न सक्ने कामलाई व्यवस्थित गर्न थालिएको कार्कीको भनाई छ। अति आवश्यक सिफारिस गर्ने काम वडाहरूले समेत गरिरहेको र महानगरले राजश्व सङ्कलनको काम सुरु गरेको कार्कीले नेपालखबरलाई जानकारी दिइन्। 

कुनै पनि बिल्डिङमा रातो स्टिकर लगाउने अवस्था नरहेको भनी इन्जिनियरिहरुले परीक्षण गरेर जानकारी दिएको बताइन। अहिले जुन अवस्थामा छ त्यो अवस्थामा सुचारु गर्न नमिल्ने भएकोले  मर्मत गर्न समय लाग्ने हुँदा अस्थायी संरचनाबाट काम सुरु भएको छ।

विराटनगर महानगरपालिका भित्र आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन भइसकेपछि त्यसको आधारमा मर्मतको लागि स्टीमेटको काम  हुने र दसैँ अगाडि नै टेन्डर प्रक्रियामा लग्ने उपप्रमुख कार्कीको भनाई छ। विराटनगर महानगरपालिकाको कार्यालय सहित १३ वटा वडाहरूमा आगजनी तथा तोडफोड गरी क्षति पुर्‍याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad